प्रतिगामीहरूले कहिल्यै पूरा नहुने सपना देखेको प्रधानमन्त्रीको दाबी

प्रतिगामीहरूले कहिल्यै पूरा नहुने सपना देखेको प्रधानमन्त्रीको दाबी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन चाहने प्रतिगामीहरूको सपना कहिल्यै पूरा नहुने दावी गर्नुभएको छ ।

सरकारी लिखतहरूमा नेपाल संवत उल्लेख गर्ने सरकारको निर्णयको स्वागतमा आफूलाई सम्मान गर्ने कार्यक्रममा उहाँले उक्त धारणा व्यक्त गर्नुभएको हो । ‘आजको परिवर्तन साना दुःखले आएको होइन । यो व्यवस्थाका निम्ति हजारौंले रगत बगाएका छन्, हजारौंले जेलनेल भोगेका छन् । लाखौं जनताले संघर्ष गरेका छन् । यो व्यवस्था कसैले उल्टाउन खोज्छ भने त्यो सपना मात्रै हो, कहिल्यै पूरा हुँदैन’, प्रधानमन्त्रीले दाबी गर्दै भन्नुभयो ।

पराजित भइसकेका सामन्ती तत्वहरूले टाउको उठाउन खोज्नु संसारकै नियम हो भन्दै उहाँले अहिले त्यही कोसिस चलिरहेको उल्लेख गर्नुभयो । ‘संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउने सपना कसैले नदेख्दा हुन्छ’, प्रधानमन्त्री प्रचण्डले अगाडि भन्नुभयो, ‘यस्तो दुस्प्रयास गर्नेहरूले फेरि अर्को मूल्य चुकाउनुपर्नेछ ।’

प्रधानमन्त्रीले नेपाल संवत् नेपालको मौलिक संवत् भएको पनि बताउनुभयो । भन्नुभयो, ‘हामीले विक्रम संवत् प्रयोग गरिरहेका छौं । कतिपय सन्दर्भमा अंग्रेजी संवत् पनि लेखिन्छ । तर, नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् हो । यसलाई राष्ट्रिय संवतको रूपमा विकसित तुल्याउनुपर्दछ ।’

टिप्पणीहरू