माओवादीमा समाहित हुन बाबुरामको नेतृत्वमा संयोजन समिति
नेपाल समाजवादी पार्टी (नेसपा) ले माओवादी केन्द्रसँग एकताका लागि अध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा एकता समायोजन समिति बनाएको छ ।
आज बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रलगायत विचार मिल्ने राजनीतिक शक्तिहरूसँग एकता/ध्रुवीकरण गर्न संयोजन समिति बनाउने निर्णय गरेको हो । समितिमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव र कार्यकारिणी सदस्य जनकराज शाह रहने बताइएको छ ।
त्यस्तै, बैठकले संगठन निर्माण, सुदृढीकरण गर्न यसअघि सञ्चालित अभियानको समय तीन महिना थपेको छ । आगामी वैशाखमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय छ ।
माओवादी र नेसपाबीच अघिल्लो वर्षको मंसिरमा सम्पन्न आमचुनावअघि नै एकता गर्ने सहमति थियो । त्यसैका आधारमा माओवादीको चिन्ह लिएर चुनाव लडेको नेसपाले एकताका लागि वार्ता समितिसमेत बनाएको थियो । तर, बाबुरामको केही विमतिका कारण पछिल्लो समय एकता प्रक्रिया अघि बढ्न सकेको थिएन ।
अर्का अध्यक्ष महिन्द्रराय यादव र सहअध्यक्ष श्रेष्ठसहितको ठूलोपंक्ति भने पूर्वसहमति अनुसार नै जानुपर्ने अडानमा रहेपछि अन्ततः नेसपा माओवादीसँग एकता गर्न तयार भएको हो । अब माओवादीले पनि अध्यक्ष प्रचण्डकै नेतृत्वमा संयोजन समिति बनाउने र वैचारिक राजनीतिक तहमा छलफल गर्दै एकता घोषणा गर्ने बताइएको छ ।
टिप्पणीहरू