अरुको बेरुजु निकाल्ने,आफै समुद्रमा डुबुल्की मार्ने ?

अरुको बेरुजु निकाल्ने,आफै समुद्रमा डुबुल्की मार्ने ?

सरकारी कार्यालयमा प्रचलित नियम र कानुनविपरीत गरिएका बजेट खर्चमा बेरुजु औंल्याउने अड्डाका कर्मचारीहरु आफैँ भने आर्थिक बर्षको अन्त्यमा राज्यको ढुकुटी रित्याउन अग्रसर भएको पाइएको छ । राष्ट्रपति कार्यालयदेखि अनेक परियोजना र समितिसम्मका गैरकानुनी खर्चमा बेरुजु लेख्ने अधिकार पाएको महालेखा परीक्षकको कार्यालय आफैँले असारको अन्त्यमा भरमार खर्च गरेको हो ।

गत आर्थिक वर्षको बजेट सकाउन ५७ जना कर्मचारीलाई विदेश भ्रमणमा पठाएकाले महालेखा पनि एउटै ड्याङको मुलामा परिणत भएको अर्थ मन्त्रालयका केही कर्मचारीको आरोप छ । गत आर्थिक वर्ष २०७९/८० को बजेट फ्रिज हुन नदिने मनशायले वैदेशिक तालिमको नाममा ती कर्मचारीलाई समुन्द्रपार पठाइएको थियो ।

वैदेशिक तालिम भन्दै कार्यालयका तीन जना सहसचिवसहित ३० जना र सोको अनुगमन गर्न उप–महालेखापरीक्षक विन्दु बिष्टसहित दुई जना कर्मचारीलाई असार २५ गते थाइल्याण्ड पठाइएको थियो । उनीहरुमध्ये केही बैंकक नजिकैको समुद्री किनार पटायामा डुबुल्की मारेर हिजो स्वदेश फर्केका छन् । केही कर्मचारी भने उतैबाट सिंगापुर घुम्न गएको बताइन्छ ।

बैंकक मनोनयनमा विवाद भएपछि थप २५ जना कर्मचारीलाई पाँच दिनको निम्ति कलकत्ता भ्रमणमा पठाइएको थियो । उक्त टोली पनि घुमघाम र किनमेल गरेर असार ३१ गते स्वदेश फर्किसकेको छ । गत आर्थिक वर्षको बजेट फ्रिज हुन नदिन महालेखापरीक्षकको कार्यालयले आफ्ना ५७ जना कर्मचारीलाई असार अन्तिम साता एकाएक तालिम भन्दै विदेश पठाएपछि अब यसको बेरूजु निकाल्ने कसले ?

टिप्पणीहरू