छानबिन टोली ६१ किलो सुन तस्करीको प्रक्रिया बुझ्दै विमानस्थलमा

छानबिन टोली ६१ किलो सुन तस्करीको प्रक्रिया बुझ्दै विमानस्थलमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट गत साउनमा अवैध तवरले बाहिरिएको एक क्विन्टल भनिएको सुनको छानबिन गरिरहेको टोली आज विमानस्थल पुगेको छ । बिहान ११ बजे पुगेको उक्त टोलीका सदस्यहरु विभिन्न भागको निरीक्षण र सोधपुछ गरेपछि दिउँसो पौने ३ बजेको समयमा त्यहाँबाट बाहिरिएको बताइन्छ ।

स्कुटरको ब्रेक सुभित्र हालेर ल्याइएको सुन गालेपछि ६१ किलोग्राम कायम भएको हो । हङकङबाट कार्गो गरेर ल्याइएको सुन विमानस्थल भन्सारबाट एकाएक तस्करी भएपछि संसद बैठकसमेत झण्डै एक महिना अवरुद्ध भएको थियो । 

सरकारले सुन तस्करी छानबिनका लागि गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगका अध्यक्ष डिल्लीराज आचार्यलगायत चार सदस्यीय टोलीले आज भन्सारको आयात तथा निर्यात कक्षलगायतको निरीक्षण गरेको बुझिएको छ ।

उनीहरुले त्यहाँको एक्सरे मेसिनसँगै तस्करीमा प्रयोग भएको मार्ग र प्रक्रियाबारे कर्मचारीसँग सोधनी गरेको बताइन्छ । विमानस्थल भन्सार प्रमुख सहसचिव टेकराज पाण्डेले सोधनीको जवाफ दिएका थिए ।

टिप्पणीहरू