ह्याप्पी बर्थ डे संविधान

ह्याप्पी बर्थ डे संविधान

आज संविधानको जन्म दिन । ह्याप्पी बर्ड डे संविधान ! २०७२ सालमा भूकम्प आएर हजारौं मानिस मरिरहेको बेला यो संविधानको जन्म भएको थियो । तर जसै संविधानको जन्म भयो देशमा फेरि अर्को भूकम्प आइदियो । देशभरि आन्दोलन, हाहु, नाकाबन्दीसमेत भयो ।

अवस्था यस्तो भइदियो कि भर्खर जन्मेको संविधान बाँच्ने हो कि होइन भन्नेसमेत शंका उठ्यो । यसरी दुःखपूर्वक जन्म भएको कारणले संविधानलाई राम्ररी खानपान गराउनसमेत सकिएन । यसले गर्दा अहिले संविधान कुपोषणको शिकार भएको छ । त्यसैले यो संविधान अहिले बिरामी छ । बिरामी भएकोले सुस्त छ । सुस्त भएकोले राम्ररी चल्न सक्दैन । राम्ररी हिँडडुल पनि गर्न सक्दैन ।

शायद राम्ररी हिँडडुल गर्न नसकेकै कारणले होला, अहिले संविधान त्यति बाहिर निस्केको पनि देखिँदैन । धेरै मानिस त्यस्ता छन् जसले अहिलेसम्म संविधान देखेकै छैनन् । देखुन् पनि कसरी ? कहिल्यै बाहिर आएको भए पो ।

अहिले त संविधान त्यही सर्वाेच्च अदालतको बरण्डातिर यताउति डुलिरहेको देखिन्छ, त्यत्ति हो । त्यहाँ चाहिँ यसको नाम लिने गरिन्छ । अरुतिर यसको खास काम छैन । हिसाबले त यो शहर, गाउँ घुम्दै फिर्दै गर्नुपर्ने थियो । तर कसरी गर्छ ? कतै जान सक्ने अवस्था भए पो ! 

जे होस्, आज संविधानको जन्म दिन । संविधानको पूर्ण स्वस्थता र दीर्घायुको कामना गर्दै फेरि एक पटक ह्याप्पी बर्थ डे । 
 

टिप्पणीहरू