चुम्बनमा रेकर्ड राख्ने ती साहसी चेली
मेरे हाथ में तेरे हाथ रहे
सामने यह दोनों साथ रहे
तुम मेरे मन कि छाया हो
तुम मेरे करम कि छाया हो
मेरे हाथो में तेरे हाथ रहे
आ मिलके दोनों साथ रहें
तुम मेरे मन कि छाया हो
तुम मेरे करम कि छाया हो ।
यो हिन्दी गीत सन् १९३३ मा प्रदर्शित चलचित्र ‘कर्मा’ को हो । हिन्दी र अंग्रेजी दुबै भाषामा बनेको उक्त चलचित्रको यो गीत लेखेका थिए जेएल फ्रीर हण्ट र रोय डगलसले । त्योबेला पाश्र्व गायनको विकास भैसकेको थिएन । कलाकार आफैँले गीत गाउनुपर्ने हुँदा चलचित्रकी अभिनेत्री देविका रानीको स्वर छ त्यसमा । निर्देशक जेएल फ्रीर हण्ट संगीतकार थिए – एर्न्स्ट ब्रोडहर्स्ट । हिन्दी सिनेमाको इतिहासमा ’कर्मा’ यसकारणले पनि चर्चित छ, किनभने यो चलचित्रमा पहिलो पटक पुरुष र स्त्रीबीच म्वाइँँ खाएको लामो दृश्य छ । जबकि विश्वमा कथानक सिनेमा शुरु भएको २७ वर्ष र भारतमा पहिलो चलचित्र ‘राजा हरिश्चन्द्र’ बनेको मात्र २० वर्ष भएको थियो, अझ बोल्ने चलचित्र ‘आलम आरा’ निर्माण भएको त जम्मा २ वर्ष मात्र भएको थियो । यस्तो परिस्थितिमा म्वाइँ खाएको त्यो पनि ४ मिनेट लामो दृश्य फिल्मांकन हुँदा पूरै भारतमा हलचल मच्चिनु स्वाभाविक थियो । भनिन्छ, यो रेकर्ड आजसम्म कुनै भारतीय सिनेमाले तोड्न सकेको छैन । जबकि ‘कर्मा’ बनेको ९० वर्ष बितिसकेको छ । भारतमा वर्षमै हजारौं चलचित्र बन्छन् । विश्वमा आजसम्मकै लामो किसिङ दृश्य भएको चलचित्र सन् २००५ म प्रदर्शित ‘किड्स इन अमेरिका’ हो । चलचित्रका नायक जर्ज स्मिथ र नायिका स्टेफनी शेरिनबीचको उक्त दृश्य ६ मिनेट ४४ सेकेण्डको छ । यो अमेरिकी हाँस्य चलचित्र हो ।
चलचित्रमा देविका रानी सीतापुरको महारानी बनेकी थिइन् । उनी छिमेकी राज्य जहाँनगरका राजकुमारसित प्रेम गर्न पुगिन् । तर, महाराजा सीतापुरसँग नजिकको सम्बन्ध बनाउनै चाहन्नथे । वैवाहिक सम्बन्ध गाँस्नु त परको कुरो । जब यो कुरो देविकाले थाहा पाइन् एउटा उपाय खोजिन् र आफूले प्रेम गरेको राजकुमारलाई बाघको शिकार खेल्न निमन्त्रणा दिइन् । सीतापुरको जंगलमा शिकार खेल्ने क्रममा राजकुमारले दुई गोली हाने । गोली लागेर एउटा बाघ ढल्यो भने अर्को गोली बाजा बजाइरहेको गाउँलेलाई लाग्यो र उनी पनि मारिए । स्थानीय मान्छे मारिएपछि गाउँलेहरू राजकुमारविरुद्ध जाइलागे । गाउँलेहरूको रोषलाई शान्त पार्न राजकुमारले शव आफ्नो हात्तीमा चढाए र सँगसँगै हिँड्न थाले । जंगलको बाटो हिँड्दै गर्दा अचानक सर्पले डस्यो र अचेत बनी लडे । उनलाई दरबारमा लगियो र खबर महारानीसम्म पुर्याइयो । महारानी दौडेर पुगिन् । आफूलाई सम्हाल्न सकिनन् र राजकुमारको ओंठमा म्वाइँ खान पुगिन्, त्यो पनि ४ मीनेटसम्म । विश्वसिनेमाको इतिहासमा लामो किसको रेकर्ड राख्न सफल ‘लामो किस’ को दृश्य यही हो । चलचित्रमा राजकुमारलाई होशमा ल्याउन वैद्यलाई बोलाइन्छ । वैद्यले जुन सर्पले टोकेकाले शरीरभित्र विष फैलिन पुगेको हो त्यही सर्पले फेरि टोकेमा निको हुने बताएपछि सैनिक जवान सर्प खोज्न जंगल पस्छन् । सर्प खोजेर ल्याएपछि राजकुमार स्वस्थ्य हुन्छन् । म्वाइँ खाने दृश्य दिन देविका तयार हुनुको एउटा प्रमुख कारण हो – राजकुमारको भूमिकामा अभिनेता हिमांशु राय वास्तविक जीवनमा उनैका पति थिए । उनीहरू उक्त चलचित्र बन्नु ४ वर्षअगाडि सन् १९२९ मा विवाह बन्धनमा बाँधिएका थिए ।
देविका रानी चौधरीको जन्म आन्ध्रप्रदेशको विशाखापत्तनम नगरमा भएको थियो । उनी साहित्यमा नोबल पुरस्कार विजेता बंगाली कवि रवीन्द्रनाथ टैगोर परिवारकी थिइन् । परिवार समृद्ध थियो, त्यसैले ९ वर्षकै उमेरमा पढ्न देविकालाई इंगल्याण्ड पठाइयो । त्यहाँ उनी रोयल एकेडेमी अफ ड्रामेटिक आर्ट’ र रोयल ‘एकेडेमी अफ म्युजिक’ नाउँको संस्थामा भर्ना भइन् । छात्रवृत्ति पनि पाइन् । कलाको साथै आर्किटेक्चर’, ‘टेक्सटाइल’ र ‘डेकोर डिजाइन’ विषय अध्ययन गरिन् । डेकोरको कामकै दौरान उनको भेट हिमांशु रायसित भयो । हिमांशुलाई हिन्दी सिनेमा जगतको एक अग्रज निर्देशक मानिन्छ । उनी त्योबेला नबोल्ने चलचित्र ‘लाइट अफ एशिया’ बनाउँदै थिए । देविकालाई आफ्नो चलचित्रको डिजाइनर बनाए । यो सन् १९२८ तिरको कुरो हो । देविका २० वर्षकी थिइन् भने हिमांशु ३६ का तर प्रेममा उमेर बाधक बनेन । सँगै काम गर्दा गर्दै एकार्कालाई मन पराउन थाले र अर्को वर्ष सन् १९२९ मा बिहे नै गरे । बिहेपछि दम्पती जर्मनीको बर्लिन शहरमा गई बस्न थाल्यो । त्यहाँ दुबैले जर्मन मोशन पिक्चर प्रोडक्शन कम्पनी ‘युएफए स्टुडियोज’ मा ठुल्ठूला निर्देशकमातहत बसेर काम गरे । सन् १९३३ मा देविकाले पहिलो चलचित्र ‘कर्मा’ मा अभिनय गर्ने मौका पाइन् । त्यो बेला महिलाले अभिनय गर्नुलाई राम्रो मान्दैनथे । अभिनय क्षेत्रमा लाग्नुलाई बेश्यावृत्ति गर्नुभन्दा पनि तल्लो स्तरको मानिन्थ्यो । त्यसैले चलचित्रमा महिलाको अभिनय पनि पुरुषले नै निभाउँथे । त्यस्तो जमानामा परिवारको इच्छाविपरीत देविकाले चलचित्र क्षेत्रमा प्रवेश गरिन् । यसै कारण उनलाई हिन्दी चलचित्र जगत्कै प्रथम अभिनेत्री मानियो । उनले अभिनय गरेको पहिलो चलचित्रमै किस खाएको लामो दृश्य दिएकोले रातारात चर्चाको शिखरमा मात्र पुगिनन् चलचित्र क्षेत्रकै ‘ड्रागन लेडी’ कहलिइन् । कर्माको पृमियर लण्डनमा गरिएको थियो ।
सन् १९३० को दशकमा भारतमा चलचित्रको विकास हुन थाल्यो । चलचित्र बनाउने र अभिनय गर्ने उद्देश्यले देविका र हिमांशु स्वदेश फर्के । सन् १९३४ मा दुबै मिलेर चलचित्र इण्डस्टृजको सबैभन्दा ठूलो स्टुडियो बम्बे टाकिज खोले । र, स्थापनाको सुरुमै उक्त कम्पनीले ‘जवानीकी हवा’ बनाउन् शुरु ग¥यो । नायिका थिइन् देविका अनि नायक नज्म उल हसन । छायांकनकै दौरान देविका र नज्म नजिकिए । एकदिन त देविकालाई नज्मले उडाए नै ! निर्देशक पति हिमांशुलाई यो घटनाले निकै क्रोधित बनायो । उनले रिसमा फिल्म निर्माण रोकिदिए । देविकाको भाइ पर्ने शिशधर मुखर्जीमार्फत पत्नीलाई धुइँपत्ताल खोज्न लगाइयो । देविका र नज्म एउटा होटलमा फेला परे । हिमांशुले देविकालाई पुनः स्वीकार त गरे तर सम्बन्ध पहिलाको जस्तो भएन । हिमांशु बेलाबखत देविकालाई पिट्थे । चलचित्रको छायांकनकै दौरान पनि सबैको सामु बेइज्जत गर्थे । यसको बावजुद देविकाले हिमांशुसँगै जीवन बिताइन् । हिमांशुले जवानीकी हवा फेरि शुरु गर्ने निर्णय लिए र नज्मको सट्टा स्टुडियोमा ल्याब सहायक कुमुदलाल गांगुलीलाई लिए । कुमुद नायक बन्न चाहन्नथे तर दबाबमा परेर अभिनयमा उत्रन तयार भए । फिल्मको नाउँ फेरिएर ‘जीवन नैया’ भयो । यसरी कुमुद देविकाको नायक बने । कुमुद पर्दामा अशोककुमार बनेर देखा परे । उनै अशोककुमारले दादामुनीका रुपमा करिब ७० वर्ष चलचित्र जगतमा राज गरे ।
सन् १९४० मा हिमांशुको असामयिक निधन भयो । देविकाले बम्बे टाकिज सम्हालिन् । उनैले फलफूल बिक्रेताका छोरा युसुफ खानलाई चलचित्रमा ब्रेक दिइन् र हिन्दी फिल्म इतिहासमै एक जना सफल कलाकरको रूपमा दिलिपकुमारलाई जन्म दिइन् । युसुफ खान उर्फ दिलिपकुमारको पहिलो चलचित्र हो ‘ज्वारभाटा’ । सन् १९४४ मा प्रदर्शित उक्त चलचित्र बम्बे टाकिजद्वारा निर्मित हो । सन् १९४५ मा देविकाले रुसी पेन्टर स्वेतोस्लाव रोयरिचसँग दोस्रो बिहे गरिन् । दुबै बिबाहबाट निसन्तान उनको निधन सन् १९९४ को मार्च ९ मा भयो । उनको अन्त्येष्टि भारत सरकारले पूर्ण राजकीय सम्मानका साथ सम्पन्न गर्यो । बम्बे टाकिजद्वारा निर्मित चलचित्रमध्ये दर्शकले सबैभन्दा बढी मन पराएको ‘अछुत कन्या हो । जसमा नायक अशोककुमार थिए भने नायिका देविका आफैँ । यो फिल्म हिन्दी सिनेमाका लागि कोसेढुंगा सावित भयो । अछुत कन्यालाई नै भारतमा छुवाछुतविरोधी आन्दोलनको आधारशिला तयार गर्ने फिल्म मानिन्छ । चलचित्र क्षेत्रमा मात्र १० वर्ष सकृय रहेकी उनी भारत सरकारबाट दिइने पद्मश्री र दादासाहब फाल्के पुरस्कार पाउने प्रथम अभिनेत्री हुन् ।
टिप्पणीहरू