यसरी गर्न लागिएको छ राष्ट्रियसभा सदस्य निर्वाचनमा सुरक्षा प्रबन्ध

यसरी गर्न लागिएको छ राष्ट्रियसभा सदस्य निर्वाचनमा सुरक्षा प्रबन्ध

माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्वाचन आयोगले सरकारलाई निर्देशन दिएको छ । आयोगको आज बसेको बैठकले निर्वाचनमा आवश्यक सुरक्षा व्यवस्थाको निम्ति सरकार र गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो । 

निर्वाचनलाई सुव्यवस्थित रुपमा अघि बढाउन मतदाता, उम्मेदवार, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचनमा खटिएका कर्मचारी, निर्वाचन सामग्री, मतदान स्थललगायत निर्वाचनमा हुनसक्ने सम्भावित सुरक्षा चूनौतीलाई मध्यनजर गर्दै आयोगले उच्चस्तरीय निर्वाचन सुरक्षा समिति गठन गरेको थियो । 

समिति बैठकले सिफारिस गरेबममोजिम आयोगले तयार गरेको मतपत्र ढुवानी कार्ययोजनाअनुसार गृह मन्त्रालयको समन्वयमा सुरक्षा निकायबाट आवश्यक सुरक्षा प्रबन्ध मिलाउन भनिएको छ । 

त्यस्तै, राष्ट्रियसभा सदस्य निर्वाचनको निम्ति आवश्यक सुरक्षाको समुचित व्यवस्था मिलाउन, प्रदेश राजधानी रहेका जिल्ला (मोरङ, धनुषा, मकवानपुर, कास्की, दाङ, सुर्खेत र कैलाली) मा निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यमा खटिएका सम्पूर्ण जनशक्तिको सुरक्षा व्यवस्था मिलाउनुपर्ने हुछ । 

आयोगले मतदानका लागि आउने र जाने मार्ग तथा आवश्यक क्षेत्रमा आवश्यक सुरक्षा प्रबन्ध मिलाउन, मतदानस्थल वरपरका होटल व्यवसायीसँग समन्वय गरी मतदाताहरुको निजी खर्चमा बसोबासको प्रबन्ध मिलाउन आवश्यक समन्वय गर्ने पनि जनाएको छ । 

उम्मेदवार र मतदाताहरु निर्वाचन कार्यक्रममा सहभागी हुँदा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मात्र आवागमन गर्ने व्यवस्था मिलाउन तथा तोकिएका मतदानस्थल र मतगणनास्थलको सुरक्षा प्रबन्ध मिलाउनुपर्ने भनिएको छ ।

आयोगले जिल्ला सुरक्षा समितिलाई क्रियाशील तुल्याई निर्वाचन सुरक्षा व्यवस्थालाई प्रभावकारी एवम् भरपर्दो बनाउन निर्देशन दिएको छ । साथै निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि नेपाल प्रहरीलगायत सुरक्षा निकायबाट आवश्यक निगरानी गरी विवरण उपलब्ध गराइदिन सरकार, गृह मन्त्रालयमार्फत सुरक्षा निकायलाई निर्देशन दिने निर्णय गरेको हो ।

टिप्पणीहरू