मोटरसाइकललाई ठक्कर दिएपछि विद्युतीय गाडी सडक छेउको नालीमा, एक जनाको मृत्यु
काभ्रेपलाञ्चोकमा आज बिहानको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
पनौती नगरपालिका ५ सुन्दरबस्तीमा काठमाडौंबाट ईलामतर्फ जाँदै गरेको बा.६४ प १७७२ नम्बरको मोटरसाइकललाई पछाडिबाट आउँदै गरेको बा.प्र. ०३–००१ ज ०२९८ नम्बरको विद्युतीय गाडीले ठक्कर दिएको बताइन्छ ।
ठक्करपछि भाग्ने क्रममा विद्युतीय गाडी सडक छेउको नालीमा खस्दा उक्त गाडीभित्र रहेका र मोटरसाइकलका चालक तथा यात्रु गरेर चार जना घाइते भएका हुन् । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
गाडीमा रहेकी वर्ष २० की रमिला बुढाथोकी धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । वर्ष २३ की पुष्पा तामाङको टाउकोमा चोट लागेको छ भने ५१ वर्षे टंकप्रसाद दाहालको पनि टाउकोमा चोट लागेको छ ।
मोटरसाइकल चालक ४० वर्षे रामकुमार राईको ढाडमा चोट लागेको छ भने पछाडि बसेकी निजकी श्रीमती ३९ वर्षे प्रविशा सुनुवारको गोडामा चोट लागेको बताइन्छ ।
दुबै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विद्युतीय गाडी चालक पनौती ५ का ४१ वर्षे उपेन्द्र थापालाई पनि नियन्त्रणमा लिएर आवश्यक सोधपुछ थालिएको प्रहरीले बताएको छ ।
टिप्पणीहरू