यसकारण पुगे टिकटक सिंगापुरका प्रनिनिधि सिंहदरबारमा

यसकारण पुगे टिकटक सिंगापुरका प्रनिनिधि सिंहदरबारमा
सुन्नुहोस्

गृह मन्त्रालयले टिकटकमार्फत् अश्लील सामग्री राख्नेलाई कानूनी दायरामा ल्याउने प्रक्रिया अघि बढाएको छ ।

टिकटकमा सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्धेष फैलाउने, विशिष्ट व्यक्तिको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील खालका गतिविधि तथा सामग्री राख्नेजस्ता कार्य गर्ने व्यक्तिलाई कानूनी कारबाहीको दायरामा ल्याउन मन्त्रालयले प्रक्रिया अघि बढाएको छ ।

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सामाजिक सञ्जालको दुरुपयोग रोक्न त्यसमा प्रकाशन वा प्रसारण हुने गैरकानूनी सामग्री स्वतः हटाउने व्यवस्था मिलाउन र दोषीउपर कानूनबमोजिम कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्यूरोलगायत सरकारी निकाय र टिकटकको कार्यालय सिंगापुरबीच सहकार्य बढाउने सहमति भएको छ । सोही उद्देश्यले अस्ति गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सुरक्षा निकायलगायतका सरकारी निकाय एवम् टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिहरुबीच छलफल भएको जनाइएको छ ।

छलफलबाट टिकटकमार्फत गैरकानूनी सामग्री हटाउन र त्यस्ता कार्य गर्ने व्यक्ति पत्ता लगाई कानूनी कारबाहीको दायरामा ल्याउन सहज भएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले जिम्मेवार नागरिकको रुपमा कानूनसम्मत शिक्षामूलक र सामाजिक सद्भाव नबिगार्ने सामग्री मात्र प्रकाशन, प्रसारण गरी असल नागरिकको भूमिका निर्वाह गर्न र गैरकानूनी कार्य गरेबापत हुने कानूनी कारबाहीबाट बच्न पनि सचेत गराएको छ ।

टिप्पणीहरू