इन्डोस्कोपी गर्दागर्दै बिरामीको मृत्यु, मिलापत्रमा लफडा साम्य

इन्डोस्कोपी गर्दागर्दै बिरामीको मृत्यु, मिलापत्रमा लफडा साम्य

कैलालीको धनगढीस्थित स्वस्तिक अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएका बिरामीको आफन्त र अस्पताल प्रशासनबीच सहमति भएको छ ।  

चिकित्सकले इन्डोस्कोपी गर्ने क्रममा बिरामीको मृत्यु भएपछि आन्दोलित मृतकका आफन्त र अस्पतालबीच उपचार खर्च मिनाहा गर्ने सहमति भएको हो । 

मुखबाट रगत आउने समस्याले कञ्चनपुरस्थित कृष्णपुर नगरपालिका–५, गुलरियाकी ६६ वर्षीया जमुना देउवा दुई दिनअघि अस्पताल भर्ना भएकी थिइन् । उपचारकै क्रममा उनको हिजो दिँउसो १२ बजे मृत्यु भएको थियो । 

चिकित्सकको लापरवाहीले बिरामीको ज्यान गएको भन्दै शुरुमा मृतकका आफन्तले लफडा गरेका थिए । कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझा, अस्पताल प्रशासन, मृतकका आफन्त र सुरक्षाकर्मीसहित गएराति गरिएको छलफलमा उपचार खर्च मिनाहालगायतको सहमति भएको छ । 

गत भदौ ११ गते पनि सो अस्पतालमा उपचारको क्रममा एक जनाको ज्यान गएको थियो । पत्थरीको अप्रेशन गर्ने क्रममा चिकित्सकले बिरामीको किड्नीको नशा काटिदिएपछि अस्पतालमा ठूलै लफडा भएको थियो ।

टिप्पणीहरू