राजाको शालिकमाथि यो कस्तो रमिता
एक कार्यकाल उपकुलपति र दुई कार्यकाल कुलपति चलाएर प्रज्ञा प्रतिष्ठानबाट बाहिरिएका गंगाप्रसाद उप्रेतीमाथि जाँदाजाँदै दोहोरो सुविधा लिएको, सदस्यहरूलाई आजीवन पोसेर राज्यकोषमा बार्षिक लाखौं व्ययभार थोपरेको र पूर्व राजा महेन्द्रको शालिक नै तोडमोड गरी आफ्नो नाम कुँदाएको आरोप लागेको छ । ५२ वर्षअगाडि नेपाल प्रज्ञा–प्रतिष्ठानमा स्थापना गरिएको पूर्वराजा महेन्द्रको शालिकमा पूर्वकुलपति उप्रेतीको नाम कुँदेको देखिन्छ ।
२०१४ सालमा राजा महेन्द्रले नै प्रज्ञा प्रतिष्ठान स्थापना गर्नुका अलावा त्यहाँ आफ्नो शालिक राख्न लगाई २०२७ असार ९ गते अनावरण गरेका थिए । सो शालिक अमर चित्रकारले बनाएको बताइन्छ । २०६२/६३ को जनआन्दोलनताका उक्त शालिक तोडफोड भयो । आन्दोलनकारीले खोजी खोजी राजाको शालिक फुटाउँदा निशानामा प्रज्ञा प्रतिष्ठानभित्र महेन्द्रको शालिक पनि पर्ने नै भयो ।
आन्दोलनकारीले शालिकको हात निकालेका थिए भने अन्य भागमा पनि क्षति पुर्याएका थिए । दोश्रो कार्यकालमा उनै उप्रेतीले पहिला राजकीय पोशाकमा रहेको शालिकको स्वरूपै परिवर्तन गरिदिए । प्रज्ञा–प्रतिष्ठानका कर्मचारी सुरेन्द्रकाजी सिन्दुराकारका अनुसार, पहिलाको शालिक राजदण्ड र श्रीपेचसहितको थियो । त्यसपछि अहिलेको शालिक फरक स्वरूपमा बनाइएको हो । पूर्ववत् अवस्थाको शालिकभन्दा फरक हुने गरी हात बाँधेको अवस्थामा बनाइएको छ भने पोशाकको स्वरूप नै परिवर्तन गरिएको छ । मर्मत गरेर पुरानै शालिक राख्न सक्ने अवस्था हुँदाहुँदै नाम खोप्नकै लागि नयाँ शालिक अनावरण गरिएको एक जना प्राज्ञ बताउँछन् ।
यसरी राख्दा पुरानो ताम्रपत्र हटाइएको छ । शालिक पुनःमर्मतको नाममा ०७५ साल भदौ १२ गते पुनः अनावरण गरिएको ताम्रपत्रमा खेपिएको छ । महेन्द्रको शालिक नयाँ बनाउन लगाएको र तामपत्रमा दिइएको सूचना पनि भ्रामक भएको प्रतिष्ठानका कर्मचारी बताउँछन् । अहिले राखिएको ताम्रपत्रमा लेखिएको छ, ‘तात्कालिक नेपाल राजकीय प्रज्ञा– प्रतिष्ठानअन्तर्गत निर्मित प्रज्ञा भवनको २०२७ असार ९ गते भएको समुद्घाटनका अवसरमा अनावृत्त यो प्रतिमा जीर्ण भएकाले प्रज्ञा भवन पुनर्निर्माण कार्यक्रम २०७४/२०७५ अन्तर्गत प्रतिमाको समेत नागरिक पोशाकमा पुनर्निर्माण गरी ०७५ भदौ १२ मा कुलपति गंगाप्रसाद उप्रेतीबाट पुनः अनावरण गरिएको छ ।’
यसरी पुरातात्विक सम्पदाको रूपमा परिभाषित भइसकेको शालिकको भौतिकस्वरूप पुरातत्व विभाग र शालिकको सिर्जनात्मक पक्ष शिलापत्र भने राष्ट्रिय अभिलेखालयमातहत पर्छ । जात्रैजात्राको शहर भक्तपुरमा जन्मे–हुर्केकी सौभाग्य प्रधानांग हालै मात्र राष्ट्रिय अभिलेखालयतिर महानिर्देशकको जिम्मेवारीमा पुगेकी छन् । आफ्नो रुची नै संस्कृति, सम्पदाप्रतिको चाख भएको बताउने उनले महेन्द्रको शालिकको संरचना परिवर्तन भएको सन्दर्भमा गुनासो सुनेको र अब त्यस विषयमा अध्ययन अनुसन्धान गर्ने प्रतिक्रिया दिइन् ।
१०० वर्ष पुराना पुरातात्विक वस्तुको अध्ययन पुरातत्व विभागले गर्ने भए पनि मर्यादा क्रममा रहेका राष्ट्रिय व्यक्तित्वको शालिक जुनसुकै बेला पनि हेर्न सक्ने व्यवस्था छ । शिलापत्र भने २५ वर्षमै राष्ट्रिय अभिलेखालयले अध्ययन गर्न पाउने प्रावधान छ । महेन्द्रको शालिक पुनर्निर्माण क्रममा प्राचीन स्मारक संरक्षण ऐन, अभिलेख संरक्षण ऐन र यीसँग सम्बन्धित नियमावली मिचेको पाइएकाले त्यसअनुरूप तत्कालीन कुलपति गंगाप्रसाद उप्रेतीलाई कारबाही हुन सक्ने देखिन्छ ।
पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवर साँस्कृतिक महत्वका सम्पदाहरू पहिला जुन स्वरूपमा थिए, त्यही हिसाबमा बनाइनुपर्ने, अन्यथा पुननिर्माण गरिँदा स्वरूप तोडमोड गरिए कानुनी कारवाही हुने बताउँछन् । प्रज्ञा प्रतिष्ठानमा रहेको महेन्द्रको शालिकको पुनः अनावरणका नाममा स्वरूप तोडमोड भएको विषयमा आफूहरूले अध्ययन गरेर मात्र भन्न सक्ने उनैले बताए ।
टिप्पणीहरू