साहित्यकला मन्दिरको नाम परिवर्तनसँगै मेघाको नेतृत्व

साहित्यकला मन्दिरको नाम परिवर्तनसँगै मेघाको नेतृत्व

विगत तीन दशकदेखि अनवरत नेपाली गीतसंगीत र साहित्यको क्षेत्रमा क्रियाशील ‘श्री लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर’ मा नयाँ कार्यसमिति छानिएको छ ।

संस्थाको वार्षिक साधारणसभाले वरिष्ठ गीतकार तथा साहित्यकार वसन्त चौधरीकी पुत्री मेघा चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । 

नयाँ कार्यसमिति उपाध्यक्षमा वरिष्ठ रंगकर्मी हरिहर शर्मा, महासचिवमा गीतकार तथा पत्रकार रमण घिमिरे र कोषाध्यक्षमा मनिषकुमार खेम्का निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरुमा डा.उषा ठाकुर, नारायणभक्त श्रेष्ठ (रायन) र राजेन्द्र सलभ छानिएको जानकारी दिइएको छ । 

आगामी चारवर्षे कार्यकालका लागि निर्वाचित नयाँ कार्यसमितिले आज पदभार ग्रहण गरेकोे छ । आफ्नै मातापिता लुनकरणदास चौधरी र उनकी पत्नी गंगादेवी चौधरीको नाममा २०५१ सालमा स्थापित साहित्यकला मन्दिरको संरक्षकमा कवि तथा गीतकार वसन्त चौधरी छन् ।

 यसअघि लामो समयसम्म उक्त मन्दिरको कार्यसमिति अध्यक्ष चौधरी नै थिए । आफ्ना मातापिताको नाममा स्थापित संस्थाको जिम्मेवारी उनले पुत्री मेघा चौधरीलाई सुम्पिएका हुन् ।

साधारणसभामा बोल्दै वसन्तले आफूले ३५ वर्षको हुँदा साहित्यकला मन्दिरको जिम्मेवारी वहन गरेको स्मरण गर्दै पुत्री मेघालाई सो जिम्मेवारी सुम्पिन पाएकोमा प्रसन्नता प्रकट गरेका थिए । ‘मेरी छोरीमा मभन्दा पनि राम्रो नेतृत्व क्षमता छ’ उनले भने, ‘वासना फैलाउने गुलाबको सुन्दर फूलझैं मेरी छोरीले पनि आफ्नो क्षमताले यो संस्थालाई समेत नयाँ उचाई दिनेछिन् भन्ने विश्वास छ । आगामी दिनमा अझ बढी सेवाको कार्य हुनेछ ।’

उनले ३० वर्षको अवधिमा साहित्यकला मन्दिरले १० दर्जन मूर्धन्य स्रष्टालाई सम्मान गरेको जानकारी दिए । उक्त संस्था मुलुकको साहित्य र कलाको क्षेत्रमा ३० वर्षदेखि अनवरत सक्रिय छ । साहित्य, संगीत, कला, पत्रकारिता, स्वास्थ्य, समाज सेवालगायत क्षेत्रमा संस्थाको कार्यक्षेत्र विस्तार गरिने र यो वर्ष नेपालको सबैभन्दा ठूलो राशिको पुरस्कार समेत स्थापना गरिने वसन्तले घोषणा गरेका छन् ।

साधारणसभाले साहित्यकला मन्दिरको नाम परिवर्तन गरी बृहत उद्देश्यसहित अगाडि बढ्ने एजेण्डा पारित गरेको छ । यसका लागि विधान संशोधनको प्रस्ताव समेत पारित भएको नवनिर्वाचित अध्यक्ष मेघाले जानकारी दिइन् ।

टिप्पणीहरू