प्रक्रिया नबुझ्दा संसदमा बज्यो घण्टीको घण्टी

प्रक्रिया नबुझ्दा संसदमा बज्यो घण्टीको घण्टी

टेलिभिजनको पर्दामा चिच्याई चिच्याई कराउनु र सांसदको लोगो ढल्काएर प्रतिनिधिसभा बैठकमा आफ्ना तर्क राख्नु उस्तै हो ? माइतीघरमा 'मूर्दावाद' को नारा लगाएकै शैलीमा संसदमा विरोध गर्न मिल्छ ? 'जान्नेलाई छान्ने' भनेर विषय विज्ञताको गफ छाँट्ने राष्ट्रिय स्वतन्त्र पार्टीमाथि उठेको प्रश्न हो यो । हिजो आइतबारको प्रतिनिधिसभा बैठकमा संसदीय प्रक्रिया नै नबुझी त्यस पार्टीका सांसदहरुले विरोधका नाममा रमिता देखाएपछि बोक्रे तर्क गरेर चर्चा बटुलिरहेको रास्वपाको वास्तविक चेहरा बाहिर आएको छ ।    

आइतबारको बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक पेश गर्ने कार्यसूची थियो । झण्डै ८० वटा कानुन संशोधनको प्रस्तावसहित संसदमा दर्ता भएको उक्त विधेयकमाथि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदद्वय सोविता गौतम र सुमना श्रेष्ठ अनि राप्रपाका 'भाइरलम्यान' ज्ञानेन्द्र शाही र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले बिरोधको सूचना दिएका थिए । सांसदहरुले पहिल्यै विरोधको सूचना दिएकाले मत विभाजनको प्रक्रियामा जाने आकलन गरी संसद सचिवालयले सिंहदरबारबाट थप कर्मचारी मगाएर सबै तयारी पुरा गरेको थियो । मत विभाजन प्रक्रिया शुरु हुनेबित्तिक्कै फटाफट काम थाल्न सबै माननीयको नाम लिष्ट उतारेर तम्तयार बसेका सचिवालयका कर्मचारीहरु सांसदहरुको अपरिपक्वता देखेर लाजले भुतुक्कै भए ।   

प्रतिनिधिसभा नियमावली र संसदीय प्रक्रियाअनुसार कुनै पनि विधेयकमा विरोधको सूचना परेको छ भने सभामुखले त्यसलाई निर्णयार्थ पेश गर्नुपर्ने हुन्छ । शुरुमा 'हुन्छ' र 'हुन्न' का आधारमा विरोधका सूचनामाथि कारवाही थालिन्छ । तर, कम्तिमा २८ जना सांसदले मत विभाजन मागे सभामुखले दिनुपर्ने हुन्छ । आइतबार केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि परेका विरोधका सूचनालाई पनि त्यसैगरी निर्णयार्थ पेश गरियो । राप्रपा र रास्वपाका सांसदहरुले 'हुन्छ' भनेर हात उठाए । सत्तापक्षका सांसदहरुले 'हुन्न' भने । संसदमा सत्तापक्षको बहुमत भएकाले विरोधका सूचना अस्वीकृत भएको घोषणा गरियो । त्यसपछि सभामुख देवराज घिमिरेले उक्त विधेयक प्रतिनिधिसभामा पेश गर्न अनुमति प्राप्त भएको घोषणा गर्नुभयो । विरोधको सूचना दिने दलका सांसदहरुले मत विभाजन नामागेपछि लगत्तै कानुन मन्त्री धनराज गुरुङलाई विधेयक पेश गर्ने अनुमति मिल्यो । यहाँसम्म त ठीकठाक नै चलिरहेको थियो । 

सभापति रवि लामिछानेले संसदीय प्रक्रिया नबुझेको भनेर प्रमुख सचेतक सन्तोष परियारलाई सबैका अगाडि झपार्नुपर्नेसम्मको स्थिति उनीहरुकै कमजोरीले पैदा भयो । 

जब सभामुख घिमिरेले शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री अशोक राईलाई 'नेपाल विश्वविद्यालय विधेयक २०८० माथि विचार गरियोस्' भन्ने प्रस्ताव पेश गर्न समय दिनुभयो शिक्षा मन्त्री राई रोष्टममा पुगेपछि रास्वपाका सांसदहरु उठेर विरोध गर्न थाले । सो दलका प्रमुख सचेतक सन्तोष परियारले विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव निर्णयार्थ पेश नभएको जिकिर गरे । जबकि सभामुखले विधेयक प्रतिनिधिसभामा प्रस्तुत गर्न अनुमति प्राप्त भएको घोषणा गरेलगत्तै त्यसमा चित्त नबुझे मत विभाजन माग्नुपर्थ्यो । तर,कानुन मन्त्रीले विधेयक पेश गरिसकेपछि मत विभाजन मागेको रास्वपाले संसद बैठक नै अवरुद्ध पार्यो । १५ मीनेट बैठक स्थगित गरियो । त्यसपछि संसद भवनमै सबै दलका प्रमुख सचेतक र सचेतकहरुको छलफल चल्यो । संसदीय प्रक्रियामा आफू चुकेको थाहा पाएपछि रास्वपाले थप बखेडा झिकेन, पुन: संसद सुचारु भयो ।

खासमा यो त एउटा प्रतिनिधि घटना मात्र हो, पछिल्लो समय संसद राजनीतिक कुण्ठा पोख्ने थलो बनिरहेको छ । संसदीय प्रक्रिया र नियमावली नबुझेका नयाँ दल र युवा सांसदहरुले नै मनलाग्दी बोलिरहेको सुनिन्छ । सडकमा चर्को बोलेर 'भाइरल' हुँदै सांसद बनेका ज्ञानेन्द्र शाहीहरुको 'अराजकता' ले त संसदको गरिमा नै घटाएको टिप्पणी भैरहेका छन् । त्यस्ता अराजकतालाई रास्वपाका सांसदहरुको अपरिपक्वताले मलजल गरिरहेको छ ।

टिप्पणीहरू