माइतीघर मण्डला, आन्दोलन मण्डलामा परिणत

माइतीघर मण्डला, आन्दोलन मण्डलामा परिणत

-राजेशचन्द्र राजभण्डारी

पछिल्लो केही समयदेखि राजधानीको माइतीघर मण्डलामा निरन्तर विरोध प्रदर्शनहरु भइरहेका छन् । विभिन्न माग राख्दै राजनीतिक दलदेखि सामाजिक संघसंस्था, सहकारी पीडितहरुले आन्दोलन गरिरहेका छन् । 

सँधै आन्दोलन गर्ने थलो बनेपछि अधिकांशले माइतीघर मण्डलालाई आन्दोलन मण्डलाको उपमा दिन थालेका हुन् । गाउँदेखि शहरसम्म सबैजसोले आफ्ना माग लिएर माइतीघरमा आन्दोलन गर्ने गरेका छन् । कुनै समय रत्नपार्क आन्दोलनको पर्यायवाची भएको थियो भने केही समय सिंहदरबार अघिल्तिरिको भद्रकाली पनि त्यस्तैमा गणना भएको थियो ।

सरकारलाई आफ्नो आवाज सुनाउने साझा थलो भएकाले माइतीघरमा हिजोआज आन्दोलन नभएको दिन नै हुँदैन । पछिल्लो केही समयदेखि नागरिकताविहीन युवाहरु माइतीघरमा धर्नामा बसेका छन् । २०४७ सालअघिको संविधान पुनःस्थापना हुनुपर्छ भन्नेहरुको आन्दोलन पनि जारी छ । 

सरकार र प्रहरी प्रशासनबाट अन्यायमा परेका टोली अहिले त्यहिँ मिसिएका छन् । अभिभाभक भएर पनि नागरिकता नपाएकाहरु कैयौं दिनदेखि आफ्नो पीडा पोखिरहेका छन् । सहकारी पीडितहरु आफ्नो निक्षेप फिर्ता माग गर्दै माइतीघरकै सडकमा पुगेका छन् । 

न्याय नपाएसम्म आन्दोलन जारी रहने सहकारी पीडित संघर्ष समिति, बाग्लुङका अध्यक्ष दिलबहादुर कार्की बताउँछन् । त्यहाँ तीन दर्जनभन्दा बढी सहकारी पीडितहरु छन् । त्यस्तै, ‘२०४७ को संविधान हामी सबैको अभियान’ भन्दै बीपी कांग्रेस र राजावादी ११ दिनदेखि निरन्तर रिले अनशनमा छन् । 

माइतीघर न्याय खोज्नेहरुका लागि आन्दोलन गर्ने चौतारी बनेको छ । असारको झरी, हावाहुरी नभनी युवादेखि बुढासम्म आन्दोलनमा सरिक छन् । सरकारले आफ्नो माग सुनिदिन्छ कि भनेर सडकमा आएर बसेका त छन् तर अहिलेसम्म त्यो हुन सकेको छैन । 

यसबीचमा सरकारले कुनै पनि समूहसँग वार्ता गरेको छैन । कहिलेकाँही माइतीघर आन्दोलनकारी र प्रहरीबीचको रणमैदान हुने गरेको छ । त्यसैले माइतीघर मुलुकमा गणतान्त्रिक व्यवस्था लागु भएपछि क्रमिक रुपमा आन्दोलनको पर्यायवाची थलो बनेको छ ।

टिप्पणीहरू