सिरहाको पोखरी विवाद उत्कर्षमा

सिरहाको पोखरी विवाद उत्कर्षमा

शान्तिसुरक्षाको दृष्टिकोणले मधेश प्रदेशमा अति संवेदनशील मानिएको सिरहाको नवराजपुर गाउँपालिकाको सार्वजानिक पोखरी टेण्डर आह्वान विवाद उत्कर्षमा पुगेको छ । सार्वजानिक पोखरीहरूको दरभाउपत्र खोल्ने दिन साउन १५ गते नवराजपुर गाउँकार्यपालिकाका कर्मचारी र टेण्डर प्रक्रियाप्रति असन्तुष्ट पक्षबीच भिडन्त भएको थियो ।  

उक्त घटनामा गाउँपालिकाको आईटी शाखामा कार्यरत धर्मनाथ मण्डलको दाहिने हातको औँला भाँचिएको थियो । ट्रयाक्टर चालकहरू रामसागर राम, जनक यादव र सञ्जिव यादव घाइते भएका थिए । ७२ वर्षीय हरेराम यादवको भने हात भाँचिएको प्रहरीले जनाएको छ । 

उनै यादवका छोरा रोशनले दिएको सञ्जिव यादवविरूद्व ज्यान मार्ने उद्योगको जाहेरी इलाका प्रहरी कार्यालयमा दर्तापछि असन्तुष्ट पक्षले जाहेरी फिर्ता माग्दै प्रहरी कार्यालय घेराउ गरेर दुई दिनदेखि धर्ना दिएका हुन् । धर्नामा सहभागीहरूले हिजो प्रहरी कार्यालय अगाडि नै बसेर खाना खाएका थिए । 

उत्पन्न विवाद समाधान गर्न सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र  एसपी टेकुनन्द ईवा लिम्बुको उपस्थितिमा दुवै पक्षबीच छलफल हुन लागेको बताइएको छ । प्रमुख जिल्ला अधिकारी पाण्डेले भने, ‘सार्वजानिक पोखरी ठेक्का लगाउनु कानुनसम्मत हो । तर कानुन हातमा लिएर नागरिकको हातै भाँच्न पाईंदैन ।’

वडा नम्बर २ का वडाध्यक्ष सुरेशकुमार यादवले स्थानीय शिवराज यादव र सिरहाका नविनकुमार यादवको समूहले सोदीन गाउँपालिका घेराउ गरेर आक्रमण प्रयास गरेको बताएका छन । पूर्व गाउँपालिका प्रमुख विश्वमोहन यादव र हालका प्रमुख शिवउदगार यादवबीचको जुँगाको लडाईं कारण पछिल्लो घटना भएको बताइएको छ । 

विश्वमोहन नेपाली काँग्रेसका स्थानीय नेता हुन् भने शिवा जनता समाजवादीका नेता हुन् । अघिल्लो सथानीय चुनावमा शिवा विश्वमोहनसँग झिनो मतले पराजित भएका थिए । विश्वमोहन नेपाली काँग्रेसकी नेतृ चित्रलेखा यादवका सहोदर भाइ हुन् । 

विश्वमोहन पक्षले पालिका प्रमुख शिवाले गाउँपालिकको कोषबाट खाना, खाजा र जनही दैनिक पाँच सय रूपैयाँ भत्ता प्रदान गरेर प्रहरी कार्यालयमा धर्नाको कार्यक्रम राखेको आरोप लगाएका छन् । तर, शिवाले उक्त आरोपको खण्डन गर्दै भने, ‘यो सामन्तहरूको आरोप हो । सामूहिक रूपमा चामल उठाएर जनता स्वःस्फूर्त प्रहरी कार्यालयमा धर्ना दिन आएका हुन् । कानुन सबैका लागि बराबरी हुनुपर्छ । काखापाखा गर्न पाईंदैन । हाम्रा कर्मचारी पनि घाइते भएका छन् । उनीहरुको पनि जाहेरी दर्ता हुनुपर्यो ।’ 

विद्रोही राजनीतिकर्मीको परिचय बनाएका शिवाको नेतृत्वमा समूहले यसअघि पनि पतारी प्रहरी कार्यालय घेराउ गरेका थिए । विवादपछि प्रहरीले बसेरै पोखरीको टेण्डर खोल्न सहयोग गरेको थियो । एसपी लिम्बुले भने, ‘कानुन हातमा लिएर अराजक गतिविधि गर्न पाईंदैन । अराजकताविरूद्व प्रहरी कठोर रूपमा प्रस्तुत हुने छ ।’


 

टिप्पणीहरू