मन्त्रालयले लगाएको आरोप आफैँतिर फर्किएपछि गृहका हाकिमहरु पानीपानी

मन्त्रालयले लगाएको आरोप आफैँतिर फर्किएपछि गृहका हाकिमहरु पानीपानी

गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट केही समयअघि अध्यागमन अधिकृत र नायव सुब्बाहरु गरी करिब दुई दर्जन कर्मचारीको सरुवा गरेको छ । सरुवालगत्तै उच्चपदस्थ पदाधिकारीहरुले ती कर्मचारी सेटिङमा त्यहाँ रहेको आरोप लगाउँदै सरुवा गर्नुपरेको स्पष्टिकरणसँगै नाम सार्वजनिक गरिदिएका थिए । तर अहिले तिनै कर्मचारी नभए अध्यागमन कार्यालय नचल्ने अवस्थामा पुगेको बताइन्छ ।

उनीहरुलाई सरुवा गरिएको कार्यालयमा तत्काल रमाना दिन मन्त्रालय हच्किरहेको छ । अध्यागमन कार्यालय एयरपोर्टबाट सरुवा भएका कर्मचारीको स्थानमा जान अन्य कर्मचारी अनिच्छुक भएपछि आफैंले गरेको सरुवा मन्त्रालयलाई ‘नखाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छा बाबुको अनुहार’ बनेको छ ।

अघिल्ला गृहमन्त्री बालकृष्ण खाँणको कार्यकालमा काठमाडौं विमानस्थलस्थित अध्यागमन कार्यालयमा जान कर्मचारीबीच निकै प्रतिस्पर्धा चल्ने गरेको गृहकै एक कर्मचारीको अनुभव छ । अहिले सोही कार्यालयमा कार्यरत कर्मचारीले गृहको कर्मचारी प्रशासनमा फोन गरेर तत्काल अन्यत्र पठाइदिन अनुरोध गर्न थालेका छन् । हालै त्यहाँका एक जना उपसचिव तहका कर्मचारीले मन्त्रालयमा फोन गरेर अन्यत्र सारिदिन अनुरोध गरेका थिए । 

"डेढ महिनाअघि सोही कार्यालयबाट बिहान घर फर्कने क्रममा एक अध्यागमन अधिकृतले अनिदो अवस्थाका कारण दुर्घटनामा ज्यान गुमाएका थिए ।"

काम गर्ने समयको अनिश्चितता,रातभर अनिदो बस्नुपर्ने बाध्यता,बारम्बार सर्भर डाउनको कारण यात्रुहरुको बिजोग, अख्तियारदेखि राष्ट्रिय सतर्कता केन्द्र,प्रहरीको अनावश्यक चासो र हस्तक्षेप एवम् मन्त्री, सचिवलगायतले कर्मचारीहरुको संरक्षण गर्नुको सट्टा उल्टै बदनाम गर्ने नियतले आरोप लगाएपछि कर्मचारीहरुले विमानस्थलको अध्यागमन कार्यालयप्रति अरुची देखाएका हुन् ।

एयरपोर्टमा जानबाट कर्मचारीहरु पन्छिन थालेपछि अहिले गृह मन्त्रालय सेटिङबाट गएका भनी आफैंले आरोप लगाएका कर्मचारीहरुबाटै नियमित कामकाज गराउन बाध्य बनेका छन् । चौबिसै घण्टा काम गर्नुपर्ने तर जस कतैबाट पनि नपाइने भएकाले कर्मचारीहरु हच्किएका हुन् । मन्त्री तथा सचिवका सामु अध्यागमन विभागका महानिर्देशक र एयरपोर्ट अध्यागमन प्रमुख सँधै मातहतका कर्मचारीको विपक्षमा प्रस्तुत भएपछि पछिल्लो अवस्था आइपरेको गुनासो छ । 

पछिल्लो नियमानुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा बिहान ५ बजे पुगेर रातभर खटिएका कर्मचारीलाई पालो दिनुपर्ने कार्यतालिका छ । तर कार्यालयले आउजाउ गाडीको व्यवस्था नगरिदिएपछि उनीहरु निजी सवारी साधनमा हिंड्न बाध्य छन् । 

रातभर नसुतेर अनिदो अवस्थामा रहेका कर्मचारी मोटरसाइकल वा स्कुटीमा घर जाँदा बीच बाटोमै दुर्घटनामा पर्नसक्ने सम्भावना बारे पनि कुरो उठाउन थालिएको छ । डेढ महिनाअघि सोही कार्यालयबाट बिहान घर फर्कने क्रममा एक अध्यागमन अधिकृतले अनिदो अवस्थाका कारण दुर्घटनामा ज्यान गुमाएका थिए । ‘अनेक प्रतिकूलताका बाबजुद चौबिसै घण्टा काममा खटिने कर्मचारीलाई मन्त्रालयको उच्च नेतृत्वले खराब पात्रका रुपमा चित्रित गरिदिएपछि उनीहरु किन एयरपोर्ट जान मान्छन् ?’ गृहकै एक सहसचिवले प्रश्न गरेका छन् ।

टिप्पणीहरू