अध्यागमनका कर्मचारी कुटिएको खबर माथि पठाइयो

अध्यागमनका कर्मचारी कुटिएको खबर माथि पठाइयो
सुन्नुहोस्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले आजको कुटपिटको घटनाका दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दै विभागलाई लिखित जानकारी गराएको छ ।

आज दिउँसो विमानस्थलको प्रस्थानतर्फको (पास होन्डर सेक्यूरिटी चेक) इलाकामा अध्यागमनका शाखा अधिकृत छायालाल मोक्तान र त्यहाँ सुरक्षमा खटिएका प्रहरीबीच विवाद कुटाकुटमा परिणत भएको थियो । उक्त घटनामा प्रहरीलाई दोषी औंल्याउँदै अध्यागमन कार्यालयले छानबिनका लागि विभाग गुहारेको छ । 

अध्यागमनको पत्रमा प्रहरीले घटनामा संलग्न आफ्ना कर्मचारीलाई जोगाउन खोजेको आरोपसमेत लगाइएको छ । घटनामा संलग्न प्रहरीको नामसमेत उल्लेख गर्दै उनीहरुले अश्लिल शब्द प्रयोग गरि निर्घात कुटपिट गर्दा मोक्तानको शरीरभरी निलडाम र चोटपटक लागेको पनि उल्लेख गरिएको छ । 

‘यस कार्यालयमा कार्यरत अध्यागमन अधिकृत छायालाल मोक्तानलगायत केही अध्यागमनमा कार्यरत साथीहरु मिति २०८०। १०।१२ गते बिहान करिब १२ बजेको समयमा आफ्नो प्रस्थान कक्ष तर्फको ड्युटी सकाइ एयरपोर्टको डि क्षेत्रको बाटो हुँदै आगमन कक्षतर्फ जाँदै गर्दा चेकजाँच गर्ने स्थानमा खटिएका प्रहरी जवाज रविरंजन गुप्ताले अश्लिल शब्द प्रयोग गरेको र पछि असई सञ्जय तामाङलगायतका ४–५ जना प्रहरी कर्मचारीहरुबाट निजमाथि लछारपछार गरि निर्घातरुपमा कुटपिट गरेको र सोका कारण निजको शरीरमा चोटपटक÷निलडाम लागेको छ’, पत्रमा घटना विवरण उल्लेख गर्दै लेखिएको छ । 

त्यसपछि सिसिटिभी फुटेज हेरेर विवाद मिलाउन खोज्दा उल्टै प्रमुख अध्यागमन अधिकृतमाथि समेत हातपात गरेको कार्यालयको दावी छ । यस घटनाको तत्काल कार्यालय प्रमुखलाई जानकारी गराई सरकारी कार्यालयमा काम गरिरहेका बखत निजामति कर्मचारीलाई गुण्डागर्दी शैलीमा ४–५ जना प्रहरीले कुटपिट गरेकाले सर्जिमिन मुचुल्का उठाउन र जाहेरी लिन नमानेको अध्यागमनको आरोप छ । 

घटनाको वास्तविकता बुझ्न सिसिटिभी हेर्नेक्रममा डिएसपी रेवतीरमण पोखरेल, इन्स्पेक्टर मधुसुदन विक, असई सञ्जय तामाङ र दर्जा नखुलेका प्रहरी प्रकाश चौधरीले मनिटर कक्षको ढोका थुनी प्रमुख अध्यागमन अधिकृत र अन्य कर्मचारीलाई कुटपिट गरेको पनि जनाइएको छ ।

 

टिप्पणीहरू