शिक्षित र नयाँ पुस्ताका आमाहरुको स्तनपानमा बेवास्ता

शिक्षित र नयाँ पुस्ताका आमाहरुको स्तनपानमा बेवास्ता

विश्व स्तनपान सप्ताह आजदेखि सुरु भएको छ । यसवर्ष ‘स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाहरुको प्रतिबद्धता’ भन्ने नाराका साथ स्तनपान सप्ताह मनाइँदैछ । हरेक आमालाई आफ्नो शिशुलाई नियमित रुपमा छ महिनासम्म स्तनपान गराउन प्रेरित गर्दै एक हप्तासम्म स्तनपान सप्ताह मनाउने गरिन्छ । 

शिशुलाई सुरक्षित तरिकाले स्तनपान गराउन आमालाई प्रेरित गर्न विश्व स्वास्थ्य संगठन र युनिसेफको अगुवाइमा विश्वभर अगस्ट १ देखि ७ सम्म यो दिवस सप्ताहव्यापी रुपमा मनाउने गरिएको छ । नेपाललगायत विश्वका १ सय ७० भन्दा बढी देशले आजबाट एक हप्तासम्म विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरेर यो दिवस मनाउने गर्छन् । 

बालबालिकाको शारिरिक र बौद्धिक विकासका लागि आवश्यक पर्ने पौष्टिक तत्व आमाको दुधबाट मात्र प्राप्त हुने भएकाले गाईभैंसीको दुध तथा बजारमा पाइने बट्टाको दुध त्यसको विकल्प हुन नसक्नेबारेको सचेतना फैलाउन पनि यो दिवस मनाउन थालिएको हो । 

आमाको स्तनपान शिशुका लागि अमृत बराबर मानिएको छ । स्तनपान गराउँदा आमा र शिशु दुवैको स्वास्थ्यलाई फाइदा हुन्छ । स्तनपानले बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै पुड्कोपना, कुपोषणलगायत रोगबाट बचाउने गर्दछ । तर, पछिल्लो समय नेपालमा पनि स्तनपान गराउने दर घट्दो क्रममा छ । 
स्तनपानको महत्व नबुझ्दा, दूध चुसाउने उपयुक्त आसनबारे थाहा नपाउँदा र बजारमा पाइने बट्टाको दूधलगायत प्रयोग गर्दा स्तनपान गराउने दर घटिरहेको चिकित्सकहरुको भनाई छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख लीलाविक्रम थापाले शिशु जन्मेको १ घण्टाभित्र स्तनपान गराउन आग्रह गरेका छन् । उनका अनुसार शिशु जन्मिएपछि जतिसक्दो चाँडो स्तनपान गरायो, त्यति नै आमा र शिशु दुवैका लागि फाइदाजनक हुने प्रमाणित भइसकेको छ । 

शिशुलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्व आमाको दुधमा पाइने हुनाले शिशु जन्मिएको छ महिनासम्म आमाको दुध मात्र खुवाउन उनको सुझाव छ । भन्छन्, ‘आमाको दुध बालबालिकाको लागि अमृत समान हो । यसले बालबालिकाको जीवन रक्षा गर्छ । पहिलो पहेँलो बिगौती दूधले खोपसरहको काम गर्छ । यसले निमोनिया, झाडापखाला, कान, छाला, पेट तथा श्वासप्रश्वासका संक्रमणसँग लड्न सक्ने क्षमता बढाउँछ । आमाको दूधमा बालबालिकालाई आवश्यक पर्ने पर्याप्त पानी र खनिज तत्वहरु पाइने भएकाले जन्मिएदेखि छ महिनासम्म आमाकै दूध मात्र खुवाउनुपर्छ ।’

शिशु जन्मिनेबित्तिकै आमाको दूध खुवाउँदा सालनाल छुट्टै बाहिर निस्किने उनी बताउँछन् । शिशुले दूध चुस्दा आमाको पाठेघर खुम्चिने र यसबाट बच्चा जन्मिएपछि बढी रगत बग्ने खतरा समेत कम हुने उनको भनाई छ । 

योसँगै महिलामा स्तन र पाठेघरसम्बन्धी क्यान्सर, मधुमेह टाइप–२ र सुत्केरीपछि मनोरोगको सम्भावना समेत घटाउने उनले बताए । स्तनपानले आमालाई गर्भ निरोधकको रुपमा समेत काम गर्छ । शिशुको स्वास्थ्यवृद्धि विकास, सम्पूर्ण आहारा र पानीको स्रोतका रुपमा पनि आमाकै दूध रहेको हुन्छ । 

आमाको दूधमा रोगाणुनाशक तत्व हुन्छन् । जसमा लेक्टोफोर्मिन नामक पोषण तत्व हुन्छ, यसले शिशुको शरीरमा फलामतत्व दिन्छ । आमाको दूधमा आएका साधारण जीवाणुले शिशुको शरीरमा उब्जने विभिन्न रोगसँग प्रतिरोध गरेर उनीहरुको रक्षा गर्ने पोषण शाखा प्रमुख लीलाविक्रम थापा बताउँछन् । 

स्तनपानले शिशुमा इम्युनिटी पावर बढाउन एक प्रकारको खोपसरह काम गर्ने बताउँदै उनले पछिल्लो समय कार्यव्यस्तता वा स्तनपान गराउने ठाउँको अभावका कारण पनि आमाहरुले आफ्ना शिशुलाई स्तनपान गराउन ठूलो चुनौती व्यहोर्नुपरिरहेको बताए । त्यसैले, कार्यस्थलमा स्तनपानका लागि सहज वातावरण बनाइदिन उनले सम्बन्धित निकायसमक्ष अनुरोध गरेका छन् ।

टिप्पणीहरू