मस्तराम महाराज, यसरी खोसियो राजकाज
भरतपुर भारत, राजस्थान राज्यभित्रको एउटा जिल्ला हो । जिल्ला सदरमुकाम पनि भरतपुर नै हो । यसको नामकरण हिन्दू धर्मग्रन्थ रामायणका नायक रामका भाइ भरतको नाउँबाट गरिएको मानिन्छ । यो क्षेत्र जाट सरदार रुस्तमको अधीनमा थियो, पछि महाराजा सुरजमलले जिते र सन् १७३३ मा भरतपुर नामकरण गरी स्वतन्त्र राज्य खडा गरी आगरादेखि मथुरासम्म फैलाए । सन् १९१८ मा महाराजा किशन सिंह यो राज्यको १७ औं राजा बने । सन् १९०० मा महाराजा राम सिंहका एक जना निजी नोकरको दरबारभित्रै हत्या भयो । यो हत्याकाण्डकै कारण उनलाई अपदस्थ गरियो र उनैकी दोस्री पत्नी गिरिराज कौरले शासनसत्ता सम्हालिन् किनभने त्यो बेला गद्दीको उत्तराधिकारी घोषित भएका राजकुमार किशन सिंह मात्र १ वर्षका थिए । वयस्क नहुञ्जेल गद्दीमा बस्न नपाएका किशनले यसबीच न्युजिल्याण्डमा गई उच्चशिक्षा हासिल गरे । बिहे पनि १४ वर्षकै उमेरमा राजेन्दर कौरसँग गरे । ३० वर्षकै उमेरमा मृत्यु भएका उनको अन्तिम समयसम्म ४० जना रानी थिए । किशन हिन्दी साहित्यका अनुरागी थिए । साहित्य सम्मेलनको आयोजन गरिराख्थे । सम्मेलनको सम्पूर्ण व्यय आफैँले उठाउँथे ।
किशन सधैं रमाइलो गर्न मन पराउने र ऐøयासी स्वभावका थिए । उनले आफ्नो र आफू र ४० जना रानीको लागि एउटा गुलाबी रंगको संगमरमर ढुंगोको पोखरी बनाउन लगाए । पोखरीसम्म पुग्न चन्दनको काठबाट निर्मित एउटा सिँढी पनि तयार भयो, जसमा २० वटा खुड्किलो थियो । उनी चाहन्थे हरेक सिँढीमा २२ जना रानी निर्वस्त्र उभिएर स्वागत गरुन् । किशन महाराज त्यहाँ प्रवेश गर्थे । प्रत्येक सिँढीमा उभिरहेका रानीहरूसँग आँखा जुधाउँथे । यसक्रममा कसैलाई धक्का दिएर पानीमा खसालिदिन्थे भने कसैलाई आलिंगन गर्दै त कसैलाई म्वाइँ खाएर सिँढीबाट ओर्लिंदै जान्थे । यसरी पानीको सतहसम्म पुग्दा चालिसै जना रानीसँग भेट हुन्थ्यो । महाराजाको स्वागतार्थ सिँढीमा उभिरहेका रानीहरू सबैको हातमा एउटा–एउटा मैनबत्ती हुन्थ्यो । महाराजा सिँढीबाट ओर्लंदै जब २ फुटको मात्र गहिरो पानीभित्र पुग्थे आसपासको सबै बत्ती निभाइन्थ्यो । अनि सबै रानीले मैनबत्ती बालेर नाइटोको ठीक मुनि राख्थे, नतिजा रानीहरूको सबै अंगप्रत्यंग छर्लंग देखिन थाल्थ्यो । महाराज उक्त दृश्य हेरेर आनन्द उठाउँथे । यसपछि रानीहरू पनि पानीभित्र पसी अचम्मको नाच नाच्थे तर नाच्दा शरीरभरि प्रकाश छरिरहेको मैनबत्ती ननिभोस् भन्ने हेक्का पनि उत्तिकै राखिरहेका हुन्थे । रानीहरूले महाराजलाई घेर्थे, अनि पानी छ्याप्थे । पानी छ्यापाछ्यापले एकएक गरी सबै मैनबत्ती निभ्दै जान्थ्यो । र, जसको मैनबत्ती अन्तिममा निभ्थ्यो, उनी त्यो रातको हिरोइन् घोषित हुन्थिन् । उनलाई महाराजाले अमूल्य आभूषण उपहार दिन्थे ।
भरतपुर राज्य सुन्दर दरबार र फोहराहरूको कारण प्रसिद्ध थियो । सभाकक्षको चारै दिशामा पानीको फोहरा राखिएको हुन्थ्यो । सबै फोहराले अत्यन्त गर्मीको समयमा पनि वातावरणलाई जाडोयामको जस्तो बनाइदिन्थ्यो । महाराज बीचको हलमा बस्थे र उनी विराजमान भएपछि सबै फोहरा चालु गरिदिन्थे । फोहरा यस्तो तरिकाले मिलाएर राखिएको हुन्थ्यो कि हेर्दा ठ्याक्कै आकाशबाट पानी परेको जस्तो लाग्ने, सम्पूर्ण दरबार चिसो र सुन्दर देखिन्थ्यो । महाराज यहीँ रानी र राजपरिवारका सदस्यलाई रंग छ्यापेर होली खेल्थे । कतिपय अवस्थामा मन पर्ने रानी तथा दासीहरूसँग बसेर रमाइलो गर्थे । दरबारको चारैतर्फ अग्लाअग्ला रुख थियो । जस्को कारणले पनि त्यहाँ शीतल हुन्थ्यो । कहिलेकाहीँ महाराज सुगा बसेजस्तो गरी रूखमाथि बस्न जान्थे । दुइटा रुखको बीचमा डोरीको सहायतामा झुल्ने झुला बनाइएको हुन्थ्यो, उचाइमा । महाराज त्यहीँ बसेर चारैतिरको दृश्य अवलोकन गर्थे ।
भोजनको व्यवस्था पनि अचम्मकै हुन्थ्यो । दरबारको छतमा अर्धचन्द्राकार घेरामा रातो पत्थरबाट निर्मित करिब २ सय वटा कुर्सी थिए । महाराजले इष्टमित्र र उच्चपदस्थ राज्यका अधिकृतलाई निम्तो दिन्थे र आफ्नै अगाडि खान लगाउँथे । या त चन्द्रमाको प्रकाश हुन्थ्यो या ठुल्ठूला मैनबत्ती । यसखालको कार्यक्रममा महाराजले ठूलो धनराशि खर्च गर्थे । कार्यक्रम रातभर चल्थ्यो, महँगो महँगो रक्सी पिलाइन्थ्यो, राज्यभित्रका महसुर नर्तकी र वेश्याहरूले नाचगान गरेर पाहुनालाई मनोरञ्जन दिलाउँथे । महाराजले वर्षमा ६ पटक यस्तो कार्यक्रम आयोजन गर्न लगाउँथे प्रत्येक ऋतुमा एकपटक । प्रत्येक कार्यक्रममा पाहुनाले ऋतुअनुसारको बेग्लाबेग्लै पहिरनमा सरिक हुनुपथ्र्याे । उदाहरणको लागि वसन्त ऋतुमा टाउकोदेखि पाइतालासम्म पुग्ने लामो लुगा–केसरिया, तिजमा गाढा रातो, होलीमा सेतो, जाडोयाममा नीलो पहिरन । महिलाहरू पनि यसैअनुरूपको लुगामा सजिएर सरिक हुन्थे । यहाँसम्म कि कार्यक्रममा सरिक हुन नपाएका सडकमा हिँड्ने बटुवासमेत यस्तै रंगको लुगा लगाएर हिँड्थे र दरबारको नक्कल गर्न मन पराउँथे । दरबारमा सधैं हर्षोल्लासको वातावरण हुने गरे पनि राज्यले सर्वसाधारण नागरिकको हितार्थ खासै काम गरेको हुन्नथ्यो । सडक बिग्रेको वर्षौंसम्म मर्मतसम्म हुन्नथ्यो । अस्पतालमा कुशल चिकित्सक र नर्स हुन्नथ्यो किनभने उनीहरूलाई राम्रो तलब दिइन्नथे । अदालतको स्थिति पनि उस्तै, राम्रो तलबबिना कुनै न्यायाधीश र वकिल काम गर्न रुचाउँदैनथे । सडकको सफाइ हुन्नथ्यो । राम्रो पारिश्रमिक नपाउने कारण नगरपालिकाले कामै गर्दैनथ्यो । राज्य पूर्णतः अनियन्त्रित थियो । जनताले राज्यको उपस्थिति महसुसै गर्न पाएको हुन्नथ्यो । महाराजा किशन सिंहले आफ्नो र आफन्तको मनोरञ्जनार्थ गर्ने फजुल खर्चको कारण राज्य नै टाट पल्टिने अवस्थामा पुगिसकेको थियो । आम्दानी खासै धेरै थिएन । भएको आम्दानीको पनि ठूलो हिस्सा महाराज आफ्ना अंगरक्षक, उनीहरूका पोशाक र घोडामा खर्च गर्थे । राज्यको आम्दानीको ७५ प्रतिशत रकम सेनाकै लागि खर्च हुन्थ्यो ।
हरेक आइतबार सभाहलको ठूलो टेबुलमा भएभरको सरकारी फाइल र निवेदन सजाएर राख्न भनेका हुन्थे । हप्ताभरिमा प्राप्त निवेदन र अन्य फाइल सजाउने जिम्मा निजी सचिव कुँवर भरतसिंहको हुन्थ्यो । सभाकक्षको टेबुल यति ठूलो थियो कि दरबारमा आयोजना गरिने दिवा वा रात्रिभोजमा एकैपटक सय जनाले खाना खान मिल्थ्यो । महाराजको हुकुमबमोजिम भरतसिंहले हप्ताभरिमा प्राप्त हत्या, सापटी र सजायँको रकमसम्बन्धी, राज्यका उच्चपदस्थ कर्मचारीको सरुवा, बढुवा, खोसुवा, राजपरिवारका सदस्यको निजी मुद्दा, केन्द्र सरकारबाट प्राप्त सम्पूर्ण कागजात विषयानुसार सजाउने गर्थे । महाराज बेलुकी मात्र सभाकक्षमा प्रवेश गर्थे । साथमा रानी, महारानी र दरबारका सबै दासी हुन्थे । रानी महारानीसँगै बसेर खाना खान्थे, रक्सीको नदी बग्थ्यो । कुरोकानी गर्थे र जिस्कन्थे । घण्टौं हँसिमजाक चल्थ्यो । कुर्सीबाट उठ्दै महाराज टेबुलमा सजाएर राखेका फाइल मनलाग्दी तरिकाले दुइटा चाङ बनाउन रानीहरूलाई आदेश दिन्थे । र, सबै फाइलको चाङ बनाइसकेपछि नपढीकनै एउटा चाङको सबै फाइलमा सदर र अर्को चाङको सबै फाइलमा बदर लेख्न मौखिक आदेश गर्थे । उनलाई एउटा–एउटा फाइल अध्ययन गर्नमा न रुचि हुन्थ्यो न त्यत्रो समय नै थियो ! महाराजको आदेशमुताबिक निजी सचिव भरतसिंहले हरेक फाइलमा सदर र बदर लेखिदिन्थे र भोलिपल्ट फैसला सुनाइदिन्थे ।
महाराजको फैसला गर्ने यस्तो तरिकाका कारण सयौं निर्दोषले सजायँ पाउँथे त सयौँ चोर, डाँका, हत्यारा र अन्य अपराधी सजायँमुक्त हुन्थे । कतिपय साहुले पाउनुपर्ने ऋण र ब्याजको रकम मिनाहा भएर सडकमा पुग्थे भने ऋण लिएकाहरू रातारात महाजन बन्थे । महाराजको न्याय सम्पादन गर्ने यो गलत तरिकाको कारण राज्यमा ठूलो असन्तोष फैलियो । धेरै जना ब्रिटिश आवासीय भाइसरायकोमा उजुरी दिन पुगे । भाइसरायले तत्काल एक जना दिवान (प्राइम मिनिष्टर) नियुक्त गरे । र, भरतपुर राज्यको शासकमा निहित सम्पूर्ण अधिकार उनै दिवानलाई दिइदिए । नतिजा, अधिकारसम्पन्न शासकको रूपमा शासन गरिरहेका महाराज किशन सिंह अधिकारविहीन नाम मात्रको शासक बन्न पुगे । महाराजा शिक्षाप्रेमी भने थिए, उनले शिक्षामा सुधार निम्ति अनेक प्रयत्न गरे । त्यसै गरी स्वास्थ्यको क्षेत्रमा पनि उल्लेखनीय सुधार गरे । राज्यभित्रका विधवाहरूको हितार्थ काम गरे । सहकारी र बैंकिङ क्षेत्रमा पनि प्रगति गरे । यसको बाबजुद भारतमा शासन चलाइरहेको बेलायती सरकारले उनलाई सन् १९२८ मा राज्य छाड्न बाध्य पा¥यो । राज्यको ढुकुटी रित्याएको र कुप्रशासन चलाएको आरोप लगायो । भरतपुर प्रवेशमै रोक लगायो । केन्द्र सरकारको यो कदमबाट मनमा ठूलो चोट पुग्यो, उनले यसको विरोध पनि गरे । न्यायको लागि अन्तिमसम्म लडे । राज्यबाट निर्वासित भएको १६ महिनापछि सन् १९२९ मा निधन भयो ।
टिप्पणीहरू