भरतपुर अस्पतालमा ११ हजार बढी सुत्केरी, टीकाको दिन २० शिशुको जन्म

भरतपुर अस्पतालमा ११ हजार बढी सुत्केरी, टीकाको दिन २० शिशुको जन्म
सुन्नुहोस्

प्रसुती सेवाका लागि ख्याति कमाएको चितवनको भरतपुर अस्पतालमा सुत्केरी हुने आमाहरुको संख्या बढेको छ । 

आर्थिक वर्ष २०७९–८० मा अस्पतालमा ११ हजार ८९४ जना सुत्केरी भएका छन् । त्यस्तै, दशैंको टीकाको दिन मात्रै २० शिशुको जन्म भएको छ । सबैतिर टीका लगाइरहँदा भरतपुर अस्पतालमा भने सुत्केरी हुने महिलाको चाप थियो । 

अस्पतालले बिदामा पनि स्वास्थ्यकर्मी खटाएर प्रसुती सेवा दिएको हो । दशैं बिदा भएकाले अन्य दिनको विवरण निकाल्न नसकिएको अस्पतालका तथ्याङ्क ईकाइ प्रमुख नारायण रिजालले बताए । अस्पताल आएर प्रसुती सेवा लिनेको संख्या प्रत्येक वर्ष बढ्दै गएको उनको भनाइ छ । 

भरतपुर अस्पताल मुलुकको नामी अस्पतालमा पर्दछ । चितवन र वरपरका आठ जिल्लाका लाखौंं सेवाग्राहीलाई अस्पतालले प्रत्यक्ष सेवा पुर्याउँदै आएको छ । काठमाडौंको प्रसुती गृहपछि दोस्रो ठूलो प्रसुती अस्पताल रहेको भरतपुर अस्पतालमा २४ सैं घण्टा अप्रेसन सुविधाको व्यवस्था गरिएको छ । 

त्यस्तै, अस्पतालमा वरिष्ठ फिजिसियनहरु कार्यरत छन् । दैनिक ४० देखि ४५ जना महिलाले अस्पतालबाट प्रसुती सेवा लिँदै आएका छन् । गर्भवतीले परीक्षण निजी अस्पतालमा गराउने भएपनि बच्चा जन्माउन भने भरतपुर अस्पताल नै आउने गरेका छन् । 

जनचेतनामा अभिवृद्धि र सरकारी सहयोगका कारण पछिल्लो समय स्वास्थ्य संस्थामा गएर प्रसुती गराउने महिलाको संख्या बढ्दै गएको छ । स्वास्थ्य संस्थामा गएर प्रसुती गराउनु सुरक्षित हुनुको साथै शिशु मृत्युदरमा समेत कमी आएको छ ।


 

टिप्पणीहरू