जिबी राई समातिएको खबर ‘फण्डा’ भएको दावी

जिबी राई समातिएको खबर ‘फण्डा’ भएको दावी
सुन्नुहोस्

रवि लामिछानेले पुनः गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्नासाथ ग्यालेक्सी फोर–के टेलिभिजनका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई सिंगापुरमा समातिएको हल्ला आज बिहानैदेखि चलाइयो । मलेसियामा बस्दै आएका उनी सिंगापुर पुगेको बेला उतै पक्राउ परेको भनियो । 

राई पक्राउ परेकोबारे औपचारिक रुपमा कसैले बताएनन् । उच्च सरकारी अधिकारीदेखि प्रहरीका हाकिमहरु नै समाचार सुनेर चकित भएको बताउँछन् । प्रहरी स्रोतले आफूहरुलाई यसबारे औपचारिक अनौपचारिक कुनै जानकारी नभएको बिहानै जानकारी दिएको थियो ।

पोखराको सूर्यदर्शनलगायत चितवन र काठमाडौंका सहकारी संस्थाबाट अर्बौं रुपैयाँ अपचलन गरेर भागेका राई पक्राउ परेको समाचारबाट निक्षेप डुबाएका सर्वसाधारण पनि झस्किए । जबकि उनीहरुले सहकारीमा जम्मा गरेको पैसा लगेर खोलिएको टेलिभिजन केही महिनादेखि बन्द छ । 

ग्यालेक्सी टेलिभिजन खोल्दा अध्यक्ष जीबी राई थिए भने हालका गृहमन्त्री रवि लामिछाने त्यसको हर्ताकर्ता अर्थात् प्रबन्ध निर्देशक ।

‘रातभरमा त्यस्तो सम्भव हुन्छ ? हाम्रोमा पनि टापटिपेहरुको बाहुल्यता बढेकाले साइबर खेलाडीले ट्रोलका लागि उक्त समाचार बनाएर छ्याप्छ्याप्ती पारेको हुनुपर्छ ।’

उक्त समाचारबारे थप पुष्टिका लागि जनआस्थाले केहीबेर अघि नेपाल प्रहरीका उच्च अधिकारीहरुसँग सम्पर्कको प्रयास गरेको थियो । अधिकांशले जिबी पक्राउबारे बोल्न चाहेनन् भने एक जनाले दिउँसो ३ बजेसम्म उक्त समाचारमा कुनै सत्यता नभएको दावी गरेका छन् ।

विदेशमा रहेका अपराधी पक्राउ र हस्तान्तरणको प्रक्रियाबारे उनले भने ‘त्यस्तालाई समाउने भनेको सिआइबी या बिशेष ब्युरोमार्फत् हो । विदेशमा पक्रेर पठाउँदा उताको प्रहरीले खबर गर्छ नै । त्यसकारण समातिएकै भए पनि सबैभन्दा पहिले नेपाल प्रहरीलाई थाहा हुनुपर्थ्यो । रेड कर्नर नोटिस जारी भएकालाई पक्राउ गर्दा ऊ सम्बध्द मुलुकको प्रहरीलाई तत्काल जानकारी गराउनुपर्ने अन्तर्राष्ट्रिय कानुनी व्यवस्था छ ।’

‘त्यसो भए कसरी यस्तो हल्ला आयो त ?’ भन्ने जिज्ञासामा नाम नबताउने शर्तमा उनले भने, ‘शायद गृह मन्त्रालयमा नयाँ नेतृत्व आएको बेला कुनै समूहले काम देखाउन फण्डा गरेको पनि हुनसक्छ । रवि लामिछानेले राति गृह मन्त्रालयको जिम्मेवारी लिएपछि भोलिपल्ट बिहान उनी पनि मुछिएको पहिलेको घटनामा फरार अर्का व्यक्ति सिंगापुरमा पक्राउ परेको समाचार भनेर सनसनी मच्चाइएकाले केही न केही खेल हुनैपर्छ ।’ 

स्वयम् रास्वपाका केही नेता तथा कार्यकर्ताले भने उक्त समाचारप्रति आश्चर्य व्यक्त गरेको पाइएको छ । जिबी पक्राउ परेको समाचारप्रति उनीहरुले सामाजिक सञ्जालमार्फत आश्चर्य व्यक्त गरेका हुन् । रास्वपा समर्थित एक जनाले भने, ‘रातभरमा त्यस्तो सम्भव हुन्छ ? हाम्रोमा पनि टापटिपेहरुको बाहुल्यता बढेकाले साइबर खेलाडीले ट्रोलका लागि उक्त समाचार बनाएर छ्याप्छ्याप्ती पारेको हुनुपर्छ ।’

टिप्पणीहरू