भिटामिन खुवाउन सरकारी आह्वान, पोषणविज्ञद्वारा खानामा जोड

भिटामिन खुवाउन सरकारी आह्वान, पोषणविज्ञद्वारा खानामा जोड
सुन्नुहोस्

आज र भोलि मुलुकभरका साना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईंदै छ । हरेक वर्ष कात्तिक २ र ३ गते सञ्चालन गर्दै आइएको भिटामिन ‘ए’ कार्यक्रम यो वर्ष दशैंका कारण दुई साता पछि सरेको हो । 

बालबालिकालाई भिटामिन ‘ए’ को कमी नहोस् भनेर क्याप्सुल खुवाइन्छ । तर, हाम्रै वरपर भिटामिन ‘ए’ प्रचुर मात्रामा पाइने खानालाई भने अपहेलना गरिएको पोषणविद्को भनाई छ । सुलभ रुपमा उपलब्ध हुने भिटामिन ‘ए’ का स्रोत भएका खानातर्फ कसैको नजर नगएकोतर्फ डा. अरुणा उप्रेतीले औंल्याइएकी छन् ।

विदेशमा ‘सुपर फुड’ अर्थात् अति उत्तम खाना मानिने लट्टेको सागलाई नेपालमा धेरैले वास्ता गरेको पाइँदैन । लट्टेको सागमा विभिन्न पोषण तत्वहरु पाइन्छ । फलाम, क्याल्सियम, भिटामिन ‘ए’ र ‘सी’, फोलिक एसिड, प्रोटिन यसमा प्रचुर मात्रामा हुन्छ । 

तराई तथा भित्री मधेशमा यसलाई ‘रामदाना’ पनि भनिन्छ । पहाडी क्षेत्रमा ‘लट्टे’ र कर्णालीमा ‘मार्से’को नामले चिनिने यो सागलाई मधेशका कतिपय ठाउँमा ‘गेन्हारी’ पनि भनिन्छ । लट्टेमा गहुँभन्दा बढी रेसादार र लौहतत्व भएको सागपात हो ।लट्टेको दाना भुटेर तरकारीसँग खान सकिन्छ । त्यस्तै, गहुँको पिठोमा मिसाएर स्वस्थकर रोटी बनाउन पनि मिल्छ । लट्टेको साग अन्य सागझैं भुटेर खाँदासमेत मिठो हुन्छ । यसको पिठोको सुप बनाएर पिउन सकिन्छ । 

अर्को पोषणको भण्डार करी पत्तामा छ । तर, अधिकांशलाई करी पत्ताको बारेमा जानकारी छैन । रेसादार पात भएका करी पत्तामा पर्याप्त मात्रामा लौहतत्व र भिटामिन ‘ए’ पाइन्छ । त्यस्तै, यो क्याल्सियम, फस्फोरस र फोलिक एसिडले भरिपूर्ण हुन्छ । रतन्धो हटाउन करी पत्ताले निकै सहयोग पुर्याउने उनले सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् । 

गर्भवती र सुत्केरीका लागि निकै हितकारी मानिने करी पत्ताले मेरुदण्ड राम्ररी विकसित नहुने समस्यालाई पनि जोगाउँछ । काठमाडौंको दक्षिणी भेगमा यसलाई ‘पैनामती’ र ‘असारे’ भनिन्छ । असारमा पाक्ने यसको दाना पनि खान मिल्छ । पानीमा यसलाई उमालेर कागतीको रस र बिरे नुन हालेपछि स्वादिष्ट पेय पदार्थ बन्छ । दक्षिण भारत र श्रीलंकामा करी पत्ताको अत्यधिक प्रयोग गरिन्छ । धेरैजसो खानेकुरामा करी पत्ता हालिन्छ । 

अर्कोतर्फ पोषणले भरिपूर्ण सिस्नोबारे नसुन्ने सायदै कोही होलान् । गाउँघरमा प्रायःजसो आर्थिक विपन्न परिवारको भान्छामा सिस्नाकै तरकारी पाक्छ । प्राचीनकालदेखि नै औषधीय गुणयुक्त वनस्पतिको रुपमा चिनिने सिस्नोमा भिटामिन ‘ए, सी, के र बी’ धेरै पाइने डा. उप्रेतीको भनाई छ ।

तर, पछिल्लो समय सिस्नो खानाको रुपमा देखिन छाडेको छ । कुनै बेला गरिबको खानाको रुपमा परिचित सिस्नो स्वास्थ्यका लागि निकै लाभदायक वनस्पती हो ।

टिप्पणीहरू