पाटन अस्पतालका डाक्टरहरु कालोपट्टी बाँधेर चमेना गृह अगाडि

पाटन अस्पतालका डाक्टरहरु कालोपट्टी बाँधेर चमेना गृह अगाडि

पाटन अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आज पनि आन्दोलन जारी राखेका छन् । चार दिनदेखि विरोध प्रदर्शनमा रहेका उनीहरुले आज कालोपट्टी बाँधेर अस्पतालको चमेना गृहबाहिर धर्ना दिएका हुन् । 

चिकित्सकमाथि हातपात गरेको विरोधमा डा. सुजन काफ्लेको नेतृत्वमा भएको धर्नामा झण्डै दुई दर्जन आवासीय चिकित्सकहरुको उपस्थिति रहेको छ । उनीहरुले दोषीलाई कारबाही गर्न र स्वास्थ्यकर्मीविरुद्ध हिंसा रोक्न माग गरेका छन् । 

गत शनिबार अस्पतालमा उपचाररत दुई बिरामीको शंकाश्पद निधन भएको थियो । जेष्ठ नागरिक वार्डमा भर्ना गरिएका दुई बिरामी इञ्जेक्सन दिएलगत्तै बितेपछि शंकाश्पद मानिएको हो । चिकित्सकले गलत औषधि दिएका कारण उनीहरुको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गरेका थिए ।

त्यसको विरोधमा चिकित्सकहरु मंगलबारदेखि आन्दोलनमा उत्रिएका हुन् । डाक्टरहरुको धर्नाले हिजोसम्म सेवा प्रभावित भएकोमा आज भने ओपिडीबाट टिकट वितरण भइरहेको जनाइएको छ ।
 

टिप्पणीहरू