भन्सारको संसार हेर्न उत्तर जानु नि !
‘ज्ञान प्राप्त गर्न नयाँ चीज थप्दै जाऊ । बुद्धि प्राप्त गर्न पुराना चिज हटाउँदै जाऊ ।’ समाज सुधारक लाओ त्सुको यो भनाइलाई नै आधार मानेर चिनियाँँ नेतृत्वले ‘ट्रायल एण्ड एरर इनिसियटिभ्स’ अघि बढाएको अनुभूत गर्न सकिन्छ । चीनको आर्थिक विकासको लक्ष्य हासिल गर्न यो नीतिले अनुसन्धान पद्धतिलाई सबैभन्दा ठूलो महत्व दिएको पाइन्छ । परीक्षण वा अनुसन्धान गर्दा उम्दा सावित भए त्यसलाई विस्तार गर्ने, नभए ज्ञानको रूपमा पुँजीकृत गर्ने यो परम्पराका कारण चीनले हरेक क्षेत्रमा निकै ठूलो फड्को मारेको हो भन्न सकिन्छ ।
अहिले चीनले अमेरिका र जापानलाई प्रविधिको विकासमा टक्कर दिएको छ । विशेषगरी एआई प्रविधिको विकास र उपयोगको कारण चीनभित्रै बेरोजगारी त बढ्ने होइन भन्ने प्रश्न उब्जिएको छ । यस वर्षमात्रै २० लाख चिनियाँँ युवा बेरोजगारको सूचीमा दरिएका छन् । सस्तो श्रमका लागि विश्व बजारमा चिनिएको मेहनतकश श्रमिकहरूलाई एआइ प्रविधिले कठिन मोडमा उभ्याउने संकेत गरेको छ । एआई प्रविधिको उपयोग आधुनिक चीनको विकासका निम्ति वरदान सावित भइरहँदा कतै अभिषाप पनि हुने हो कि भन्ने प्रश्न पनि उठ्ने गरेको छ ।
यो प्रश्नले चिनियाँँ विकासमा प्रविधिको बढ्दो उपयोगको अवस्थालाई छर्लङ्ग बनाउँछ । चीन भ्रमणमा याङसन कस्टमक सेन्ट्रलाइज्ड इमेज एक्सामिनेसन एण्ड सिजुर टेक्नोलोजी, लिङ्गन सेन्टर (टेक्नोलोजी एण्ड विज्डम लाइब्रेरी), चुङ्गो लेन, तोङ्फाङवेसी कम्पनी, फोटोभोल्टिक इन्डस्ट्रियल पार्क र त्रिना सोलार कम्पनीको अध्ययन भ्रमण गर्दा अनुभूत गरियो । यी काराखानामा मानवीय श्रमसँगसँगै श्रमशक्तिका रूपमा नयाँ नयाँ उपकरण र प्रविधिहरू उपयोगमा लगाएको देखियो । विश्व बजारमा चिनियाँ प्रभुत्व, संसारका प्रत्येक घरमा एक चिनियाँँ सामग्री उपयोग गर्ने नीतिका पछि सस्तो मूल्यमा सामग्री उत्पादन र वितरण गर्ने कार्यक्रमलाई उन्नत प्रविधिको विकास र त्यसको उपयोगले महत्वपूर्ण भूमिका रहेको बुझ्न कुनै कठिनाइ भएन । ‘नयाँ चिज थप्दै जाऊ’ भन्ने क्रममा फ्रि ट्रेड जोन, फ्रि ट्रेड एरिया, पाइलट फ्रि ट्रेड जोन र विशेष जोनहरू जस्तै अहिले सि यान स्थापित गरिँदै छन् ।
यी सबै क्षेत्रले चीनको आर्थिक समृद्धिका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । आँकडालाई हेर्दा ६० प्रतिशत भन्दा बढी चिनियाँँ राजश्वको स्रोत यिनै क्षेत्रमा स्थापित उद्योग, कलकारखाना देखिन्छन् । अर्थात् आर्थिक समृद्धिका लागि चिनियाँँ कम्युनिष्ट पार्टीको नेतृत्वले अपनाएको लचकदार नीतिका कारण यो सम्भव भएको हो । लगानीलाई आकर्षित गर्ने, लगानीका लागि प्रेरित गर्ने र लगानी मैत्री वातावरणको सुरक्षा प्रत्याभूति गर्ने काममा सांघाई महानगरपालिका र संघीय नेतृत्व निकै सचेत देखिन्छ । इष्ट चाइना युनिभर्सिटी पोलिटिकल साइन्स र लका प्रोफेसर सु काइका अनुसार यसबीचका अवधिमा २३ कानुन, २३०० नियम र १ लाख ९० हजार विनियमहरू स्क्रिनिङ गरिएका छन् ।
प्रोफेसर काइ भन्छन्, ‘चीनको आर्थिक समृद्धिको एउटा खुला रहस्य हो खुला व्यापार नीति । देश र जनताका लागि आर्थिक विकास र आवश्यकतालाई पहिलो र त्यसपछि मात्रै ऐन–कानुनलाई प्राथमिकतामा राख्नुपर्छ । यसैले चीन सबैखाले लगानीकर्ताको आकर्षण गन्तव्य पनि हो ।’ यही कारणले अमेरिका, युरोप, अफ्रिका र एशियाका उद्योगपति र लगानीकर्ताहरू चीनमा व्यापार गर्न, उद्योगधन्दा खोल्न अग्रसर हुन पुगेका हुन् । टेस्ला जस्ता कम्पनीहरू चीनमा त्यसै आएनन् । सांघाईमा डिज्निलेण्डहरू सञ्चालन हुन यसर्थ सम्भव भएका हुन् । उद्योगी र व्यापारीको निम्ति एकद्वार प्रणालीको व्यवस्था गरी अनुमतिदेखि लगानीसम्म, उत्पादनदेखि बजारसम्मको पहुँचलाई सहज तुल्याइएको छ ।
कारखाना खोल्न अवरोध खडा गर्ने नीति र कानुन संशोधन वा खारेज गरिएका छन् । लगानीकर्तालाई निरुत्साहित तुल्याउने सबैखाले अवरोध अन्त्य गरिएको छ । शुरुमै कर तिर्नुपर्ने बाध्यकारी नियम छैन, उद्योग कलकारखाना खोल्ने, वस्तु उत्पादन गर्ने, उत्पादित वस्तु बजारमा लगेर बेच्ने, त्यसपछि मात्रै औद्योगिक क्षेत्रको कर, बहालजस्ता राज्यलाई तिर्न सकिने व्यवस्था छ । उत्पादनको बिक्री प्रवद्र्धनका लागि चाइना कस्टमले प्रत्येक दिनको आँकडा संकलन गरी अध्ययन र अनुसन्धान रिपोर्ट बुझाउने र त्यसैका आधारमा उत्पादन, बजार प्रवद्र्धनका लागि आवश्यक कदम सरकारी तवरबाटै विभिन्न तालुकदार निकायले चाल्ने क्रम रहेछ । यसका लागि चाहिने दक्ष भन्सार अधिकारीको उत्पादनमा सांघाई कस्टम कलेजको महत्वपूर्ण भूमिका देखिन्छ ।
जावलाखेलको प्रशासनिक क्याम्पसजस्तै सांघाई कस्टम कलेज कस्टममा काम गर्ने सिकारुदेखि पुराना अधिकृतहरू प्रतिदिन व्यापार प्रवद्र्धनका लागि चिनियाँँ सरकारले कार्यान्वयनमा ल्याएका नयाँ कानुन, नीति र नियमबारे प्रशिक्षित हुने थलो रहेछ । र, यस कलेजले उद्योगमैत्री कानुन, व्यापार रणनीतिदेखि कार्यान्वयनसम्म, अध्ययन–अनुसन्धानदेखि दिगो विकाससम्मका कार्यमा सबै क्षेत्रमा टेवा पु¥याएको देखिन्छ । अर्थात् आर्थिक समृद्धिका लागि राजश्व चुहावट रोक्ने तौरतरिकादेखि सूचना संकलन, तथ्याङ्क विश्लेषण, गुणस्तर नियन्त्रणलगायत सबै क्षेत्रमा चाइना कस्टमको एकीकृत कार्यक्रम देखिए ।
उदाहरणका लागि चाइना इलेक्ट्रोनिक पोर्ट डेटा सेन्टर र नानजिङ इन्डष्ट्रियल प्रोडक्टस् टेस्टिङ सेन्टरलाई लिन सकिन्छ । वस्तुको गुणस्तर जाँच्नेदेखि अनुमति र ग्रेडिङका कामसमेत चाइना कस्टमले सञ्चालन गर्छ । यी सबै काम सैनिकका जस्तै युनिफर्म लगाएका कर्मचारीले गर्छन् । यो युनिफर्मले कस्टमको क्षेत्रमा काम गर्ने कर्मचारीभित्र ऊर्जा भर्ने गरेको देखियो । जिम्मेवार बन्न प्रेरित गरेको पाइयो । आर्थिक उन्नतिका लागि भन्सार नैं सानो संसार हो । यदि भन्सार चुस्त भएन भने भ्रष्टाचार हुन्छ, भ्रष्टाचारले देशलाई अधोगतितर्फ धकेल्छ । यी भन्सारका कर्मचारीको कामलाई सहज तुल्याउन एआई प्रविधि निकै महत्वपूर्ण ठूलो योगदान पुर्याएको छ ।
कस्टम अधिकारीको ज्यान जोखिममा परेको बेला होस् या साधारण सुपरिवेक्षण वा नियमित काममा एआई प्रविधिको उपयोग बिना चाइना कस्टम अघि बढाउन सम्भव भएको अनुभूति गरियो । र, एआइलगायतका अन्य प्रविधि र उपकरणले आर्थिक समृद्धिका पक्षमा वातावरण तयार गरेको देखियो । सन् १९७९–२००० सम्मलाई चिनियाँँ औद्योगिक क्षेत्रको विकासको निम्ति वैदेशिक लगानीलाई आमन्त्रण गर्ने आइस ब्रेकका काम भए । तत्कालीन चिनियाँ नेता देङ सियाओ पेङले शुरु गरेको यो कामले गति लिदैं गयो ।
वर्तमान राष्ट्रपति सि जिङपिङको नेतृत्वमा विश्व व्यापार संगठनको सदस्यता लिएपछि झनै उचाइ लियो । यसले चीनको खुला व्यापार नीतिलाई अघि बढाउँदै साघाई जोड ३, हेनान फ्रि पोर्ट जोन जस्ता आर्थिक क्रियाकलापको दायरा अघि बढाएको पाइन्छ । हो, चीनको आर्थिक समृद्धि सहज रूपमा हासिल भएको हैन यसका लागि धेरै पापड बेलिएको रहेछ । हामी भने एक गाउँपालिका–एक औद्योगिक क्षेत्र निर्माण गर्ने कार्यक्रम बनाउँछौं, बजेट छुट्याउँदैनौं । भएका औद्योगिक क्षेत्रलाई आवास गृह बनाउँछौं । चलेकालाई अनेकथरी भाँजो हालेर उदयपुर सिमेन्ट उद्योग जस्तै डुबाउँछौं ।
अनि म गम्दै जान्छु, हाम्रो नेतृत्वले कमसल जनशक्ति उत्पादन गर्ने र विदेश सप्लाई गर्ने कारखाना पनि बन्द हुने दिन आउँछन् भनेर किन नसोचेका होलान् ? चीनमा मानवीय श्रमलाई विस्थापन गर्न एआइहरू तयार छन् । भोलि यस्तो अवस्था आउँदा हाम्ले के गर्ने होला ?
टिप्पणीहरू