नेविसंघमा बढ्यो किचलो, अर्का दुई जनाले पनि स्वीकारेनन् जिम्मेवारी

नेविसंघमा बढ्यो किचलो, अर्का दुई जनाले पनि स्वीकारेनन् जिम्मेवारी
सुन्नुहोस्

नेपाली कांग्रेसको भातृ संगठन नेविसंघमा आन्तरिक विवाद चर्किदै गएको छ । विवाद बढ्दै गएपछि पछिल्लो समय मनोनित केन्द्रीय सदस्यहरुले धमाधम जिम्मेवारी अस्वीकार गर्न थालेका छन् । 

पछिल्लो पटक केन्द्रीय सदस्यद्धय एलिजा ढकाल र मुकेश घिमिरेले समितिमा नबस्ने घोषणा गरेका छन् । योगदानका आधारमा भन्दा पनि व्यक्तिगत निगाहमा पद बाँड्न थालिएको भन्दै उनीहरुले यस्तो निर्णय गरको जानकारी गराए । 

‘लामो समय रिक्त रहेको नेविसंघले पूर्णता पाउँदै गर्दा समावेशी समानुपातिक सिद्धान्तलाई नजरअन्दाज गरिनु र महिला सहभागिता एकदर्म न्यून हुनुले नेविसंघमा असमानताको अवस्था सिर्जना भएकोप्रति आदरणीय सभापतिको ध्यानाकर्षण गराउन चाहान्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘योगदान, क्षमता, कार्यकौशलता र पृष्ठभूमिको आधारमा भन्दा पनि व्यक्तिगत अनुकम्पामा नेतृत्व चयन गर्ने प्रणाली विकसित हुदैँ जाँदा आजको परिप्रेक्ष्यमा विद्यार्थी राजनीति प्रश्नको घेरामा पर्दै प्रतिरक्षाको संघारमा उभिएको छ ।’

गत साउन २२ गते सभापति शेरबहादुर देउवाले ७१० सदस्यीय नेविसंघ गठन गर्दा ढकाल र घिमिरे पनि केन्द्रीय सदस्यमा मनोनीत भएका थिए । तर, नेविसंघलाई यो दुष्चक्रबाट बाहिर ल्याउने जिम्मेवारी नयाँ पुस्ताको काँधमा आएको उल्लेख गर्दै उनीहरुले यसका लागि औपचारिक रुपमा कुनै अमुक पदमै बसिरहनुपर्छ भन्ने अनिवार्य शर्त नरहेको निष्कर्षसहित केन्द्रीय सदस्य नरहेको विज्ञप्तिमार्फत घोषणा गरेका हुन् । 

यसअघि केन्द्रीय सदस्यमा मनोनीत मनिष डंगोलले पनि पद अस्वीकार गरेका थिए । नेविसंघ काठमाडौंका अध्यक्षसमेत रहेका डंगोललाई हालै केन्द्रीय सदस्य मनोनीत गरिएको थियो । उनी माथिल्लो तहमा गएकाले अध्यक्ष रिक्त रहेको भन्दै नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले अंशुल केसीलाई काठमाडौं अध्यक्षको जिम्मेवार दिएका थिए । 

तर, डंगोलले राजनीतिक सहमतिलाई भंग गरेर हुकुमी शासन जसरी आफू काठमाडौं जिल्लाको अध्यक्ष पदमा बहाल रहँदारहँदै सल्लाहबेगर केन्द्रीय सदस्यमा मनोनीत गरेको भ्रमपूर्ण यथार्थलाई अस्वीकार गरेको बताएका छन्।

 

टिप्पणीहरू