त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख कुटिए

त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख कुटिए

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख गोगन बहादुर हमालमाथि हातपात भएको छ । 

प्रहरी र अध्यागमनका कर्मचारीबीच उत्पन्न विवाद सुल्झाउन छलफल अघि बढाउने क्रममा उनीमाथि आक्रमण भएको बताइएको छ । हमालको दायाँ हातमा चोट लागेपछि विमानस्थलको आगमन एरियामा रहेको प्राथमिक उपचार कक्षमा ड्रेसिङ गरिएको छ ।  

अहिले विवाद समाधान गर्न महानगरीय प्रहरी आयुक्त कार्यालयका नायव महानिरीक्षक पूजा सिंह विमानस्थल पुगेकी छन् । तर, अध्यागमन प्रमुख हमालले माथिल्लो तहमा प्रतिवेदन गइसकेको भन्दै छलफल गर्न अस्वीकार गरेको बुझिएको छ । 

उनले यसअघि भएको विवादमा सिसिटीभी फुटेज हेरेर प्रहरी वा आफ्ना कर्मचारीको गल्ती पत्ता लगाउन आग्रह गरेका थिए । सोही क्रममा एक जना इन्सपेक्टरले हमाललाई पत्र ल्याउन आग्रह गर्दै धकेलेपछि ढोकाको धारमा ठोक्किएर उनको दायाँ हातमा घाउ भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

यसअघि दिउँसो विमानस्थलको प्रस्थानतर्फको (पास होन्डर सेक्यूरिटी चेक) इलाकामा अध्यागमनका शाखा अधिकृत छायालाल मोक्तानलाई प्रहरीले चेकजाँच गर्न आग्रह गरेकोमा उनले अस्वीकार गरेपछि लफडा शुरु भएको थियो । विवाद बढ्दै जाँदा ती कर्मचारीले प्रहरीलाई हात हालेको अर्को पक्षको दाबी छ ।

त्यसपछि सिसिटिभी फुटेज हेरेर विवाद मिलाउन दुवैतर्फका कर्मचारीहरु अध्यागमन कार्यालय पुगेका थिए । तर, अध्यागमन प्रमुख हमालले आफ्ना कर्मचारीको पक्ष लिएपछि उनीमाथि हातपात भएको हो ।

टिप्पणीहरू