चर्को मूल्यमा सामान बेच्ने एयरपोर्टभित्रको एउटा पसल बन्द

चर्को मूल्यमा सामान बेच्ने एयरपोर्टभित्रको एउटा पसल बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विमानस्थलभित्र सञ्चालित एउटा पसल बन्द गरेको छ । तोकिएको भन्दा बढी मूल्यमा सामान बेचेको आरोपमा कार्यालयले कार्की मल्टिपल ट्रेड एण्ड सप्लायर्स बन्द गरेको हो । 

गत कात्तिक ४ गतेदेखि उक्त सप्लायर्स बन्द गरिएको कार्यालयको कर्पोरेट महाशाखा प्रमुख नारायणदेवी श्रेष्ठले बताइन् । महाशाखाले कात्तिक ३ गते उक्त सप्लायर्सलाई पत्राचार गरी कात्तिक ४ गतेदेखि पसल सञ्चालनार्थ जारी भएका सबै विमानस्थल निषेधित क्षेत्र अनुमति प्रवेश पास निष्क्रिय गर्ने जानकारी गराउँदै  बन्द गर्न निर्देशन दिएको थियो ।  

‘मिति २०८०–०७–०४ गते जारी भएका सबै विमानस्थल निषेधित क्षेत्र अनुमति प्रवेश पास निष्क्रिय गरिनेछन् । अतः तोकिएको म्यादभित्र पसल बन्द नगरी यस पत्र तथा मिति २०८०–०६–१७ को पत्रलाई अवज्ञा गरी पसल सञ्चालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने’, पत्रमा उल्लेख छ । 

महाशाखाले त्यसअघि नै बक्यौता चुक्ता गरेर पसल बन्द गर्न भन्दै सप्लायर्सलाई पत्र पठाएको थियो । असोज १७ गते दिइएको १५ दिनको म्याद कात्तिक ३ गते सकिएलगत्तै महाशाखाले पसल बन्द गर्न निर्देशन दिएको हो । 

प्रमुख श्रेष्ठका अनुसार उक्त सप्लायर्सविरुद्ध परेको मुद्दाको फैसलाबमोजिम पसल बन्द गराइएको हो । ‘त्यो सप्लायर्सविरुद्ध मुद्दा थियो । त्यसको फैसला बमोजिम पसल बन्द गरिएको छ । मुद्दाको बारेमा ठ्याक्कै थाहा छैन् । हामीले फैसला कार्यान्वयन गराएको हौं । पसल बन्द भइसकेको छ’, उनले भनिन् । 

उपभोक्तासँग मनोमानी ढंगले सामानको रकम असुली गर्ने कार्की मल्टिपल ट्रेड एण्ड सप्लायर्सलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले गत वर्ष लाखौं रुपैयाँ जरिवाना तिराएको थियो ।

 

टिप्पणीहरू