माओलाई अन्तिम गाँस भात खुवाउने ती युवती

माओलाई अन्तिम गाँस भात खुवाउने ती युवती

चाङ युफेङको जन्म गरिब परिवारमा भयो । बाबु रेल्वेको कर्मचारी । चाङ ८ सन्तानमध्ये चौथो । उनले ६ कक्षासम्म मात्र पढ्न पाइन् र १४ वर्षकै उमेरमा बाबुजस्तै रेल्वे सेवामा प्रवेश गरी मुदानजियाङबाट बेइजिङसम्म जाने रेलको कण्डक्टर बनिन् । धेरै कम मानिसलाई जानकारी होला, चीनका शक्तिशाली नेता माओ त्सेतुङ एक स्थानबाट अर्को अलि टाढा जाँदा निजी रेलमा सफर गर्थे । त्यति मात्र होइन, धेरैजसो समय रेलमै बिताउन मन पराउँथे । उनी चढ्ने रेल सुविधा सम्पन्न थियो, अलग्ग अध्ययन कक्षसमेत थियो । उनी एकान्त मन पराउँथे, रेलभित्रको जस्तो शान्त वातावरण अन्यत्र सम्भवै थिएन ।

एकदिन निजी अंगरक्षक वाङ तोङसिङले चाङलाई माओसामु उभ्याइदिए । उनलाई निजी रेलको कण्डक्टर बनाउन सिफारिस गरे । सन् १९६२ को कुरो, चाङ मात्र १७ वर्षकी युवती थिइन् भने माओ ७१ वर्षका । माओ त्यसै पनि जीवनको उत्तरार्धमा कलिला युवतीको सामीप्यलाई रुचाउँथे । जिस्कन्थे । चाङ सुन्दर थिइन् । माओले पहिलो भेटमै मन पराए र रेलभित्रको आफ्नो कक्षमा सेवार्थ राख्न सहमति दिए । चाङको अब अधिकांश समय माओसितै बित्न थाल्यो । रेलको सफर गर्दै उनी चीनको प्रायः सबै ठाउँमा पुगिन् । साठीको दशकको मध्यमा त्यहाँ साँस्कृतिक क्रान्ति चलाइयो । त्यस समय पार्टी अध्यक्षको नाताले माओ जति पनि भेटघाट र बैठकमा सहभागी भए, प्रायः सबैमा चाङ छेउमै बसिन् । सन् १९७० मा उनी रेल सरसफाइ गर्दै थिइन् । त्यहीबेला चोङनानहाइमा आइपुग्नु भन्ने सन्देश प्राप्त भयो । उनी अक्क न बक्क भइन् । माथिको आदेश भएकाले ढिलो नगरिकन रवाना भइन् । चोङनानहाइको वातावरण देखेर एकछिन डराइन् । स्वागत गर्न पुगे दुई जना व्यक्ति । एक जना माओको सुरक्षार्थ खटिने टोलीका इञ्चार्ज चाङ याओकी, अर्की माओको हेरविचारमा खटिएकी प्रमुख नर्स वु सुजुन । माओले आफ्नो स्वकीय सचिवमा नियुक्त गरेको खबर सुनाउँदा शुरुमा उनले पत्याउनै सकिनन् । छोटो समयमै यसरी प्रमुख ओहोदा सम्हाल्न गइरहेकोमा दंग परिन् । २५ वर्षीया उनले त्यसबेला भर्खर बिहे गरेकी थिइन् ।

त्यसपछि पार्टीको नेतृत्व पंक्तिमा नभइकन पनि उनी शक्तिशाली बनिन् । सधैँ माओको नजिक बस्ने भएकैले विदेशी कूटनीतिज्ञहरूसँग भेटघाटको सम्पूर्ण कार्यक्रम उनैले मिलाउन थालिन् । अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन चीन पुगेको बेला उच्चस्तरीय गोप्य वार्तामा समेत उनी सहभागी भइन् । स्थिति यहाँसम्म पुग्यो कि प्रधानमन्त्री चौ एनलाई र माओ पत्नी चियाङ चिङले पनि उनको अनुमति नलिई माओसित भेट्न नपाउने भए । यसबाट चियाङ निकै क्षुब्ध बनिन् । त्यसै पनि उनी निकै शंकालु स्वभावकी थिइन् । आफ्नो लोग्नेसित भेट्न पनि चाङको स्वीकृति लिनुपर्ने अवस्थामा पुगेकाले रिस फेर्ने निहुँमा माओ र चाङबीच अनैतिक सम्बन्ध भएको आरोप लगाउन पछि परिनन् । चाङको कुरोलाई लिएर पतिसँग झगडा गरिन् र रिस पोख्दै केही समयका लागि माओलाई एक्लै छाडेर हिँडिन् । यद्यपि, चाङसित माओको त्यसप्रकारको सम्बन्धको पुष्टि कहिल्यै भएन । माओले चियाङको नाउँमा केही युआन बैंकमा जम्मा गर्न लगाएका थिए तर उक्त बैंक खाताको सञ्चालक भने चाङ थिइन् । चाङप्रति माओको विश्वास अतुलनीय थियो । पार्टी र सरकारसम्बन्धी अत्यन्त गोप्य कुरो पनि चाङलाई सुनाउँथे, जुन कुरो चियाङलाई थाहै हुन्नथ्यो । 

माओलाई ७० को दशकको शुरुमै उत्तराधिकारी कसलाई बनाउने भनेर चिन्ता लागिसकेको थियो । माओको सोच लिन प्याओ र सन् १९७३ मा बल्ल सत्तारुढ कम्युनिष्ट पार्टीको उपाध्यक्ष बनेका वाङ होङवेनमध्ये एक जनालाई बनाउने भन्ने थियो । यो कुरोलाई लिएर सधैँ टाउको दुखाई बस्थे तर यसबीच लिनको हवाई दुर्घटनामा मृत्यु भयो, सन् १९७१ मै ! चाङले प्रधानमन्त्रीलाई नै उत्तराधिकारी बनाउँदा हुन्छ नि भनी सुझाइन् । ‘प्रधानमन्त्री चौ असल छन्, प्रधानमन्त्री पदका लागि उपयुक्त पनि हुन् तर सिंगो पार्टी र मुलुक हाँक्ने क्षमताको अभाव छ,’ जवाफ यस्तो थियो । सन् १९७६ मा माओ अस्वस्थ भइसकेपछि भतिज माओ युवानसिन भेट्न पुगे । उनी माओको भाइ माओ जेमिनका छोरा हुन् । ठूलोबाको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि माओ र पार्टीबीच समन्वय गर्ने जिम्मा उनैले उठाएका थिए । तर, ग्याङ अफ फोरको निकट भएकाले माओको निधनलगत्तै पक्राउ परे र जेल सजायँ भोगे । भेटमा उनले माओसित ‘उत्तराधिकारी कसलाई बनाउँदा उपयुक्त होला भनी सोधे । माओ एकछिन मौन रहे अनि चाङ चुनछियाओ र वाङ होङवेनलाई एकछिन मेरोमा पठाइदिनु भने । उनीहरू आइसकेपछि बसेको पोलिटब्युरो बैठकले ह्वा गोफेङलाई उत्तराधिकारी चयन ग¥यो । स्मरणीय छ, चाङ र वाङ दुवै जना ग्याङ अफ फोर गुटका नेता हुन् ।

जीवनको अन्तिमतिर माओको साथमा २४ सै घण्टा बिताउने भनेकै चाङ र नर्स मेङ जिनयुन मात्र हुन् । मेङ त अझ चाङभन्दा ३ वर्षले कान्छी अर्थात् २७ की थिइन् । मृत्यु हुनु १ वर्षअघि सन् १९७५ को अगष्टमा माओले अकस्मात् चलचित्र ‘बादलमा खस्ने कढाई जुत्ता’ हेर्ने इच्छा जाहेर गरे । चलचित्रमा एक धनी बाउकी छोरी बगैँचाको सुख्खा इनारमा खस्छिन् । अनि छोरीको उद्धार जसले गर्न सक्छन् उनको बिहे उसैसित गराइदिने घोषणा गर्छन् । युवतीको उद्धार गर्न २ जना युवक तम्सिन्छन् । बिहे गर्ने लोभमा दुवै युवकले आ–आफ्नो जुक्ति निकाल्छन् । त्यसक्रममा एक जनाले छट्टु पारा निकाल्छन् भने अर्को झण्डै इनारभित्रै मर्छन् । पछि युवतीका बाबुले छट्टुलाई भगाउँछन् र मर्नबाट बाँचेका युवकसित छोरीको बिहे गराइदिन्छन् । चलचित्र हेरिसकेपछि माओले सोधे ‘दुई जनामध्ये कुन असल ?’

दुवैले एकै स्वरमा जवाफ दिए– निःसन्देह इनारको फेदमा फसेको युवक । मेङ जिनयुनले अगाडि भनिन्, ‘जे भए पनि इनोउए भन्ने केटो साँच्चै नराम्रो छ ।’ माओ चाङतर्फ फर्के र यही प्रश्न सोधे । चाङले ‘कुरो स्पष्ट छ, तैपनि किन प्रश्न तेस्र्याउँदै हुनुहुन्छ’ भनिन् । माओले तिमीहरूको भन्दा फरक छ मेरो सोच । मेरो विचारमा इनोउए राम्रो युवक हो भने । दुबैले ‘किन ?’ भनी सोधे । माओले भने, ‘किनभने उनी समस्याबारे धेरै सोच्न सक्दा रहेछन्, उनी अर्को युवकभन्दा धेरै स्मार्ट देखिए ।’ माओको सोच यस्तो थियो । युवक छँदाकै जस्तो । १७ वर्षकै उमेरमा उनले एउटा कविता लेखेका थिए । शीर्षक थियो– ‘भ्यागुतोको पखेटा’ । कविताको दुई पंक्ति यस्तो थियो– ‘वसन्त ऋतु आउँदा म पहिले बोल्दिनँ, बरु कुन किराले पहिला आवाज निकाल्ने साहस गर्छ, त्यो हेर्छु !’

माओको उक्त कविता पढ्ने जो–कोहीले माओले सानैमा दबंग पारा देखाइसकेको टिप्पणी गर्छन् । माओले सानैमा अधिकारका लागि जनतासँग मिलेर लड्ने अठोट गरिसकेका थिए । त्यसैले आफ्नो सम्पूर्ण जीवन वर्गसंघर्षमा बिताए । एकपछि अर्को संघर्ष गरे र जित्दै गए । निरन्तर क्रान्तिमा विश्वास गर्थे, त्यसैले मुक्तिपछि पनि संघर्षलाई त्यागेनन् । उनले आफूले देखेको सपना पूरा गर्न पार्टीभित्रै पनि संघर्ष गर्नु अनिवार्य देखे । नतिजा, साँस्कृतिक क्रान्तिसमेत छेड्न पुगे । यो क्रान्ति ठीक थियो वा थिएन छुट्टै विवेचनाको विषय हो । माओसित नजिक बसेर लामो समय ब्यतित गर्ने चाङ युफेङ माओबारे यसो भन्छिन्, ‘उनको सोच अनौठो छ, जसले यो सेतो छ भन्छन् तर उनी त्यसैलाई कालो भन्न रुचाउँछन् अर्थात् उनी सधैं एकार्काको विरोध गर्न मन पराउँछन् ।’ चाङ यो पनि भन्छिन्, ‘उनी रिसाहा छन् । छिट्टै दिमाग तताउँछन् ।’नर्स मेङ जिनयुनको भनाइ पनि उस्तै छ, ‘अध्यक्षको दृष्टिकोण सधैँ हामीभन्दा फरक हुने गरेको छ । उनको व्यक्तित्व निकै अनौठो छ ।’

अमेरिकी इतिहासकार तथा लेखक जोनाथन स्पेन्सले सन् १९७४ मा चाङबारे यसरी टिप्पणी गरेका थिए– उनी माओको विचार, सोच, भाव सबै बुझ्थिन् । माओको अनुहारमा देखिने विम्बलाई सजिलै पढ्न सक्थिन् । माओले बोल्न पाएको हुन्न, के बोल्न लागेका छन्् भन्न सक्छिन् । चाङ भन्छिन् – निधनको अघिल्लो दिन माओ खाना खानको लागि मुख खोल्नै नसक्ने अवस्थामा पुगे, त्यो दिन मैले उनलाई अत्यन्त मन पर्ने वुचाङ माछासित थोरै भात खुवाएको थिएँ । यो नै उनको अन्तिम भोजन थियो । यतिखेर चाङ माओकी कान्छी छोरी लि नासँग बस्छिन् । ७८ वर्षकी भइन् । लि ना पनि ८३ वर्षमा लागिन् ।

 

टिप्पणीहरू