प्रेमिकाका लागि भेष बदल्ने 'पागल प्रेमी'

प्रेमिकाका लागि भेष बदल्ने 'पागल प्रेमी'
सुन्नुहोस्

प्रेमिकाको परीक्षा दिन महिलाको भेषमा एक पुरुष परीक्षा हलमा छिरेको घटना यतिबेला भारतीय सञ्चारमाध्यमहरुमा चर्चाको विषय बनिरहेको छ ।

घटना पञ्जावको हो । गत जनवरी ७ मा कोटकपुरास्थित डीएभी पब्लिक स्कुलमा बाबा फरिद विश्वविद्यालय हेल्थ साइन्सेजद्वारा आयोजित स्वास्थ्यकर्मीको भर्ना परीक्षा हुँदै थियो । परमजीता कौर नाम गरेकी युवतीले पनि उक्त जाँच दिनुपर्ने थियो । तर, त्यसदिन व्यस्तताका कारण उनले परीक्षा दिन नभ्याउने भइन् । 

प्रेमिकाको परीक्षा दिन कस्सिए उनका प्रेमी अंग्रेज सिंह । महिलाजस्तै देखिन उनले भेष बदलेर प्रेमिकाकै कुर्ता-सुरुवाल लगाए । हातमा रातो चुरा, निधारमा टीका र ओठमा लिपिस्टिक पनि धसे । टाउकोमा कपाल छोप्न टोपी लगाए । अनि उनी परीक्षा हलमा पुगे । 

शुरुमा उनीमाथि कसैले शंका गरेनन्, । परीक्षा पनि सुरु भयो । तर, उनको त्यो धुर्त्याई १ घण्टाभन्दा बढी टिकेन । शंका लागेपछि त्यहाँ खटिएका परीक्षा गार्डले बोलाए । शुरुमा केही बोलेनन् उनी । गार्डले फेरि नजिकै गएर बोलाए । अब अवस्था यस्तो आयो कि उनलाई बोल्नैपर्ने भयो । जब आवाज केटाको आयो, एकछिन सबै अचम्ममा । 

त्यसपछि तत्काल महिला कर्मचारी बोलाएर शरीर चेकजाच गरियो । त्यसक्रममा थाहा भयो, प्रेमिकाको परीक्षा दिनका लागि अंग्रेजले यस्तो हर्कत गरेका थिए । 

अहिले यो घटना भाइरल बनिरहेको छ । कतिपय मानिसले व्यगं गर्दै परमजीता र अंग्रेजलाई लैला-मज्नुसँग तुलना गरेका छन् । मायाको लागि यस्तोसम्म गर्नुपर्ने अवस्था आयो भन्दै समाजिक सञ्जाल प्रयोगकर्ताहरुले टिप्पणी गरिरहेका छन् ।

टिप्पणीहरू