माओका पनि प्रिय मान्छेको कमलो मन
आँखीभौं यी क्रुद्ध तुल्याउँदै
लिन्छु म टक्कर कत्ति नआत्तिई
मलाई ताक्ने यी हज्जार औंलाहरूको,
शीर झुकाउँदै, विनम्र गोरु झैं
गर्छु म सेवा बालकहरूको ।
कविताको यी पंक्ति नेपाली साहित्य पारखीहरूले सबैभन्दा बढी चिन्ने चिनियाँ साहित्यकार लु सुनको हो । चीनमा उनलाई अध्यक्ष माओ त्सेतुङजत्तिकै इज्जतले हेरिन्छ । ‘लु सुनद्वारा लिखित उपर्युक्त पंक्ति हाम्रो मार्ग निर्देशक सिद्धान्त हुनुपर्छ ।’ माओले यसै भन्ने गर्थे ।
माओको चुनिएका रचनाहरूमा लु सुनबारे यस्तो उल्लेख छ, ‘लु सुन चीनको सांस्कृतिक क्रान्तिका प्रधानसेनापति हुनुहुन्थ्यो । उहाँ महान् साहित्यकार मात्र नभई महान् विचारक तथा क्रान्तिकारी पनि हुनुहुन्थ्यो’ । ‘आह क्युको साँचो कथा’ ‘बौलाहाको डायरी’ ‘ओखती’ जस्ता विश्वप्रसिद्ध साहित्यका रचनाकार उनी अन्तर्राष्ट्रिय साहित्यकार हुन् ।
लु सुनका रचना नेपाली साहित्यका पारखीहरूमाझ पस्कने काममा अग्रणी भूमिका बाल साहित्यकार शान्तदास मानन्धरको छ । ०२५÷२६ सालतिरको कुरा हो, झोंछेँस्थित बालसेवा स्कूलमा पढ्थें, शान्तदास उक्त स्कूलका प्रधानाध्यापक । त्यो नाताले हामी शान्तदास मार्साब भनेर चिन्थ्यौं । मानन्धर चीन–मैत्री संघको अध्यक्ष पनि । हामी विशालबजार अगाडिको मैत्री संघमा जान्थ्यौं । मानन्धरले कहिले चीन सचित्र त कहिले ‘रातो लाल्टिन’ ‘ल्यु हुलानको कथा’ ‘चम्किलो रातो तारा’ ‘ओ याङहाइको गीत’ जस्ता नेपाली र हिन्दीमा अनुदित चिनियाँ पुस्तक दिएर पठाउँथे । लु सुनद्वारा लिखित ‘बौलाहाको डायरी’ पहिलो पटक त्यसैबेला पढ्ने अवसर मिलेको हो । प्रगतिशील साहित्यकार शान्तदासको कात्तिक २८ मा निधन भइसकेको छ ।
लु सुन चाओ सुचेनको साहित्यिक नाउँ हो । उनको जन्म जमिन्दार परिवारमा भयो । बाजे मञ्चु दरबारका अफिसर थिए । तर, उनी जेल परे । बुबा पनि दीर्घरोगले थला परे । ४ वर्षपछि उनको मृत्यु भयो । त्यसपछि बल्ल बालक चाओले गरिबी के हो थाहा पाउन थाले । चाओकी आमा छोरोलाई असाध्य माया गर्थिन् । उनी छोरोलाई राम्रो शिक्षा दिएर ठूलो मान्छे बनाउन चाहन्थिन् । चाओले पनि आमाको सपना पूरा गर्न ठूलै मिहिनेत गरे । उच्च शिक्षा हासिल गरे । डाक्टर बनेर दीनदुःखीको सेवा गर्न चाहन्थे । त्यसैले छात्रवृत्ति हासिल गरेर डाक्टरी पढ्न जापान पुगे । त्यसबेला चीनमा मञ्चु वंशको शासन थियो । देशमा शोषण, अन्याय, अत्याचार र दमनको राज थियो । जनता सचेत थिएनन् । त्यसैले जनतालाई चेतना दिन सचेत नागरिक त्यस अन्धकारमय मञ्चु सरकारको विरोध गर्थे ।
हडताल, जुलुस र सुधार कार्यक्रम लिएर चिनियाँ जनता आफ्नो उकुसमुकुसलाई व्यक्त गर्थे । विदेशमा पढिरहेका युवक, विद्यार्थी पनि मञ्चु सरकारको विरोधमा उत्रने गरेका थिए । जापानमा पढिरहेका विद्यार्थी पनि मञ्चुविरुद्ध सडकमा उत्रन थाले । यी कार्यक्रममा चाओ पनि सम्मिलित भए । चाओ पढ्नमा मिहिनेती थिए । विदेशी साहित्यको पाठक रहेका उनले यसबीच जापान–रुस युद्धको एउटा चलचित्र हेरे । जसमा एक जना चिनियाँ युवकलाई जासुसी गरेको आरोपमा पाता फर्काई यातना दिइरहँदा अरु सबै मूकदर्शक बनिरहेको दृश्यले उनको सोचमा फेरबदल ल्यायो । डाक्टर बनी बिरामीको सेवा गर्नुभन्दा पनि जरुरी साहित्यमार्फत जनतामा चेतना जगाउनुपर्ने ठाने र त्यहीँ बसेर विदेशी साहित्यको अनुवाद, आफ्नै लेखन र पत्रिका निकाल्न थाले ।
अब जापानमा बसिरहन मन मानेन र चीन फर्के । २ वर्षपछि डा. सन यात्सेनको नेतृत्वमा क्रान्ति भयो । त्यसबेला स्कूलमा पढाउने गर्थे । उनले विद्यार्थीलाई क्रान्तिमा भाग लिन उत्प्रेरित गरे । सन् १९११ को क्रान्तिले मञ्चु वंशको शासन अन्त्य गरे पनि जनताले राहत पाएनन् । फलतः सन् १९१७ मा रुसमा सम्पन्न अक्टोबर क्रान्तिबाट प्रभावित चिनियाँ फेरि सडकमा उत्रे । चाओले लु सुनको नाउँबाट साहित्य सिर्जना गरी जनतालाई जागरुक बनाउन थाले । यसरी लु सुन क्रान्तिकारी लेखक बने । उनी कलम मात्र समाउने क्रान्तिकारी थिएनन् । आन्दोलनहरूमा पनि सक्रिय भाग लिन्थे । सन् १९१९ मे ४ को आन्दोलनमा भाग लिए, जुन अध्यक्ष माओको राजनीतिक जीवनको महत्वपूर्ण मोड बन्न पुग्यो ।
लु सुनको बिहे उनी जापानमा अध्ययनरत हुँदै भएको थियो । झु एन आमाले मन पराएकी युवती थिइन् । लु सुनले आमाको उपहार मानेर झुसँग बिहे गरे तर प्रेम के हो ? कहिल्यै महसुस गर्न पाएनन् । किनभने लु सुन बिहेको ४ दिनपछि नै जापान फर्के । झु हरेक दिन खाना पकाउँथिन्, लुगा धुने र घरको सरसफाइ गर्थिन्, सिलाई गर्थिन् र सासूको सेवा गर्थिन् । उनले ५० वर्ष नपुग्दासम्म यही काम गर्दै गइन् । तर, एकदिन लोग्नेले आफ्नै विद्यार्थी सु गुआंगपिङसँग विवाह गरेको तस्बिर देखिन् र तीनछक्क परिन् । झु एकदमै निराश भइन् र तीतो सत्यलाई यसरी पोखिन्, ‘एक महान विद्वान लुको ब्यवहार मसित राम्रो थिएन । सायद मै गलत थिएँ । मैले उनको सेवा राम्रोसित गरिन होला । सोचेको थिएँ म पर्खालको फेदबाट माथि घिस्रंदै गरेको शंख किरा हुँ र पर्खालको टुप्पोमा यसरी नै पुग्न सक्छु ।
तर, गलत रहेछु ।’ यसको बावजुद उनले लु र सुसित इष्र्या गरिनन् । उनले लुको नयाँ छनोटलाई सहन गरिन् र आफ्ना श्रीमान, उनकी प्रियसी सु र उनीहरूका छोराप्रति प्रेम भावले प्रस्तुत भइन् । भन्थिन्, ‘म लुको परिवारकै सदस्यको रूपमा रहनेछु जबसम्म जीवित हुन्छु । बरु जब म मर्छु नरकमा लुको भूत बन्नेछु ।’सु पनि मे ४ को आन्दोलनको उत्पादन थिइन् । माक्र्सवादी समूहमा सरिक भइसकेकी थिइन् । सन् १९२२ मा स्नातकको पढाइ सकेलगत्तै लि सुयाङडुनसित माया बस्यो । तर, सन् १९२४ मा फैलिएको विषम ज्वरोको प्रकोपले लिको ज्यान लियो । सु पनि सिकिस्त बिरामी परिन् । प्रेमीको अकालमृत्युले सु बिक्षिप्त बनिन् र आत्महत्याको कोसिससमेत गरिन् ।
त्यो बेलासम्ममा चाओ सुचेन लु सुनको नाउँले प्रसिद्धीको शिखरमा पुगिसकेका थिए । त्यो बेला उनी सु पढिरहेको बेइजिङ छात्रा कलेजमा प्राचार्य थिए । सु उनैको साहित्य विषयकी छात्रा । सु त्यसबेला स्थानीय युद्ध सरदार यियाङ यिनायुविरुद्धको आन्दोलनमा सक्रिय थिइन् । कक्षा र विरोध प्रदर्शनमा देखादेखपछि दुबै नजिकिए । उमेरमा १७ वर्षको अन्तर थियो । सुले लुको नाउँमा पहिलो प्रेमपत्र सन् १९२५ को नोभेम्बर ३ मा लेखिन् । चुरोटको अम्मली लुलाई सम्झाउँदै लेखिन्, ‘तपाईंको अनुहार जतिखेर पनि म चुरोटको धुवाँभित्र देख्छु, के तपाईं यसको लतलाई कम गर्न सक्नुहुन्न ?’ लुले पत्रको जवाफ सोही दिन दिए ।
पत्रको आदानप्रदानपश्चात सु लुको घरमा जान थालिन् । यसबीच सु छात्रावासबाट निकालिइन् । र, लुकै घरमा बस्न थालिन् । शुरुमा एउटै घरमा बसे पनि अलगअलग कोठामा बस्थे । सुले विस्तारै सहायिका भई लुको लेखनमा सघाउन थालिन् । सुसितको सम्बन्धलाई लिएर अनेकन हल्ला चल्न थालेपछि लु झन् हौसिँदै सुसँगै सुत्न थाले । र, हनिमुन मनाउन हाङ्चाउ पुगे । सन् १९२८ को जुलाईमा सुले आफू गर्भवती बनेको थाहा पाइन् । पछि सुलाई पुत्र लाभ भयो । लु सुन र सु गुआङपिङको प्रेम कथा, वर्ष १७ अंक १३ (२०६८÷६÷१८) को जनआस्थामा प्रकाशित भइसकेको छ, ‘कमलो मनको अमर प्रेमकहानी’ शीर्षकमा ।
चिनियाँ कम्युनिष्ट पार्टीको सदस्यता नलिइकनै उक्त पार्टीको हरेक गतिविधिमा सक्रिय हुने गरेका लु सुनको मृत्यु क्षयरोगबाट सन् १९३६ मा भयो । उनको निधनपश्चात् सुले लुको रचना प्रकाशनतिर लागिन् । साहित्यकार लु सुन चीनकै आत्मा हुन् भन्दै जीवनभर उनको कदर र आदर गर्दै गइन् । पुस्तक प्रकाशनबाट प्राप्त आम्दानीको केही अंश लुकी पत्नी झु एनलाई पनि दिइन् । सन् १९४१ मा जापानी सेनाको कब्जामा परिन् । यातना सहिन् । उनको निधन ७० वर्षको उमेरमा सन् १९६८ मा भयो । सु पनि साहित्य लेख्थिन्, जिङ सोङ, पिङ लिन आदि उपनाउँले । । राजनीतिमा पनि सक्रिय थिइन् । उनले लु सुनको स्मृतिमा लेखेको ‘मेरो गुरु लु सुन’ शीर्षकको एउटा कविता यस्तो छ:
मन हाम्रो विरहले व्याकुल छ,
तिम्रो मृत्युमाथि हामी के भनौं
तिमीले मलाई एकपल्ट भन्यौ–
‘हुँ म एक गाई समान,
खान्छु घाँस, दिन्छु दूध र रगत ।’
जानेनौ तिमीले कहिल्यै आराम र मनोरञ्जन
काममाथि हुन्थ्यो सधैं तिम्रो ध्यान
मृत्युको अघिल्लो दिनसम्म लेख्यौ ।
अब हामी सबै मिली आशा गरेर
डटिरहौंला तिम्रै पदचिह्नमाथि ।
टिप्पणीहरू