भूकम्पका भयावह ती भागदौड

भूकम्पका भयावह ती भागदौड

– सुदन थापा

कात्तिक १७ गते शुक्रबार मध्यराति भूकम्प आउँदा म दाङको घोराहीस्थित आफ्नै डेरामा थिएँ । भूकम्पको धक्का ठूलै थियो सायद । ब्युँझेपछि झन् डर लाग्यो । मनमनै लागिरहेको थियो, कतै न कतै यो भूकम्पले केही त पक्कै गर्छ । 

केहीबेरपछि खबरहरूले सामाजिक सञ्जाल भरिन थाल्यो । निद्रा लाग्नै कुरै भएन, मोबाइल हेर्दै जाँदा जाजरकोट र रुकुमतिरका खबरहरू छपक्कै थिए । घरतिर फोन गरें, धन्न पूर्वी रुकुमतिर केही भएको रहेनछ, ती खबर पश्चिम रुकुम र भेरीपारि जाजरकोटतिरका थिए । 

मिर्मिरे बिहानी हुँदै गर्दा सुर्खेततिरका साथी पूर्णमान बिश्वकर्मालाई फोन गरेँ । उनले सबथोक तहसनहस भएको खबर सुनाए । म तत्कालै भूकम्पको इपिसेन्टरतिर लागेँ । दाङका अरू साथीहरू श्री चौधरी, भुवन थापा, महेश आरोही र दिल मगर पनि सँगै जाने योजना बन्यो । क्षणका क्षण सामाजिक सञ्जालमा आउने खबरहरूले झन् मन अत्तालिइरहेको थियो । हामी जतिसक्यो चाँडै जाजरकोटको यात्रा सुरु गर्न आतुर थियौँ । 

यो कर्ममा लाग्दै गर्दा भयावहका यस्ता धेरै कथा सुनेको छु, देखेको छु, अरूलाई देखाएको छु । बोलेको छु र लेखेको छु । जुन मेरो पत्रकारिता कर्मका सबैभन्दा नमीठा पलहरू बनेका छन् । तर पनि सूचनाकर्मको यो यात्रामा यी भावनाहरू रोक्नुको विकल्प छैन । शनिबार बिहान उज्यालोसँगै घोराहीबाट तुलसीपुर–हापुरे हुँदै सुर्खेत–जाजरकोटको यात्रा सुरु गर्‍यौँ । 

किनारामा जलिरहेका लाशसँगै आफन्तका आँशु मिसाएर बगिरहेको यो भेरी कहाँ पुग्ला ?

सामाजिक सञ्जाल अनि सम्भावित दृश्यहरूले भित्रभित्रै भयभित भइरहेको थिएँ तर पनि क्यामेरामा ती दृश्यहरूलाई कैद गर्नैपथ्र्यो । कर्णालीको बिभत्स कथालाई मानसपटलमा कैद गर्दै आफ्नो क्यामेरा पनि हेरिरहें । यात्राभरि मनमा त्यस्तै त्यस्तै दृश्य भयावह तरिकाले नाचिरहेका थिए । दिन ढल्किँदै गर्दा जाजरकोटको सदरमुकाम खलंगा पुगिसकेका थियौँ । खलंगा बजार मान्छेको भीडले भरिएको थियो । सबै रातिदेखि नै घरबाहिरै थिए, त्यसमाथि घाइते र मृत्यु भएकाहरूलाई त्यहाँ ल्याउने क्रम चलिरहेको थियो ।

मृतक र घाइतेका आफन्तहरूको चित्कार, रोदनले मन भारी भएर आयो । त्यो कारुणिक क्षणलाई क्यामेरामा कैद गर्ने हिम्मतै आएन । बस, त्यो कारुणिक दृष्यलाई हेरेर बसिरहेँ । इपिसेन्टरदेखि केही मुनितिर हामीले सामना गरेको त्यो एउटा कारुणिक अनि विभत्स दृश्य थियो । कसरी ती दृश्यहरू क्यामेरामा कैद गरौँ? मन त्यसै त्यसै भारी भइरह्यो । तै पनि कर्म थियो, गर्नु त पथ्र्यो नै ।

जाजरकोटको खलंगामा हामी अझ विक्षिप्त बनेको थाप्ले भन्ने ठाउँतिर अघि बढ्यौँ । यो स्थानमा धेरै जनधनको क्षति भएको भन्ने खबरहरू सदरमुकामतिरै आइरहेका थिए ।  हामी त्यहाँबाट फर्किसकेका छौं तर थाप्लेका ती दृश्यले अहिले पनि झस्काइरहन्छन् ।  भूकम्पपछि त्यो बस्ती डोजर लगाएर सम्याएको जस्तै भएको छ । गाउँभरि लगभग सग्ला घरहरू छैनन् । रित्तो ठडिएका केही घरहरू बाहेक गाउँ त पूरै डोजर लगाएर सम्याएको जस्तो भएको छ । भूकम्पले ध्वस्त बनाएको यो गाउँको मानिसका ती कारुणिक चित्कार अहिले पनि कानमा उसैगरी गुञ्जिएजस्तो लाग्छ । 

धेरै मान्छेले ज्यान गुमाएको त्यो थलोमा थोरै मान्छे थिए । भेटिएकाहरू पनि उत्तिकै कारुणिक लाग्थे । कसैलाई केही सोध्ने हिम्मत आएन । केहीबेर हामीले त्यहाँको दृश्य क्यामेरामा कैद गर्‍यौँ । लाग्थ्यो म आफैं यही भूकम्पले थिचिएको छु । मेरा सारा आफन्तहरू थिचिएका छन् । एकजनाले ‘तपाईंहरू पत्रकार हो?’ भनेर सोधेपछि मात्रै बल्ल याद भयो, म समाचार लेख्नै त्यहाँ पुगेको थिएँ । उनले शुक्रबार मध्यरातिको भयानक कथा हामीलाई सुनाए । 

साँझ छिप्पिँदै थियो । हामी फेरि सदरमुकाम फर्कियौँ । आइतबार नलगाड नगरपालिकाको वडा–१ तिर लाग्यौं । यो त्यही नगरपालिका हो जसले उपमेयर पनि गुमाएको छ । अनि वडा–१ले मात्रै आफ्ना २५ जना नागरिक गुमाएको छ । भूकम्पले नलगाडभरि कम्तीमा ५६ जना मानिसको ज्यान लगेको छ । गाउँभरि पूरै सन्नाटा थियो । सारा घरहरू चर्केका छन्, धेरै ढलेका छन् । मानिसहरू खुल्ला आकाशमुनि ढलिरहेका छन् । 

चाउचाउको भरमा रात काटेका सुत्केरी र गर्भवती महिलाहरू खानेकुराको पर्खाइमा थिए । सडक जोडिएका गाउँवस्तीमा केही राहत पुगे पनि भित्रका यी र यस्ता गाउँमा अझै राहत पुग्न सकेको छैन । एउटै घरका ६ जनासम्मको मृत्यु भएको थियो । घरभरिका ३ जनामात्रै बाँचेका रहेछन् । गाउँलेहरूले सुनाएका थिए– काम गर्नका लागि मलेसिया गएका घरमूली फर्किंदै थिए । 

मन भक्कानिएर आयो– यो दृश्यले उनलाई कस्तो होला ? नलगाडबाट जाजरकोटको भूकम्पले सम्याएका थुप्रै बस्ती अनि भूकम्पले निलेका आफन्तहरूको कथा र घरबारबिहीन भएकाहरूको कथा बटुल्यौँ । भूकम्पले निम्त्याएको बिपत्तिका कारण कैयन नागरिकले भोकै बस्नु परिरहेको पीडा सुनाएका छन् ।

मनभरि पीडा लुकाएर बढिरहेको चिसो छल्ने प्रयास गरिरहेका छन् । जाजरकोटको दर्दनाक र विभत्स दृश्य हेर्दै हामी पल्लो तीरको रुकुम गयौँ । खोला किनारामा लहरै जलिरहेका चिताको धुँवा आफ्नै छातिभित्र पुत्ताएजस्तै लाग्यो । मलामी पुगेका आफन्तको चित्कार अनि रोदनले मुटु अझै चस्किरहेको छ । 

भेरी आफ्नै सुरमा सुसाइरहेको थियो, किनारामा जलिरहेका लाशसँगै आफन्तका आँशु मिसाएर बगिरहेको यो भेरी कहाँ पुग्ला ? भेरीको पारितिर पुग्दा मैले फेरि आफूलाई सम्हाल्नु छ । भूकम्पले चिरिएको यो जमिन अनि मान्छेका कथा फेरि पनि लेख्नु छ । सुनाउनु छ । अनि देखाउनु छ । चिरिएको पश्चिम रुकुममा छु यतिबेला फेरि यस्ता कथाहरू देख्न र लेख्न नपरोस् भन्ने कामना गर्दै ।
 

टिप्पणीहरू