हेटौँडा अस्पताल कोल्याप्स, जीवित पार्ने दलको प्रयास !
संघीय सरकारले वर्षौंदेखि सञ्चालन गर्दै आइरहेको हेटौँडा अस्पताललाई सुधार गर्ने अनेकन प्रयत्न नभएका होइनन् । तर, ती प्रयत्नले साकार रूप नलिइरहेको परिस्थितिमा अहिले पनि मानिसहरू हेटौँडा अस्पताललाई ‘रिफर सेन्टर’ को रूपमा परिभाषित गर्ने गर्छन् । अस्पतालको वर्तमान अवस्था भने ‘रिफर सेन्टर’ होइन, अत्याधुनिक प्रविधिसहित ठूलो भौतिक संरचना निर्माण भएपछि अहिले मकवानपुरबासीले प्रदेश राजधानी हेटौँडामा सहज स्वास्थ्य सेवा लिइरहेको चाहिँ सत्य हो ।
यसै सन्दर्भमा एमालेबाहेकका राजनीतिक दलले वैशाख २९ गते एउटा विज्ञप्ति प्रकाशन गरेर हेटौँडा अस्पतालको अस्तित्व नामेट पार्ने बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले प्रयत्न गरिरहेको भन्दै विरोध जनाए । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञापन प्रतिष्ठानको नाउँमा बनिरहेका ठूला भौतिक संरचना, ल्याब तथा स्वास्थ्योपचार र स्वास्थ्यसम्बन्धी अध्ययनरअध्यापनलगायत क्रियाकलापले हेटौँडा अस्पतालको अस्तित्व नामेट पार्न लागिएको दलहरूको आशंका छ ।
अर्को संरचना नभएसम्मका लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटौँडा अस्पताललाई प्रयोगशालाको रूपमा प्रयोग गर्ने यसअघिको शर्त पालना नगरी उल्टै हेटौँडा अस्पताललाई नै प्रतिष्ठानमा गाभ्न खोजेको आरोप दलहरूको छ । ‘वर्षौंदेखि यही जिल्ला अस्पतालले संघीय सरकारको मातहतमा रही सेवा दिँदै आयो, अहिले आएर यसैको अस्तित्व नामेट पार्ने काम हुन खोजिँदै छ’, नेकपा एकीकृत समाजवादी मकवानपुरका उपसचिव टंकबहादुर मुक्तानले भने, ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अर्कै अंग हो, हेटौँडा अस्पताल अर्कै अंग हो भन्ने कुरा सबैले हेक्का राख्नुपर्छ ।’
भित्री कुरोचाहिँ के हो भने प्रतिष्ठान खडा गरेर हेटौँडा अस्पताललाई नै खारेज गरी प्रदेश सरकार मातहतको प्रतिष्ठानमा गाभ्ने कुरा यसअघि प्रमाणित भइसकेको अवस्था छ । यो काममा तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको स्वार्थ जोडिएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ बमोजिम हेटौँडा अस्पतालको सम्पूर्ण स्वामित्व स्वतः प्रतिष्ठानमा आइसकेकोे देखिन्छ । यो ऐन बागमती प्रदेश सभाले प्रमाणित गरी कार्यान्वयन प्रक्रिया अघि बढेको हो । ‘हेटौँडा अस्पताललाई रिफर सेन्टर नै बनाइरहने हो भन्ने हाम्रो भन्नु केही छैन’, एमाले मकवानपुरका उपसचिव हिदम लामाले भने, ‘अन्यथा प्रतिष्ठान मातहतमा ल्याएर स्वास्थ्यकर्मी उत्पादन गर्ने र स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने कुरामा ८ राजनीतिक पार्टीले राजनीतिक भाषा बोलिरहनु आवश्यक छैन ।’
खासमा संघीय सरकारको संयन्त्र, सेवा, जिम्मेवारीबोध र इतिहासलाई नामेट बनाउने कार्य भइरहँदा पनि संघीय सरकारको तर्फबाट क्रिया र प्रतिक्रिया भइरहेको पाइँदैन । जिल्ला अस्पतालको स्वामित्व मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गइरहँदा संघीय सरकारको स्वास्थ्य मन्त्रालय खुशी छ वा बेखुशी छ बुझ्न सकिएको छैन ।
टिप्पणीहरू