बोर्डिङका शिक्षकको तलब सरकारी सरह बनाउन बालेन शाहको निर्देशन

बोर्डिङका शिक्षकको तलब सरकारी सरह बनाउन बालेन शाहको निर्देशन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले संस्थागत विद्यालयका शिक्षकहरुको तलब सामुदायिक विद्यालयको सरह बनाउन निर्देशन दिएका छन् । 

महानरभित्र सञ्चालित संस्थागत विद्यालयका शिक्षकहरुले सामुदायिक विद्यालयमा पाउने सरह तलब नपाएको गुनासो आएको भन्दै मेयर शाहले यस्तो निर्देशन दिएका हुन् । शिक्षा ऐन, २०२८ को दफा १२ (७) (छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै मेयर बालेनले सोहीअनुसार गर्न भनेका हुन् । 

साथै, काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलबभत्ता, निवृत्तिभरण, उपदानलगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिएबमोजिम हुने पनि उनले उल्लेख गरेका छन् । 

मेयर शाहले शिक्षा ऐनमा तोकिएबमोजिमको तलब सुविधा प्राप्त नभएमा महानगरपालिकाको शिक्षा विभागमा सम्पर्क गर्नसमेत शिक्षकहरुलाई अनुरोध गरेका छन् ।

टिप्पणीहरू