उपचुनावको आचारसंहिता भोलिदेखि लाग्ने, निर्वाचन आयोगको छ बुँदे निर्णय

उपचुनावको आचारसंहिता भोलिदेखि लाग्ने, निर्वाचन आयोगको छ बुँदे निर्णय

आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि भोलिदेखि आचारसंहिता लाग्ने भएको छ । निर्वाचन आयोगले भोलिदेखि लागू हुने आचारसंहिता निर्वाचन सम्पन्न नभएसम्म कायम रहने जनाएको छ । 

आयोगका सहसचिव एंव प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार भोलिदेखि सबै तहका सरकार, सरकारी तथा अर्धसरकारी कार्यालय, निकाय र कर्मचारीमा आचारसंहिता लागू हुनेछ । त्यस्तै, निर्वाचनमा सहभागी कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ संगठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारण गरेका व्यक्ति, पर्यवेक्षकले पनि आचारसंहिता पालना गर्नुपर्नेछ । 

सबै सञ्चार प्रतिष्ठान वा सोका कर्मचारी तथा सञ्चारकर्मी, एनजीओ, विश्वविद्यालय र सामुदायिक विद्यालयका शिक्षक, कर्मचारीले पनि आचारसंहिता पालना गर्नुपर्ने आयोगको विज्ञप्तिमा उल्लेख छ । आउँदो वैशाख १५ गते प्रतिनिधिसभातर्फ रिक्त इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेशसभा १ मा उपचुनाव हुँदैछ । 

आयोगको छ बुँदे निर्णय 

निर्वाचन आयोगले उपनिर्वाचनका सन्दर्भमा छ बुँदे निर्णय पनि गरेको छ । आयोगको आज बसेको बैठकले भोलिदेखि लागू हुने आचारसंहिताको कडाईपूर्वक कार्यान्वयन गर्ने जनाएको छ । 

त्यस्तै, वैशाख २ गतेदेखि उपनिर्वाचन सम्पन्न नभएसम्म सम्बन्धित जिल्लामा मदिराजन्य पदार्थ बिक्रीवितरण तथा सेवनलाई नियन्त्रण गर्न गराउन गृह मन्त्रालयलाई लेखी पठाउने भनिएको छ । 

त्यस्तै, उपनिर्वाचन हुने क्षेत्रका मतदात स्थल तथा केन्द्र रहेका विद्यालयहरुको उपयोग गर्नुपर्ने भएकोले दुई दिनका लागि विद्यालयमा सार्वजनिक बिदाको व्यवस्था मिलाउन मुख्य सचिवमार्फत सरकारलाई लेखी पठाउने पनि निर्णय गरिएको छ । 

आयोगले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न मातहतका सबै निकायको परिचालनका निम्ति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत राष्ट्रिय अनुसन्धान विभाग र गृह मन्त्रालयमार्फत नेपाल प्रहरीलाई आग्रह गर्ने समेत निर्णय गरेको जनाएको छ । 

यता, उपचुनाव हुने जिल्लामा सार्वजनिक यातायात सञ्चालन तथा व्यवस्थापनका लागि गृह मन्त्रालय तथा निर्वाचनका क्रियाकलापमा परिचालन हुने कर्मचारी र सुरक्षाकर्मीहरुबाट सबै उम्मेदवार र राजनीतिक दलप्रति समान व्यवहार गर्न सम्बन्धित निकायहरुलाई आवश्यक सर्तकता अपनाउन निर्देशन दिने पनि आयोगले बताएको छ । 

आयोगले आचारसंहितको पालना तथा राजनीतिक दल एंव उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सम्बन्धमा नेपाल प्रहरी, अन्य सुरक्षा निकाय, कुनै कार्यालय वा व्यक्तिमार्फत आवश्यक सूचना र विवरण लिई तत्काल कारबाही गर्ने समेत जानकारी दिएको छ ।

टिप्पणीहरू