फिरौती उठाउँदै गरेका तीनजना प्रहरीको फन्दामा

फिरौती उठाउँदै गरेका तीनजना प्रहरीको फन्दामा
सुन्नुहोस्

असुरैना–३, रुपन्देही घर भई चितवनको भरतपुर–१ मा व्यवसाय गरी बस्ने करन गुप्तालाई अपरिचित नम्बरबाट फोन आयो । फोन गर्नेले पैसा माग्दै नदिए मार्ने धम्की दियो ।

एनसेलका विभिन्न नम्बरबाट बारम्बार फोन गर्दै गुप्तासँग १५ लाख रुपैयाँ फिरौती मागियो । भनेको रकम नदिए गोली प्रहारबाट हत्या गर्ने धम्की दिनरात आयो । त्यसबारे जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी पर्यो । उजुरी परेको केही दिनमै तीनजना समातिए । 

फोनबाट ज्यान मार्ने धम्की दिँदै फिरौती रकम मागिएको भनी गत पुस २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी पर्नासाथ प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहको कमाण्डमा परिचालित टोलीले संलग्नहरुको पहिचान तथा खोजतलास अघि बढाएको थियो । विभिन्न प्रविधिको प्रयोग, सूचना संकलन तथा सशंकित व्यक्तिको विशेष निगरानी गरिएको थियो । 

अस्ति तीन जनालाई भरतपुरका विभिन्न स्थानमा फिरौती रकम उठाउन आएकै अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भरतपुर–२१ बस्ने २७ वर्षीय सरोज सुनार, भरतपुर–१ बस्ने २६ वर्षीय दिपक बिक र भरतपुर–२६ बस्ने २५ वर्षीय सागर प्रहरी नियन्त्रणमा छन् । उनीहरुविरुद्ध आपराधिक षड्यन्त्र मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

टिप्पणीहरू