रुकुम पश्चिमका फार्मेसीमा सरकारी ताल्चा

रुकुम पश्चिमका फार्मेसीमा सरकारी ताल्चा

मानव स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित औषधिजस्तो संवेदनशील विषयमा समेत रुकुम पश्चिमका व्यापारीहरुले चरम हेल्चेक्रयाईं गरेको पाइएको छ । औषधि व्यवस्था विभागले जिल्लाका विभिन्न स्थानमा सञ्चालित औषधि पसलहरु मापदण्ड विपरी रहेको ठम्म्याएपछि व्यापारीको बदमासी बाहिर आएको हो ।

विभागको अनुगमनका क्रममा उक्त समस्या देखिएपछि दुईवटा पसलमा तालासमेत लगाइएको छ । औषधि व्यवस्था विभाग नेपालगञ्जका फार्मेसी अधिकृत धनबहादुर बोहराका अनुसार दर्ता बिनै सञ्चालनमा आएको एउटा र मापदण्ड पालना नगरेको अर्को यौटा फार्मेसी बन्द गरिएको हो । 

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमसँगको समन्वयमा विभागले ११ वटा फार्मेसीमा अनुगमन गरेको थियो । सो क्रममा त्रिवेणी गाउँपालिका–२ सिम्रुतुमा सञ्चालित त्रिवेणी सिटी अस्पतालको फार्मेसी दर्ता नगरी सञ्चालन भएको पाइएकाले ताल्चा लगाइएको फार्मेसी अधिकृत बोहराले जानकारी दिए । फार्मेसीमा अन्य धेरै समस्या रहेको उनको भनाई छ ।
 
त्यसैगरी, मुसीकोट नगरपालिका–१, सल्लेमा रहेको अमर मेडिकल हलको फार्मेसीमा पनि समस्या देखिएकाले मापदण्ड पूरा गरेर मात्र औषधि बेच्ने शर्तमा बन्द गरिएको छ । व्यवसायीको अनुपस्थितिमा औषधि नबेच्न निर्देशन दिइएको बोहराले बताए । फार्मेसीमा कार्यरत कर्मचारीले देखिएका समस्याहरु समाधान गरेर मात्र बिक्री गर्ने भन्दै आफैंले पसल बन्द गरेको बताइएको छ ।
 

यता, त्रिवेणी गाउँपालिकाको झुल्नेटामा रहेको कवि मेडिकलमा पनि गैर व्यवसायीले औषधि बेच्ने गरेको, बिल पसलको नाममा नछापेको, लागु तथा मनोदिपक औषधिको रेकर्ड नराखेको र लुकाइएको, पुँजी थोरै तर कारोबार धेरै हुने गरेको पाइएको अनुगमन टोलीका संयोजकसमेत रहेका उनै बोहराले बताए ।  

अनुगमन गरिएका अन्य फार्मेसीमा पनि विभिन्न खालका समस्या पाइएको छ । अधिकांश फार्मेसमा सुरक्षित भण्डारण नभएको, पसलमा फोहोरमैला रहेको, औषधिहरु भुईंमा राख्ने गरेको, तापक्रम नमिलाएर औषधि राख्ने गरेको, बिक्री बिल जारी नगरेको, लागु तथा मनोदिपक औषधिको रेकर्ड अध्यावधिक नभएको पाइएको अनुगमन टोलीले जनाएको छ ।

दुई औषधि कम्पनीको गम्भिर त्रुटि

अगुगमन टोलीले दुईवटा उत्पादक कम्पनीले बजारमा पठाउने गरेको औषधीमा गम्भिर त्रुटि फेला परेको जनाएको छ । नेपाल फर्मास्यूटिकल प्रालिको नेपेक्स ब्रान्ड र देउराली जनता फर्मास्यूटिकल प्रालिको एपेट ब्रान्डको औषधिको बिर्को राम्रोसँग सिलबन्दी नभएको पाइएको हो । 

बिर्को राम्रोसँग नलगाइएको औषधि अधिकांश फार्मेसीमा भेटिएको छ । जसको कारण औषधि लिक हुने र त्यसको कार्यक्षमता ह्रास हुने गरेको छ ।  

जिल्लामा गरिएको औषधि पसल अनुगमनको रिपोर्ट प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलाई बुझाइएको छ । जनस्वास्थ्यको क्षेत्रमा लापरबाही गरेको पाइएको भन्दै विभागले जिल्ला प्रशासन कार्यालयलाई समेत प्रतिवेदन बुझाएको छ । 

प्रतिवेदनको सुक्ष्म अध्ययन गरेर आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइने प्रमुख जिल्ला अधिकारी पन्तले बताए ।

टिप्पणीहरू