आफ्नो चरित्रहत्या गर्न खोजेको शोभाको आरोप
नेकपा (एमाले) का नेता महेश बस्नेतसँग नाम जोडिएकी शोभा (जानुका) पाठकले नियोजित रुपमा आफ्नो चरित्रहत्या गर्न खोजेको बताएकी छन् । एमालेनिकट युवा संघका ईञ्चार्ज एवं केन्द्रीय र पोलिटब्युरो सदस्य बस्नेतका समर्थकहरुले आफ्नो चरित्रहत्या गर्न सामाजिक सञ्जालमा निराधार सामग्रीहरु हालेको उनको आरोप छ ।
आफ्नो मानमर्यादा र प्रतिष्ठामा आघात पुर्याउने सामग्रीहरु पोष्ट गरेर बद्नाम पार्न खोजिएको उनले बताइन् । बस्नेतका समर्थकहरुले खोलेको फेसबुक पेजमा शोभामाथि विवाह असफल भएपछि मुलुकको प्रतिष्ठित व्यक्तिलाई हनिट्रयापमा पार्न खोजेको आक्षेप स्टाटस् पोष्ट गरिएको छ । महेश बस्नेत फ्यानक्लब नामक फेसबुक पेजमा लेखिएको छ,‘तेस्रो विवाह पनि असफल भएपछि हनिट्रयापको धन्दा र अनावश्यक रुपमा विभिन्न प्रतिष्ठित व्यक्तिसँग ब्ल्याकमेलिङ्गपछि बद्नामीको खेती ।’
पुरुषहरुलाई हनिट्रयापमा पारेकोलगायतका स्टाटसहरु हालेर आफूमाथि प्रहार गरेको उनले बताएकी छन् । बिना प्रमाण आफ्नो चरित्रमा लाञ्छना लगाइएको उनको दाबी छ । उनका अनुसार दाइसम्मको नाम जोडेर बद्नाम पारिएको हो । बस्नेतका समर्थकहरुले सामाजिक सञ्जालमार्फत श्रृंखलाबद्ध रुपमा जथाभावी लेखेर आरोप लगाउन थालेपछि शोभाले पनि सामाजिक सञ्जालमार्फत नै त्यसको उत्तर दिएकी छिन् ।
उनले लेखेकी छन्,‘सबै फोटो एसएमएस २८० पानाकै अब म दिनेछु । अति नै गरियो त्यो निलम्बन आचार्यलाई नचिनेको कोही छ बोलाएर सोधे हुन्छ । वेश्यालयमा काम गर्ने मान्छेलाई पनि वे... भन्न पाइन्न यो देशमा कानुन छैन । म चुपचाप बसेकोले हद गरियो ।’
उनले बस्नेतसँग जोडिएका तस्बिरहरु पनि आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेकी छन् । आज बिहान पुनः स्टाटस लेख्दै गर्ने उनले आफ्नो बद्नाम गर्ने मिडिया र युट्युबमथि कानुनी कारबाही अगाडि बढाउने चेतावनी दिएकी छन् ।
सत्य अवश्य पनि बाहिर आउने उल्लेख गर्दै उनले भनेकी छन्,‘सत्य एकदिन चिच्याउँदै आउने छ अनि याद हुन्छ मेरो बद्नाम गर्न विभिन्न लाञ्छनालगायत केही हुन्न साथीहरु । पुलिसले ढिलोसुस्ती गर्न ममाथि चार मुद्दा लगाउने षड्यन्त्रमा मान्छे खडा गर्न लागेका छन् । हिजो केही सिप नलागेपछि युट्युब बद्नाम गर्न लाग्यो । कुनै प्रमाणबिना मनलाग्दी लेख्नु बोल्न पाइन्न, पावर र पदले कानुनले छोड्ने छैन् । म बिना प्रमाण केही बोल्ने र गर्ने छैन् । लेख्ने मिडिया र युट्युब डाउनलोड गर्न नै कानुनी रुपमा अगाडि बढ्ने छु । कानुन के हो याद होस् ।’
यतिबेला एमालेमा बस्नेत र शोभाको सम्बन्धले तरङ्ग ल्याएको छ । सो विषय बाहिर आएपछि हाल एकअर्कामाथि आरोप–प्रत्यारोप गर्ने क्रम चलेको छ । शोभाले आफ्नो ज्यानमाथि नै खतरा भएको बताएकी छन् । यता, बस्नेतमाथि शोभालाई अपार्टमेण्टमै आफ्ना मान्छे पठाएर कुटपिट गरेको आरोप लागेको छ । बिजुलीबजारस्थित बस्नेतले भाडामा लिएर राखेको ‘भिआइपी’ अपार्टमेण्टमा उनीमाथि केही दिनअघि हमला भएको थियो ।
सो घटना हुनेबित्तिकै उनले बस्नेतलाई किटान नगरी बानेश्वर प्रहरीमा उजुरी दिएकी थिइन् । उनले सोही साँझ टेकु प्रहरीमा जबरजस्ती करणीको जाहेरी र पार्टी कार्यालयमा उजुरी दिन खोजेकी थिइन् । तर, प्रहरी र पार्टी कार्यालयले नै उजुरी दर्ता गर्न नमानेको शोभाको भनाइ छ ।
टिप्पणीहरू