विमानस्थलभित्र खटिएका कर्मचारीको पाखुरामा कालोपट्टी

विमानस्थलभित्र खटिएका कर्मचारीको पाखुरामा कालोपट्टी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका कर्मचारीहरूले पाखुरामा कालोपट्टी बाँधेर काम गरेका छन् । अस्ति दिउँसो प्रहरी र अध्यागमनका कर्मचारीबीच भएको हात हालाहालको घटनाको विरोधमा उनीहरुले कालोपपट्टी बाँधेको बताइएको छ ।

हिजो दिउँसो अस्ति भएको हानाहानको सिसिटिभी फुटेज निरीक्षण गरिएको थियो । घटना छानबिनको निम्ति गठित समितिका संयोजक गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम नेतृत्वको टोली विमानस्थल पुगेर सिसीटिभी फुटेज निरीक्षण गरेको हो । 

टोलीमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला तथा सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसीलगायत थिए । कुटपिटको घटनाका दोषी प्रहरीलाई हदैसम्मको कारबाहीको माग गर्दै अध्यागमन विभागलाई कार्यालयले लिखित जानकारी गराएको छ ।

विमानस्थलको प्रस्थानतर्फको (पास होन्डर सेक्यूरिटी चेक) इलाकामा अध्यागमनका शाखा अधिकृत छायालाल मोक्तान र त्यहाँ सुरक्षमा खटिएका प्रहरीबीच विवाद अस्ति शुक्रबार कुटाकुटमा परिणत भएको थियो । घटनामा प्रहरीलाई दोषी औंल्याउँदै अध्यागमन कार्यालयले छानबिनका लागि विभाग गुहारेको थियो । 

सोही दिन अपरान्ह सिसिटिभी फुटेज हेरेर विवाद मिलाउन खोज्दा उल्टै प्रमुख अध्यागमन अधिकृतमाथि समेत हातपात गरिएको कर्मचारीको आरोप छ । घटनाको वास्तविकता बुझ्न सिसिटिभी हेर्नेक्रममा अस्ति डिएसपी रेवतीरमण पोखरेल, इन्स्पेक्टर मधुसुदन विक, असई सञ्जय तामाङ र दर्जा नखुलेका प्रहरी प्रकाश चौधरीले मनिटर कक्षको ढोका थुनी प्रमुख अध्यागमन अधिकृत र अन्य कर्मचारीलाई कुटपिट गरेपछि घटनाक्रमले नयाँ मोड लिएको हो ।

टिप्पणीहरू