ढाकाकुमार काटिएको स्टाटस लेख्ने सूर्यबहादुर समातिए

ढाकाकुमार काटिएको स्टाटस लेख्ने सूर्यबहादुर समातिए

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित निवर्तमान सांसद डा. ढाकाकुमार श्रेष्ठबारे मिथ्या खबर फैलाएका एक युवक प्रहरीको फन्दामा परेका छन् । ढाकालाई ‘धारिलो हतियार प्रयोग गरी घाइते बनाएको’ भनेर सामाजिक सञ्जालमा लेखेका स्याङ्गजाका सूर्यबहादुर रेग्मीलाई प्रहरीले पक्रेको छ । 

डा. ढाकाले कारबाहीको माग गर्दै कास्की प्रहरीमा उजुरी दिएपछि स्याङजा आँधीखोलाका ३५ वर्षीय  रेग्मीलाई आज पक्राउ गरेको प्रहरीले जनाएको छ । रेग्मीले केही दिनअघि ‘श्रेष्ठलाई अज्ञात समूहले उनकै निवास अगाडि धारिलो हतियार प्रयोग गरी घाइते बनाएको र उपचारको निम्ति मणिपाल शिक्षण अस्पताल लगिएको’ मिथ्या स्टाटस लेखेका थिए । 

रेग्मीले डाक्टरको हवाला दिँदै ढाकाको अवस्था चिन्ताजनक रहेको र थप समाचार आउन बाँकी भन्ने व्यहोरा आफ्नो फेसबुकमा राखेका थिए । उनलाई नियन्त्रणमा लिई विद्युतीय कारोबार ऐन, २०६३ विपरितको कसूर (साईबर अपराध) अन्तर्गत थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं उर्फ मार्सीसँग पार्टीको ’कोर टीम’ लाई बुझाउन दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि रास्वपाको कारवाहीमा परेका ढाकाले हालै एक केन्द्रीय सदस्यको नामसमेत सार्वजनिक गरेका थिए । त्यसलाई लिएर रास्वपाका समर्थकहरु उनीविरुद्ध तथानाम गालीगलौजमा उत्रिएका छन् ।

टिप्पणीहरू