कान्तिपुरविरुद्ध अनिश्चितकालीन आन्दोलन घोषणा
नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपका श्रमजीवी पत्रकार तथा कर्मचारीको पक्षमा आन्दोलनको घोषणा गरेको छ । श्रमजीवी पत्रकार ऐनअनुसार पत्रकारले उठाएका जायज माग यथाशीघ्र सम्बोधनका लागि दबाब दिन महासंघले अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको हो ।
भोलि दिउँसो ३ देखि ४ बजेसम्म थापाथलीस्थित कान्तिपुरको कार्यालयबाहिर एक घण्टा धर्ना दिइने महासंघले जनाएको छ । धर्ना कार्यक्रम पत्रकारका माग पूरा नभएसम्म जारी रहने महासंघको भनाई छ ।
महासंघले आज विज्ञप्ति जारी गर्दै व्यवस्थापन पक्षले निष्कासन गरेका ८२ पत्रकारको पुनर्बहाली गर्न आग्रह गरेको छ । त्यस्तै, अनधिकृत सरुवा बदर गर्न र श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन गर्न महासंघले भनेको छ ।
‘कान्तिपुर मिडिया ग्रुपमा लामो समयदेखि उब्जिएको श्रमजीवी पत्रकारको समस्याका सवालमा पछिल्लो समय कान्तिपुरको व्यवस्थापन पक्ष र पत्रकारका प्रतिनिधिबीच भएको सहमतिलाई बहुसंख्या पत्रकारले अस्वीकार गरेपछि श्रमजीवी पत्रकार ऐनअनुसार पत्रकारले उठाएका जायज माग यथाशीघ्र सम्बोधनका लागि दबाब सिर्जना गर्न महासंघले आन्दोलनको घोषणा गरेको हो’, विज्ञप्तिमा उल्लेख छ ।
महासंघले काठमाडौं उपत्यकास्थित आफ्ना सबै शाखाका पदाधिकारी, सदस्य तथा विभिन्न सञ्चारगृहमा कार्यरत श्रमजीवी पत्रकार, पत्रकार संघसंगठनका प्रतिनिधिलाई धर्नामा सहभागी हुन आह्वान गरेको छ ।
टिप्पणीहरू