मुलुकका निम्ति विमान अपहरण गर्ने ती महिला
लैला त्यो बेला भर्खरकी युवती थिइन्, २२ वर्षकी । उनलाई पनि प्यालेष्टिनी भूमिमा यहुदीको मुलुक इजरायल बनेको मन परेको थिएन । अरु प्यालेष्टिनीजस्तै उनी आफ्नो मातृभूमिबाट यहुदीलाई लखेट्न चाहन्थिन् । त्यसैले जर्ज हब्बासको नेतृत्वमा गठित प्यालेष्टाइन मुक्तिको लागि लोकप्रिय मोर्चा (पिएफएलपी) को सशस्त्र डफ्फामा सामेल हुन पुगिन् । लगत्तै उनलाई विमान अपहरणको तालिम दिइयो । तालिममा हतियार चलाउने कला, विमानको यान्त्रिक ज्ञान, चालककक्षमा हुने यन्त्र आदि थियो । १ वर्षको तालिम सन् १९६९ को अगस्तमा सकियो । लगत्तै उनले आदेश पाइन् ‘ट्रान्स एअरलायन्सको रोमबाट एथेन्सको लागि उड्ने बोइङ ७०७, उडान नं. ८४० लाई अपहरण गरी सिरियाको दमास्कसस्थित विमानस्थलमा उतार्नु ।’ यो काम फत्ते गर्न एकजना पुरुष साथी सहयोगीको रूपमा मिल्ने र उनलाई रोमको विमानस्थलमा भेट्ने सूचना पनि त्यसैमा थियो ।
लैलालाई त्यस्तो पेस्तोल र दुइटा हातेबम दिइयो जुन विमानस्थलमा चेकजाँच गर्न राखिएको यन्त्रले पनि थाहा नपाउने किसिमको थियो । उनी एक्लै बेरुतबाट उडेर रोम पुगिन् । योजनाबमोजिम रोममा इस्सावीसित सलिम भयो, जसको फोटो उनले पहिल्यै पाइसकेकी थिइन् । उनी पिएफएलपीको चे ग्वेभारा युनिटका महत्वपूर्ण सदस्य थिए । आधा घण्टा ढिलो उड्ने उक्त विमानमा उनीहरू समयमै चढे । उडान जम्मा ९० मीनेटको थियो । उनीहरूलाई विमान आकाशमाथि पुग्नेबित्तिकै अपहरण गर्नु भनिएको थियो ।
लैला र सलिमको सिट आसपास थियो ।एयरहोस्टेसले लैलालाई कफी र इसाबीलाई बियर सर्भ गरिन् । तर, लैलाले केही खाइनन् । बरु आफूलाई चिसो लागेर पेट दुखेको भन्दै अतिरिक्त कम्बल मगाइन् । कम्बल पाउनासाथ आफूसँग भएको ह्यान्ड ग्रिनेड र पेस्तोललाई त्यसमुनि लुकाइन् । जब विमानका कर्मचारीले खाना ल्याउन शुरु गरे, सलिम कुदेर ककपिटसम्म पुगे । उनको पछि–पछि लैला पनि आफ्नो काखमा राखिराखेको ह्यान्ड ग्रिनेड लिएर दौडिइन् । उनी दौडिँदा ठक्कर लागेर एयर होस्टेसको हातबाट ट्रे झर्यो । उनी जोडले चिच्याइन् । त्यसक्रममा कम्मरमा रहेको पेस्तोल प्यान्टभित्रबाट भुइँमा खस्यो । हत्तपत्त पेस्तोल हातमा लिइन् अनि फस्र्ट क्लासका सबै यात्रु र विमानकर्मीलाई इकोनोमी क्लासमा जान आदेश दिइन् ।
लैला खालिदलाई पाइलट र एयर ट्राफिक कन्ट्रोलसँग कुराकानी गर्न भनिएको थियो । शुरुमा पाइलटलाई विमान इजरायलको लोद हवाई अड्डा लैजान भनिन् । इजरायली क्षेत्रमा प्रवेशलगत्तै तीनवटा मिराज विमान उड्न लागे । यो देखेपछि यात्रु आतंकित बने, उनीहरूलाई इजरायली विमानले आफू चढेको विमान गिराउँछ कि भन्ने त्रास भयो । लैलाले एयर ट्राफिक कन्ट्रोलमा सम्पर्क गरेर भन्न लगाइन्, ‘अब हामीलाई फ्लाइट ८४० होइन पिएफएलपी अर्थात् फ्री प्यालेस्टाइन भनेर संबोधन गर्नुस् ।’ पाइलटले शुरुमा लैलाको यो निर्देशन मान्न तयार भएनन् ।
तर लैलाले ह्याण्ड ग्रिनेड देखाएपछि विरोध गर्न छाडिदिए । लैलाले केवल इजरायलीहरूलाई धोका दिन लोदतर्फ विमानलाई लान दिइएकी थिइन् । विमानस्थलमाथि अपहरित विमान उडिरह्यो, तल सयौँ इजरायली सैनिक र ट्यांक यसलाई ध्वस्त पार्न तैनाथ थिए । लैलाले लगत्तै विमानलाई दमास्कसतर्फ लैजान आदेश दिइन् । उनले आफ्नो आत्मकथामा लेखेकी छन्, ‘जब मैले प्यालेस्टाइनी भूमि देखें । तब एक मीनेटका लागि कुनै अभियानको हिस्सा हुँ भन्ने नै भुलेँ । यहाँ रहेकी आफ्नी हजुरआमा, फुपूहरू र हरकोहीलाई चिच्याएर घर आउँदैछु भनौँ कि जस्तो लाग्यो ।’
दमास्कस विमानस्थलमा अवतरणपछि ७ जना चालक दलका कर्मचारी र १ सय २० जना यात्रुलाई बाहिर निस्कन दिइयो । यसपछि सलिमले ककपिटमा बम राखे । र, आफूहरू बाहिर निस्केपछि विमानलाई बमले उदाइदिए । उनीहरूको नजरमा प्यालेष्टाइनी जनतातर्फ विश्वको ध्यान खिच्ने यो सबैभन्दा प्रभावकारी तरिका थियो । यात्रु रिहाइको बदलामा सिरिया र इजिप्टका ७१ जना सैनिकलाई छुटाउन पनि उनीहरू सफल भए । पहिलो प्रयासमै सफलता हासिल गरेपछि रातारात लैलाले पहिलो महिला विमान अपहरणकर्ता र प्यालेष्टाइनी नायिकाको रूपमा चर्चा कमाइन् । प्यालेष्टिनीहरूले उनलाई सादिया अबु घजलीको नाउँले पुकार्न थाले । सादिया २१ वर्षको कलिलो उमेरमै सन् १९६९ मा इजरायली सेनाको गोली खाएर मारिने शहीद थिइन् ।
यसपछि इजरायली सेनाले मार्न सक्छन् भन्ने थाहा हुँदाहुंदै संगठनले लैलालाई मध्यपूर्वको यात्रामा पठायो । यद्यपि, उनको साथमा थुप्रै अंगरक्षकको ब्यवस्था गरिदिएको थियो । शत्रु राष्ट्रको हमलाबाट बच्न यसबीच उनले ६ पटक अनुहारको प्लास्टिक सर्जरी गराइन् । सेप्टेम्बर १९७० मा लैलाले युरोप यात्रा गरिन् । जर्मनीको स्टुटगार्टमा निकारागुआमा सशस्त्र संघर्षरत कम्युनिष्ट पार्टी सान्डिनिस्ताका एक अगुवा कमान्डर प्याट्रिक आरग्युलोसँग भेटिन् । ६ सेप्टेम्बरमा दुवैजना न्युयोर्कको टिकट लिएर आम्सटर्डम गए र न्युयोर्क जाने इजरायली एयरलाइन्स इएलएआइ २१९ को बोइङ ७०७ विमान चढे । प्यालेष्टिनी अपहरणमा पर्ने डरले इजरायलले विमानमा तीन चरणको सुरक्षा व्यवस्था गरेको थियो अर्थात यात्रुको ३ पटक तलाशी लिइन्थ्यो । विमानमा हतियारधारी मार्शल पनि राख्न थालिएको थियो । यो पटक लैला र साथी आग्र्युलो इकोनोमी क्लासमा थिए । दुवैसँग हतियार थियो । लैलासँग दुईवटा ह्याण्ड ग्रिनेड थियो भने आग्र्युलोसँग एउटा । लैलाले निकै छोटो स्कर्ट लगाएकी थिइन् । सम्पूर्ण नक्सा त्यही स्कर्टभित्र लुकाएकी थिइन् ।
लैला ककपिटतर्फ दौडिन् तर उनी छिर्न नपाउँदै पाइलटले ढोका भित्रबाट बन्द गरिदिए । लैलाले विशेष खाले आफ्नो ब्राबाट दुईवटै ग्रिनेड निकालीन् तर त्यसैबेला विमानमा सवार माशलहरूले गोली चलाउन थाले । आग्र्युलोले जवाफी फायर गरे, जो मार्शल स्लोमो वाइडरको खुट्टामा लाग्यो । यसबीच आग्र्युलोलाई पनि गोली लाग्यो । लैलामाथि दुई गार्ड र यात्रुहरूले हमला गरे । सबै मिलेर उनलाई बेस्सरी कुटे । यसैबीच पाइलटले विमानलाई अचानक तल झारे जसको कारण लैला असन्तुलित भएर लड्न पुगिन् । यसको बाबजुद आफ्नो दाँतको सहयोगले ग्रिनेडको पिन निकाल्ने कोसिस गरिन् । उनीहरू उभिन कोसिस मात्र के गरेका थिए पछाडि रहेका सुरक्षाकर्मीहरूले फायरिङ गरे ।
लैलाले तीनसम्म गन्छु भनेर चेतावनी दिइन् । यदि तिमीहरूले ३ सम्म गनिसक्दा पनि ककपिटको ढोका खोलनौ भने जहाजलाई नै उडाइदिन्छु भनेर चेतावनी दिइन् । वास्तवमा उनी विमानलाई ध्वस्त गर्न चाहँदैन थिइन् । उनीहरूले ढोका खोलेनन् । केही क्षणपछि कसैले टाउकोमा पछाडिबाट हिर्कायो । उनी बेहोस भइन् । यात्रुहरूले लगाइराखेको टाइ फुकालेर उनको दुवै हात बाँध्न मद्दत गरे । उता आग्र्युलोले पनि ४ वटा गोली खाए । त्यसपछि विमान लण्डन एयरपोर्टमा अल्पकालीन अवतरण ग¥यो । आग्र्युलोको शवलाई विमानबाट निकाल्दै गरेको लैलाले देखिन् र आफ्नो हात खोलिदिन आग्रह गरिन् । शव नजिकै उभिएर आग्र्युलोको हात समाइन्, मित्रताको भावले ओंठ चुमिन् अनि रोइन् । धन्न, लैला ब्रिटिश प्रहरीको कब्जामा परिन् । इजरायलीहरूको कब्जामा परेको भए मारिन्थिन् ।
सोही वर्ष उनको संगठनले अर्को एउटा विमान अपहरण ग¥यो र यात्रुको बदलामा उनलाई रिहा गरायो । छुटेपछि केही समय उनी राजनीतिमा लागिन् । ‘माइ पिपुल स्याल लिभ’ पुस्तक लेखिन् । उनको जीवनीमा आधारित पुस्तक निस्क्यो । वृत्तचित्र बन्यो । प्यालेष्टिनीले जताततै उनको फोटो अंकित पोष्टर प्रचारमा ल्याए । उनी चर्चित पोष्टर गर्ल बनिन् ।
लैला खालिदकी आमा इजरायल देश स्थापना गर्ने उद्देश्यले त्यहाँबाट भगाइएका हजारौं प्यालेष्टिनीमध्येकी एक थिइन् । उनी ८ जना सन्तानलाई च्यापेर भाग्दै लेबनानको टायर नगरमा पुगेकी थिइन् । लैलाको जन्म सन् १९४४ मा त्यहीं भएको थियो । उनीहरू राष्ट्र संघले शरणार्थीहरूलाई बाँड्ने राशन खाएर हुर्केका हुन् । लैलाले शरणार्थी शिविरमै स्थापित स्कूलमा पढिन् । पछि अमेरिकी मिशनरी स्कूलमा पढेर औषधी विज्ञानको निम्ति बेरुत गइन् । तर, आर्थिक अभावको कारण पढाइ बीचैमा छाड्नुपर्यो । भाइ बहिनीहरूको पढाइ खर्च उठाउन करिब ६ वर्ष शिक्षिका बनिन् । आफूले भोग्नुपरेको यी सम्पूर्ण परिस्थितिको जिम्मेवार आफूहरूलाई मातृभूमिबाट बेदखल पार्ने इजरायल र साम्राज्यवादी पश्चिमा मुलुकहरूलाई ठानिन् र प्यालेष्टाइन मुक्तिको मार्गमा होमिइन् ।
लैला यतिबेला जोर्डनको अम्मानमा बस्छिन् । चिकित्सक फयान्ज रसी हिलालसँग बिहे गरेकी उनका दुई छोराछोरी छन् । सन् २०११ मा स्विडेनमा आयोजित मे दिवस कार्यक्रममा पाहुनाको हैसियतमा भाग लिएकी थिइन् । उक्त कार्यक्रम त्यहाँको कम्युनिष्ट पार्टीले आयोजना गरेको थियो । सन् २०१७ मा रोमको लागि प्रस्थान गरिन् तर इटलीको सरकारले विमानस्थलमै रोक्यो । उनी अझै पनि आतंकवादी संगठनको सदस्य रहिरहेको आशंकामा इटली प्रवेशमा रोक लगायो । लियोनार्डो भिन्सी एअरपोर्टबाट सिधै अम्मान फर्केकी । उनी यतिबेला ७९ वर्षकी भइन् ।
टिप्पणीहरू