स्वतन्त्रताका नाममा अरुमाथि किन अराजकता ?
अहिले तराईमा धार्मिक उन्मादको अवस्था ९६ डिग्रीमा पुगेको छ । ९६ र १०० भन्नु एउटैजस्तो भए पनि पानी उम्लिनका लागि १०० डिग्री पुग्नै पर्छ । उम्लिने अवस्थामा पुर्याउनका लागि हिन्दू र मुसलमान दुवैतर्फका अतिवादी मौकाको ताकमा देखिन्छन् । र, यसले भित्रभित्रै आकार ग्रहण गर्न लागेको छ । यसअघि नेपालगञ्ज र कपिलवस्तुमा दुवै समुदायका अगुवाले धार्मिक सद्भावका लागि महत्वपूर्ण भूमिका निभाउँदै आए पनि सामाजिक सञ्जालमा गैरजिम्मेवार नेता तथा स्वघोषित सामाजिक अभियन्ताको प्रदर्शित क्रियाकलापले हिंसात्मक घटनालाई निम्त्याएझैं लाग्छ । मध्यपहाडी क्षेत्रमा गोरु काण्डमार्फत विस्तारै क्रिश्चियन र हिन्दूबीच तुष फैलाइँदैछ ।
गत शनिबार कृष्ण जन्माष्टमीको दिन सर्लाहीको मंलगवामा मूर्ति सेलाउन गएको हिन्दू अतिवादीको भीडले होहल्ला र ढुंगामुढा गरेपछि मुस्लिम बस्ती प्रतिकारमा ढुंगामुढासहित उत्रियो । त्यसबेला अतिवादी हिन्दूको भीडले मस्जिदमाथि चढेर भत्काउन खोजेपछि स्थिति नियन्त्रणबाहिर जाने सम्भावना बढ्यो । स्थिति सामान्य हुन नसके ठूलो हिंसा भड्किने सम्भावना अझै पनि उस्तै छ । तनाव कम हुन सकेको छैन । प्रहरीले बेलैमा कफ्र्यु नलगाएको भए हिंसात्मक गतिविधिले धेरैको उठिबास हुन सक्थ्यो । धरानपछि झापामा फेरि गोरु काटेर भोजभतेर गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ । नेपालको तराई भेगमा दुई वर्षदेखि ‘हिन्दू सम्राट सेना’को नाममा अतिवादीहरूले विभिन्न क्रियाकलाप सञ्चालन गरिरहेका छन् र उनीहरूले महोत्तरीका मस्जिदमा सुंगुरको पाठा हुलिदिनेलगायत गतिविधि गरेका छन् । ती विदेशी अतिवादीबाट दीक्षित र उक्साहटमा लागेका देखिन्छन् । यसले धार्मिक उन्मादको चपेटा र जातीय द्वन्द्वको भुमरीमा नेपाललाई नफसाउला भन्न सकिन्न । बहुसंख्याको दाबी गर्नेहरू संयमित हुन नसक्दा अल्पसंख्यक, सीमान्तकृत र लोपोन्मुखले असुरक्षाको अनुभूति गर्नु स्वाभाविक हो ।
राष्ट्रिय जनगणनाको प्रतिवेदनमा धार्मिक आस्था राख्नेहरूको प्रष्ट जनसंख्या स्पष्ट हुन सकेको छैन । केन्द्रीय तथ्यांक विभाग यहींनेर कुहिराको काग बनिरहेको अवस्था छ । बहुसंख्यकले अरुलाई सँगै लिएर राजनीति र समृद्धिको धारमा जबसम्म सँगै हिंडाउने व्यवहारिक क्षमता प्रदर्शन गर्दैनन्, तबसम्म धमिलो पानीमा माछा मार्ने साम्प्रदायिक तथा धार्मिक उन्मादमा आफ्नो भविष्य देख्ने र होलीवाइनमा रमाउनेहरूको चलखेल बढिरहन्छ । आफूबाहेक अरुको अस्तित्वलाई पुरै निमिट्यान्न पार्न उद्यत अतिवादी सोचका कारण जताततै अराजकता फैलिएको छ । उदाहरणका लागि काठमाडौंका मेयर बालेन साह पितापुर्खाले बनाइदिएको सिंहदरबारमा आगो झोस्ने अनि नेताहरूलाई सिसडोलमा डम्पिङ गर्ने बकितम र लिखितम गरिरहेकै छन् । ताप्लेजुङबाट कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने माननीय खगेनसिंह हाङसामले नेपाली कांग्रेसको सरकार बन्नेबित्तिकै नागरिक सुरक्षाको जिम्मेवारी लिएर बसेको डिएसपीलाई बर्दी खोलेर लाप्पा खेल्ने चुनौती दिनु र सन्तानकै बिउ मास्ने घोषणा गर्नुले के संकेत गर्छ ?
जनताले यिनीहरुबाट कस्ता कानुन बन्ने अपेक्षा राख्नु ! यस्ताले बनाएको कानुन कस्तो हुनु ? जनताको रगत पसिनाको करमा पेन्सन खाने पूर्वसचिव भीम उपाध्यायहरू यस्ता घटनाको आगोमा घिउ थपेर पूरै नेपाल डढाउन खोज्छन् । वसुधैव कुटुम्बकम् भन्नुपर्ने राधिका दासहरू एक मिनेटमै धरान सिध्याउने सार्वजनिक भाषण गर्दै धर्मभीरुलाई उत्तेजित तुल्याउँछन् । अरु त अरु, नेताहरुसमेत संविधानको धज्जी उडाउँदै आवश्यक परे नेपाललाई हिन्दू राष्ट्र बनाउन छिमेकबाट नागा र धार्मिक सेना ल्याउने भनी कुर्लन्छन् । सामाजिक सञ्जाल खोलेर हेर्ने हो भने अराजकहरूको भीडमा टप्परटुइयाँदेखि पढे÷लेखेको हुँ भन्नेसम्म देखिन्छन् । कर तिर्नेदेखि करमा तर मार्नेहरुसम्म भाइरल हुने फोबियाले ग्रस्त भेटिन्छन् । भाइरलफोबियाका यस्ता बिरामीलाई बेलैमा सम्झाइबुझाइ नगर्ने हो भने आगामी दिनमा देशमा साम्प्रदायिक र धार्मिक बिरामी फैलिन सक्ने भविष्यवाणी गर्न कोही चाहिँदैन ।
डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदा बालकृष्ण ढुंगेललाई पक्राउ गर्न जाने प्रहरीलाई ठाडै चुनौती दिँदै ‘सक्छस् भने लौ मलाई पक्रेर देखा’ भनिएको थियो । ईश्वर पोखरेल रक्षामन्त्री हुँदा आफैं ‘लकिरको फकिर’ भन्दै सेनालाई उडाइयो । केपी शर्मा ओलीले आफैँ सरकारको नेतृत्व गरेका बखत आफ्नै सरकारविरुद्ध दरबारमार्गमा प्रदर्शन गराएकै हुन् । यस्तै यस्तै गैरजिम्मेवारीपनका कारण रवि लामिछाने, ज्ञानेन्द्र शाही र डा. सुरेन्द्र केसीहरू भाइरल बन्न कस्सिएका हुन् । यिनका बोलीवचन सुन्दा अतिवादीहरू ताली पिट्छन् भने विरोधीहरू आमाचकारी गाली लेख्ने र ठाडै भिडन्तको निम्ति ओर्लन्छन् । जब राज्यको जिम्मेवार निकायमा हुनेहरु नै गैरजिम्मेवार र अराजक गतिविधिमा रमाउँछन्, तब भुरेटाकुरेहरूलाई सराप्नु र कानुनी दायरामा ल्याउनुको कुनै तुक हुँदैन । सामाजिक सद्भावविरुद्ध अभिव्यक्ति दिने र कानुनमाथि चुनौती दिनेलाई जब राज्यका जिम्मेवार निकायले कार्वाहीको दायरामा ल्याउन सक्दैनन्, त्यो अवस्था झनै खतरनाक हुन्छ ।
हो, धर्म व्यक्तिगत आस्थाको कुरा हो, आ–आफ्नो धर्म मान्न सबैले पाउनुपर्छ । आफ्नो स्वतन्त्रता उपभोग गर्ने नाममा अरुको आस्थामाथि चोट पुर्याउनु भएन । धार्मिक सद्भाव र सहिष्णुता कायम भयो भने मात्रै देश अघि बढ्छ । एकल जातीय र धार्मिक सोचले देशलाई समृद्ध बनाउन सकिँदैन । आगोमा घिउ थप्दा आफ्नो भविष्य देख्ने कुनै पनि अतिवादी धेरै समय टिक्न सक्दैनन् । किनभने असलियत आउन अहिलेको संसारमा कुनै आइतबार पर्खनु पर्दैन ।
टिप्पणीहरू