पहिरोले म्याग्दीका स्थानीयको बिल्लीबाठ, मासु पर्खँदा जोगियो एक परिवार

पहिरोले म्याग्दीका स्थानीयको बिल्लीबाठ, मासु पर्खँदा जोगियो एक परिवार

म्याग्दीमा लगातार भएको वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । पहिरोले घर लगेपछि स्थानीयको बिचल्ली भएको छ । मासु खान पर्खिदा एक परिवार भने जोगिएको छ । 

मंगला गाउँपालिका वडा नम्बर ३,बरंजा घाम्ताङका शेरबहादुर दमै घरनजिकै रहेको मासु काट्ने ठाउँ पुगेर घर मात्रै फर्किएका थिए । दोस्रो त्रैमासिक परीक्षाको तयारीमा लागेका कक्षा ९ मा पढ्ने शेरबहादुरका १४ वर्षीय छोरा विवेक भने घरको दोस्रो तलाबाट कराउँदै तल ओर्लिए । 

रातको झण्डै ९ बजेतिर घरमाथिको पाखोबाट ढुङ्गा खस्न थालेपछि तल झरेका विवेकको कुरा कसैले पत्याएनन् । शेरबहादुरले टर्च बालेर घरबाहिर हेरे,उनलाई पाखो हिँडेजस्तो लाग्यो । त्यसपछि स–परिवार भागेर सुरक्षित स्थानमा पुगे । 

गत असोज १६ गते राति वर्षाका कारण पहिरो खस्दा घर पुरिएर ४६ वर्षीय शेरबहादुरको परिवार बिचल्लीमा परेको छ । घरलाई दुईटा ठूला ढुङ्गाले किचेको छ । शेरबहादुर र मनकुमारीका चार छोरा, दुई बुहारी र एउटा नातिले आश्रय लिइरहेको घर ध्वस्त भएको छ । घर कहाँ थियो,अनुमान लगाउन पनि मुश्किल पर्छ । 

उनीहरुसँग शरीरमा भएको लुगाबाहेक अरु केही पनि छैन । सो दिन मासु लिन पुगेका शेरबहादुर बेलैमा नफर्किएको भए ठूलै दुर्घटना हुने थियो । मासु काट्न समय लाग्ने भएपछि उनी त्यत्तिकै फर्किएका हुन् । विवेकले पहिरो आयो भन्दै कराएको केही समयपछि नै सबै ध्वस्त भइहाल्यो । 

पहिरोले घरसँगै गोठ पनि लगेको छ । ‘सबै जना केही पनि नबोकी भागेर घरभन्दा झण्डै २० मीटर टाढा पुग्दा घर माथिको पाखोबाट आएको ठूलो ढुङ्गा गोठ भत्काउँदै आएर बजारियो । घरमा भएका सबै सामान त्यही चेपिए’,मनकुमारीले गहभरी आँशु पार्दै भनिन् । 

उनको २४ वर्षको जेठो छोरा विदेश छ । २१ वर्षको माइलो, १७ वर्षको साइँलो र १४ वर्षको कान्छो छोरा, दुई बुहारी र नातिलाई कहाँ राख्ने भन्ने चिन्ताले शेरबहादुरलाई पिरोल्न थालेको छ । ‘भएको सबै पुरियो, के खाने–लाउने र कहाँ बस्ने भइरहेको छ’, उनले भने । 

घरछेउ खोरमा रहेको दुई वटा हाँस र बाख्रा जोगिएका छन् । गोठमा भएको एउटा भैंसी, गोरु र राँगो त्यही किचिए । हाल उनीहरु आमा समूहको भवनमा बसेका छन् । पहिरो पीडित शेरबहादुरलाई स्थानीय रनबहादुर रोकाले चामल, दाल, नुन, तेललगायतका खाद्य सामग्री उपलब्ध गराएका छन् । 

त्यस्तै, वाइसीएल म्याग्दीले त्रिपाल, लत्ताकपडाको व्यवस्था गरेको छ । वाइसीएलले १२ हजार ६ सय रुपैयाँ, वडाध्यक्ष यामबहादुर रोकाले तीन हजार रुपैयाँ, महेन्द्ररत्न माध्यमिक विद्यालयले १४ हजार २१० रुपैयाँ सहयोग गरेको छ ।
 

टिप्पणीहरू