मुस्ताङबाट फलफूल तथा तरकारीकै ६७ लाख
हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रले गत आर्थिक वर्षमा फलफूल तथा तरकारीजन्य सामाग्री विक्रीबाट ६७ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ ।
०७९/०८० मा ६७ लाख १९ हजार पाँच सय ७२ रुपैयाँको तरकारी तथा फलफूल जन्य सामग्री बिक्रीबाट आम्दानी भएको हो । केन्द्रले प्रशोधित वस्तुबाट २३ लाख ९० हजार सात सय ४५, ताजा फलफूलबाट १३ लाख ५८ हजार सात सय ९२, ताजा तरकारीबाट पाँच लाख १६ हजार नौ सय १० रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै, आलुको बीउबाट दुई लाख सात हजार दुई सय १२, तरकारी बीउबाट नौ लाख चार हजार एक सय ९२, तरकारीको बेर्नाबाट दुई लाख तीन हजार दुई सय १०, फलफूलका बिरुवा बिक्रिबाट सात लाख ६३ हजार आठ सय ९०, अन्य प्रशासनिक शुल्कको आम्दानी २० हजार गरेको छ । त्यसैगरी तीन लाख ५४ हजार ६ सय २० रुपैयाँ विविध शीर्षकमा आम्दानी भएको छ ।
शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले विविध आम्दानीतर्फ क्रेप एप्पल बीउ, चिलिको बियाँ, सुकेको घाँसलगायत बिक्रि गरेको कुरा केन्द्रका निमित्त प्रमुख पद्मनाथ आत्रेयले बताउनुभयो । केन्द्रले स्याउ, नास्पाती, अङ्गुर, खुर्पानी, ओखर, कागजी बदाम, आरु, आरुबखडा, स्याउजस्ता फलफूलहरूको बिरुवा बिक्री वितरण गर्ने गरेको छ । त्यस्तै प्रशोधित वस्तुहरू अन्तरगत स्याउ ब्राण्डी, खुर्पानी ब्राण्डी, प्लम वाइन, खुर्पानी सुकुटी, खुर्पानी जाम, स्याउ जाम, स्याउ सुकुटी, साइडरलगायत सामग्री बेच्ने गर्छ । त्यस्तै शीतोष्ण बागबानी विकास केन्द्र मार्फाले ताजा फलफूलहरूमा स्याउ फल, आरु बखडा, आरु, नास्पाती, खुर्पानी, दाँते ओखर, हेजल नट, चिलि र अंगुर आदि बिक्री गरेको थियो ।
केन्द्रले ताजा तरकारीहरू काउली, बन्दा, गोलभेडा, सिमी कोसा, काँक्रो, ब्रोकाउली, प्याज हरियो, फर्सि (जुकुनी), भण्टा, रायो साग, भेडे खुर्सानी, पिरो खुर्सानी, आलु र लसुन बिक्री गर्दा पाँच लाख १६ हजार नौ सय १० रुपैयाँ ५० पैसा आम्दानी गरेको थियो ।
टिप्पणीहरू