स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको चर्को अभाव, सरकारी नीति निस्प्रभावी

स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको चर्को अभाव, सरकारी नीति निस्प्रभावी
सुन्नुहोस्

लामो समयदेखि विदेशमा काम गर्ने इच्छा राखेकी २८ वर्षीया नर्स अंशुको सपना साकार हुँदैछ । उनले बेलायतमा रोजगारी कार्यक्रमअन्तर्गत जागिर पाएकी छन् । उनले राम्रो आम्दानीसँगै जीवनस्तर माथिल्लो तहको हुने आशा राखेकी छन् । 

अंशुु भन्छिन्, ‘अहिले मेरो कामको प्रशंसा भइरहेको छ ।’ यतिखेर मुलुकभित्रैको एक निजी अस्पतालमा कार्यरत उनको मासिक तलब करिब २६ हजार रुपैयाँ छ । बेलायत गएपछि कम्तिमा १० गुणा बढी कमाउने अनुमान गरिएको छ ।

बेलायतमा जागिर पाउने अंशु एक्ली नर्स होइनन् । नेपालका धेरै नर्सले द्विपक्षीय सरकारी कार्यक्रमअन्तर्गत बेलायतमा रोजगारी पाइसकेका छन् । तर, तालिम प्राप्त नर्सहरू वैदेशिक रोजगारीमा गएका कारण नेपालमा नर्स र अन्य स्वास्थ्यकर्मीको अभाव हुने चिन्ता बढ्दै गएको छ ।

सरकारको यो योजना अझै प्रयोगात्मक चरणमा रहेको बताइन्छ । पाइलट चरणमा ४३ जना नर्सलाई मात्रै बेलायतमा रोजगारी दिइएको छ । वैदेशिक रोजगार विभागले यो योजनाको दोस्रो चरणको प्रस्ताव गरेको र बेलायतले १० हजार नेपाली नर्स भर्ना गर्न चाहेको जनाएको बताइन्छ । 

नेपाली नर्सको आपूर्तिपछि बेलायतमा रहेको राष्ट्रिय स्वास्थ्य सेवामा प्रशिक्षित स्वास्थ्यकर्मीहरूको कमीलाई पूर्ति गर्ने विश्वास बेलायत सरकारको छ । यसबाट नेपालमा स्वास्थ्यकर्मीको अभाव अझै गहिरिने खतरा नेपालका नर्सिङ अधिकारीहरुले व्यक्त गरेका छन् ।

नर्सिङ र सामाजिक सुरक्षा डिभिजन नेपालमा सार्वजनिक स्वास्थ्य सेवाहरूको निरीक्षण गर्न जिम्मेवार सरकारी विभाग हो । यसका निर्देशक हीरा कुमारी निरौला भन्छिन्, ‘अवस्था पहिले नै चिन्ताजनक छ ।’

‘हामीले भर्खरै खाँचोमा परेका समुदायमा नर्सिङ सेवा उपलब्ध गराउन सामुदायिक स्वास्थ्य नर्सिङ र स्कुल नर्सिङ कार्यक्रमहरू सुरु गरेका छौं । तर चुनौती भनेको धेरै ठाउँमा काम गर्न इच्छुक नर्सहरू फेला नपर्नु हो,’ उनले भनिन् ।

नेपाललाई विभिन्न अस्पताल, ग्रामीण क्लिनिक र अन्य स्वास्थ्य संस्थामा करिब ४५ हजार नर्सको आवश्यकता छ । यतिखेर ती संस्थामा नर्सको संख्या आधाभन्दा कम देखिन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका ५५ देशमध्ये नेपाल स्वास्थ्यकर्मीको चरम अभावमा परेको छ । नर्सको ठूलो अभाव भोगिरहेको बेलामा सरकारले नै नर्सहरूलाई बसाइँ सर्न हौसला दिएपछि अहिलेको अवस्था देखिएको हो ।

अर्कोतर्फ सरकारले बेलायतसँगको सम्झौताको कडा प्रतिरक्षा गरिरहेको छ । यस्ता सम्झौताले प्रवासी नर्सहरूको अधिकार सुनिश्चित गर्ने सरकारी तर्क छ । गैरकानुनी रूपमा विदेश जाने कामदारको उत्पीडनमा कमी आउने र कामदारमाथि हुने दुर्व्यवहार रोकिने विश्वास लिइएको छ ।
विभागका सूचना अधिकारी कविराज उप्रेती भन्छन्, ‘अवैध माध्यमबाट अन्य मुलुकमा प्रवेश गरेका नेपाली नर्सहरू ठगीको सिकार हुने र उत्पीडनका साथै उत्पीडनमा परेको खबर आएको छ । यी सबैलाई हेर्दा यो सम्झौता कोसेढुङ्गा साबित हुने देखिन्छ ।’

जिम्बाब्वेदेखि फिलिपिन्ससम्मका धेरै देशमा स्वास्थ्यकर्मीहरूको आफ्ना देशप्रति मोहभंग भएको देखिन्छ । यसलाई चिन्ताजनक प्रवृत्ति मानिएको छ ।

राम्रो तलब र सुविधाका कारण ती देशका स्वास्थ्यकर्मीले बेलायत, अष्ट्रेलिया, क्यानडा र अमेरिका जस्ता देशमा रोजगारीलाई प्राथमिकता दिइरहेका छन् । नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका १ लाख १५ हजार ९ सय नर्समध्ये एक तिहाइले विदेशमा काम गर्न नाम दर्ता गराएका छन् ।

नेपालबाट विदेशिएका कुल नर्समध्ये आधा अमेरिका गएका छन् । त्यसपछि सबैभन्दा लोकप्रिय देशको रुपमा अष्ट्रेलिया र संयुक्त अरब इमिरेट्स देखिएका छन् । पछिल्लो समय बेलायत जाने चलन पनि सुरु भएको छ तर अहिलेसम्म त्यहाँ करिब ५ सय नर्स मात्र पुगेको बताइन्छ । 

नेपालमा स्वास्थ्य क्षेत्रमा अन्य चुनौतीहरू छन् । सरकारी अधिकारीहरु मुलुकमा स्वास्थ्यकर्मीको संख्या घट्नुको कारण विदेश पलायन मात्र नभएको तथ्य अघि सार्छन् । ठूलो संख्यामा स्वास्थ्यकर्मीहरु विदेश जानुको कारण स्थायी, दीर्घकालीन र उपयुक्त रोजगारी दिन नसक्नु हाम्रो समस्या हो । सरकारले स्वास्थ्य क्षेत्रमा कूल बजेटको चार प्रतिशत मात्रै विनियोजन गर्नुले पनि अवस्था भयावह बनेको छ ।

तीन करोड जनसंख्या रहेको नेपालको स्वास्थ्य क्षेत्रमा आर्थिक स्रोत सीमित छ । यसले पनि नर्सहरू विदेशमा पलायन हुन सघाएको छ । राजधानी काठमाडौंको एक निजी अस्पतालको आईसीयूमा कार्यरत २५ वर्षीया गृष्मा बस्नेत कम तलब र कामको चर्को दबाबको गुनासोले थकित भएको अनुभव पोख्छिन् । उनले अमेरिकामा कामका लागि आवेदन दिएकी छन् । तर पछि त्यहाँबाट फर्किने बताएकी गृष्माको यतिखेर मासिक तलब १५ हजार मात्रै छ ।

उनको गुनासो छ, ‘विश्व मापदण्डअनुसार आईसीयूमा एक जना नर्सले मात्र बिरामीको हेरचाह गर्नुपर्छ, तर मैले तीनजना बिरामीको हेरचाह गर्नुपर्छ, यो शोषण होइन र?’ बस्नेत आफ्नो भविष्यलाई लिएर खासै उत्साहित देखिन्नन् ।

(एजेन्सीहरुको सहयोगमा)

टिप्पणीहरू