अमेरिका-चीन सम्बन्ध सुधार्ने कूटनीतिज्ञको अवसान
अमेरिकी पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको निधन भएको छ । एक सय वर्षको उमेरमा स्थानीय समयअनुसार बुधबार निधन भएको बताइएको छ ।
उनी तत्कालीन अमेरिकी राष्ट्रपतिहरु रिचर्ड निक्सन र जेराल्ड फोर्डको कार्यकालमा विदेशमन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । चीनसँगको सम्बन्धलाई सुदृढ पार्न अहम् भूमिका निर्वाह गरेका किसिन्जरलाई चीनले निकै सम्मान गरेको छ । उनको निधनमा चीनले हार्दिक समवेदना व्यक्त गरेको छ ।
उनी राष्ट्रिय सुरक्षा सल्लाहकार हुँदा सन् १९६९ मा चीनसँग नजिक रहेर काम गरेका थिए । त्यसपछि सन् १९७० मा राष्ट्रपति निक्सनको पालामा अमेरिकाले चीनसँग कूटनीतिक सम्बन्ध कायमको लागि प्रक्रिया अघि बढाएको थियो ।
सन् १९७१ मा किसिंगरले दुई पटक चीन भ्रमण गरेकोमा एक पटकको यात्रा गोप्य थियो । त्यसपछि ताइवानमा रहेका अमेरिकी सेनामध्ये दुई तिहाई हटेर चीनसँगको सम्बन्ध सुमधुर हुन थालेको हो ।
सन् १९७१ अक्टोबरमा किसिंगरले गरेको दोस्रो भ्रमण चीनलाई संयुक्त राष्ट्र संघको सदस्यता पुनः प्राप्तीमा महत्वपूर्ण रहेको बताइन्छ ।
त्यसपछि उनले सन् १९७३ मा नोबेल शान्ति पुरस्कार पाए । उनी र भियतनामी कूटनीतिज्ञ लि डक थोलाई संयुक्त रुपमा उक्त पुरस्कार प्रदान गरिएको थियो ।
अमेरिकी विख्यात कूटनीतिज्ञको जन्म भने सन् १९२३ मा जर्मनीमा भएको थियो । सन् १९३८ मा जर्मनीबाट भागेर उनको यहुदी परिवार आप्रवासीका रुपमा अमेरिका पुगेको थियो । त्यसपछि सन् १९४३ मा अमेरिकी नागरिकता प्राप्त गरेर सेनामा भर्ना भए ।
उनी गत जुलाईमा पनि चीन गएका थिए । वृद्ध किसिंगरले चिनियाँ राष्ट्रपति सि चिनफिङसँग बेइजिङमा शिष्टाचार भेटवार्ता गरेका थिए ।
टिप्पणीहरू