नाजायज सम्बन्धको निहुँमा दुईज्यानको एकैठाउँ कत्ल

नाजायज सम्बन्धको निहुँमा दुईज्यानको एकैठाउँ कत्ल
सुन्नुहोस्

अनैतिक सम्बन्धको परिणाम कतिसम्म घातक हुनसक्छ भन्ने भरतपुरमा बोराभित्र भेटिएका लासको पहिचानबाट पनि प्रस्टिएको छ ।

गत मंसिर ६ गते भरतपुर–१२ को मिलनचोकस्थित सडक कल्भर्टमुनि जुटको बोराभित्र हातखुट्टा बाँधी फ्याँकिएको अवस्थामा महिला र पुरुषको दुईवटा लास फेला परेका थिए । दुबै लास अनुहार चिन्नै नसकिने गरी सडीगलिसकेको हालतमा हत्याको केही दिनपछि फेला परेको र लामो समय सनाखत पनि हुन सकिरहेको थिएन । डेढ महिनापछि घटनाको सत्यतथ्य बाहिर ल्याउन नेपाल प्रहरी सफल भएको छ । 

मृतक दुबैजना भारतीय मूलकै रहेछन्, मार्ने पनि भारतीय नै । भारत, बिहार सुगांव डीह, सुगौली पूर्वीचम्पारण घर भएका ३३ वर्षीय अखिलेश भगतले आफ्नी श्रीमती र आफन्त नाता पर्ने युवकलाई नाजायज सम्बन्धको निहुँमा मारेको खुलासा भएको हो । उनीहरु भरतपुरमा तरकारी तथा फलफूल व्यापार गरी बस्थे ।

यसैक्रममा आफ्नी श्रीमती ३० वर्षीया अस्मिता भन्ने सन्जु देवी र भतिजा नाता पर्ने १९ वर्षीय ऋषभकुमार कुशवाहाको सम्बन्धमा अखिलेशलाई शंका भयो । व्यापारको सिलसिलामा आउजाउ गर्दागर्दै दशैंपश्चात् मिलनचोकस्थित अखिलेशको कोठा नजिकै कोठा भाडामा लिएर ऋषभ पनि यतै बस्न थालेका थिए । 

अस्मिता र ऋषभ बीचको सम्बन्धलाई लिएर उनीहरुसँग झैझगडा पनि गर्ने गरेका अखिलेशले मंसिर २ गते दुबैलाई कोठामा एकसाथ मारेर मध्यराति साईकलमा पालैपालो लगी कल्भर्टमुनि लास लुकाएको पाइएको छ ।  दुवै शवको दुुबै हात र खुट्टा क्रस गरी डोरीले बाँधेर सोही डोरीले घाँटीमा समेत बाँधी डल्लो बनाई बोरामा राखेर पोको पारी फ्याँकिएको थियो । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले घटनास्थलको सूक्ष्म अनुसन्धान, प्राविधिक विश्लेषण एवम् सूचना संकलन समेतको विश्लेषण गरी घटनाको तथ्य पहिल्याउन सफलता मिलेको छ । 

घटनापछि भारततर्फ भागी गएका अखिलेश भारतमै समातिएका छन् । नेपाल प्रहरीले खोजतलासका लागि भारतीय प्रहरीसँग पनि समन्वय गरेको थियो । यसै सिलसिलामा भारतको प्रहरी थाना सुगौली बिहारमा अपहरण तथा व्यक्ति बेपत्ता सम्बन्धी एफआईआर दर्ता भई पुस १६ गते अखिलेश भारतीय प्रहरीद्वारा गिरफ्तार भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । अनुसन्धानको लागि अखिलेशलाई हाल भारतको केन्द्रीय कारागृह मोतीहारीमा राखिएको छ ।

सिआईबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जनाएअनुसार भारतीय प्रहरीको समन्वयमा निजलाई अनुसन्धान तथा सोधपुछ गर्दा नेपालको चितवनमा भतिज नाता पर्ने ऋषभकुमार कुशवाहा र आफ्नी श्रीमती अस्मिता भन्ने सन्जुदेवीलाई हत्या गरी आएको भनी अखिलेश भगतले स्वीकार गरेका छन् ।

 

टिप्पणीहरू