भूकम्पले १३ जिल्लाका ३५ हजार बढी घरमा क्षति,१४ सरकारी कार्यालय प्रभावित
गत शुक्रवार राती जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाई गएको भूकम्पबाट झण्डै साढे ३५ हजार घरमा क्षति पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको विपद पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका १२ जिल्लामा भूकम्पले घर भत्किएका छन् ।
आज बिहानसम्मको विवरणअनुसार १७ हजार ७९२ वटा घर पूर्णरूपमा र १७ हजार ५२९ घरमा आंशिक क्षति पुगेको छ । जसमा सबैभन्दा धेरै रुकुम-पश्चिममा ९ हजार ९६१ घरमा आंशिक र १६ हजार ५७० घर पूर्ण क्षति भएको छ ।
जाजरकोटमा १ हजार १७० घर ध्वस्त हुँदा ७ हजार १६६ घरमा आंशिक क्षति पुगेको छ । रुकुम-पूर्वमा १८२, सल्यानमा ९७ र रोल्पामा ८३ घरमा आंशिक क्षति भएको छ । ती जिल्लाका क्रमश: २, २५ र १७ घर पूर्णरुपमा क्षति भएका छन् ।
त्यसैगरी, प्युठानमा ३१, दाङमा ७, नवलपराशी र दैलेखमा १-१ घर आशिक क्षति भएका छन । जुम्लामा ५, दैलेख, बैतडी र कालिकोटमा १-१ घर पूरै भत्किएको छ ।
शाखाका अनुसार हालसम्म भूकम्पमा परी १५३ जनाको ज्यान गुमेको छ भने घाइतेको संख्या ३६४ पुगेको छ । जाजरकोटमा सबैभन्दा धेरै मानवीय क्षति भएको छ । त्यहाँ १०१ जनाको मृत्यु हुँदा १४५ घाइते छन् । त्यसपछि रुकुम-पश्चिममा ५२ जनाले ज्यान गुमाएका छन् भने २०० जना घाइते भएका छन् ।
जुम्लामा ६, दैलेख, बैतडी र प्युठानमा ३-३, सल्यानमा २, रोल्पा र कालिकोटमा १-१ जना घाइते भएको शाखाले जनाएको छ।
भूकम्पले सरकारी संरचनामा पनि आंशिक क्षति पुर्याएको शाखाको विवरणमा उल्लेख छ । जसमा अछामका ६, रुकुम-पूर्वका ४, रोल्पाका २, जुम्ला र प्युठानका १-१ गरी १४ सरकारी कार्यालयमा आंशिक क्षति पुगेको जनाइएको छ ।
भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण आउने क्रम जारी छ ।
टिप्पणीहरू