के सोचिन्छ यहाँ, के हुन्छ यहाँ ?

के सोचिन्छ यहाँ, के हुन्छ यहाँ ?

सायराको अर्थ धेरै हुन्छ अरेबिक भाषामा । तैपनि सामान्यतया, यात्री वा खुशी भन्ने अर्थ लाग्छ । मुस्लिमहरू छोरीको नाउँ सायरा राख्न खुबै मन पराउँछन् । हिन्दी चलचित्र जगत्मा पनि चर्चित अभिनेत्री छिन् –सायरा बानु । बानु पनि अरबी भाषा हो, जसको अर्थ हुन्छ– राजकुमारीजत्तिकै राम्री, रानी अनि महान् स्त्री । सायरा बानु (बानो) भारतीय चलचित्र जगतकै पहिलो महिला सुपरस्टार मानिएकी अभिनेत्री नसिम बानुकी छोरी हुन् । नसिमले सन् १९३५ मा ‘खुनका खुन’ बाट चलचित्रमा पाइला टेकेकी थिइन् भने ३१ वर्षको करियरमा २३ वटा चलचित्र खेलेकी थिइन् । उनको सक्कली नाउँ रोशन आरा बेगम हो, छमिया बाइको नाउँले चिनिने सम्साद बेगम, जो कोठीमा गीत गाउँथिन् अथवा तवायफ थिइन्, उनकी छोरी । तवायफलाई वेश्या नमान्ने थुप्रै छन् । कोही–कोही कोठीमा बाजा बजाएर, गीत गाएर ग्राहकलाई मनोरञ्जन प्रदान गर्ने मात्र पनि हुन्छन् तर, तवायफलाई मुगलकालमा शाही वेश्या नै मानिन्थ्यो, जसले राजा, महाराजा र दरबारियालाई खुशी पार्थे । त्यो जमानाका तवायफहरू कवयित्री हुन्थे साथै सुसंस्कृत र शिक्षित पनि । 

सायराकी बज्यै सम्सादले दिल्लीमा कोठी नै सञ्चालन गरेकी थिइन् । निकै सुन्दर थिइन्, उनका ग्राहक नवाब र अंग्रेजहरू हुन्थे । आमा जुम्मनबाइ पनि तवायफ थिइन् । जुम्मनलाई ७ वर्षकै उमेरमा बाबुले कोठी मालिक्नीलाई बेचेका थिए । जुम्मन १३ वर्षकै उमेरमा तवायफ बनिन् र सम्सादलाई सोही कोठीमा जन्माइन् । सम्सादलाई मन पराउनेमा थिए– नवाब अब्दुल वहिद खाँ । साथै उनलाई एक जना अंग्रेजले पनि मन पराउँथे । नवाब र अंग्रेजबीच सम्सादलाई लिएर तानातान भएपछि जुम्मनले जसले जति बढी रकम तिर्न सक्छ, छोरी उसैको हुन्छ भनिदिइन् । लिलाम बढाबढमा हसनपुरका नवाबले जिते र उनलाई लिएर गए । सायराकी आमा नसिमको जन्म त्यहीँ भयो । पछि उनी चलचित्रको नामी हिरोइन् बनिन् र एहसानुल हकसँग बिहे गरी सायरालाई जन्माइन् । सायरा जन्मेको ठीक ३ वर्षपछि सन् १९४७ मा भारत विभाजन भयो । एहसानुल पाकिस्तानतर्फ लागे तर नसिम क्यारियर छाडेर जान चाहिनन् र मुम्बैमा बसिन् । पछि एहसानुलले पाकिस्तानमा अर्को बिहे गरे । नसिमले अकुत धन कमाइसकेकी थिइन् त्यसैले छोरीलाई पढाउन लण्डन पठाइन् । सायरा आमाजत्तिकै लोकप्रिय अभिनेत्री बन्न चाहन्थिन् । मुम्बै पुगेका बेला हिन्दी चलचित्र हेर्थिन् । उनलाई मन पर्ने अभिनेता दिलिपकुमार थिए । ८ वर्षको उमेरमा दिलिपकुमार अभिनित चलचित्र ‘आन’ टिभीमा हेरेकी थिइन् । उनले चलचित्रका नायक दिलिपकुमारलाई यति धेरै मन पराइन् कि उनैको पत्नी बन्ने सपना देख्न थालिन् । 

सायरालाई चलचित्रको हिरोइन् बन्ने भूत चढेको थियो, त्यसैले उच्चशिक्षाको पढाइलाई बीचैमा छाडी मुम्बै फर्किन् । आमा नसिमको चलचित्र क्षेत्रमा राम्रो पकड थियो त्यसैले सायराले ठूलो संघर्ष गर्नै परेन । पछिल्लो समय अभिनेता शशी कपुरलाई मन पराउँथिन् । पहिलो चलचित्रमा उनैको हिरोइन् बन्न चाहन्थिन् । निर्माता÷निर्देशक एस चोपडाले ‘धर्मपुत्र’ मा लिइ नै सकेका थिए, तर पछि उनको ठाउँमा माला सिन्हालाई लिए । शशी कपुरको हिरोइन् बन्ने उनको सपना चकनाचूर भयो । पछि चलचित्र ‘जंगली’ मिल्यो, जसमा नायक थिए शशी कपुरका दाजु शम्मी कपुर । यो चलचित्र सन् १९६१ मा रिलिज भयो, जतिखेर उनको उमेर थियो – १७ । त्यसो त छोरीले फिल्ममा अभिनय गर्न पाएकोमा नसिम खुशी थिइनन् । उनी सायरालाई वकिलको रूपमा देख्न चाहन्थिन् । तर, चलचित्रमा लाग्न सायराले कत्थक र भरतनाट्यमसमेत सिकिसकेकी थिइन् । सायरा त्यो समयका अभिनेत्रीहरू जस्तो काली र गहुँगोरी थिइनन् । उनको पठनपाठन लण्डनमा भएको मात्र होइन साँच्चिकै उतैकी युवतीजस्ती गोरी थिइन् । ‘जंगली’ हास्य र संगीतप्रधान चलचित्र थियो । फिल्म निकै चल्यो, सबै गीत हिट भयो । पहिलो चलचित्रबाटै सायरा सफल अभिनेत्री बनिन् । 

सन् १९६४ मा ‘आइ मिलनकी बेला’ मा अनुबन्धित भइन् । यो उनको चौथो चलचित्र थियो । नायक थिए– जुबलीकुमारको नाउँले ख्याति कमाइसकेका हिरो राजेन्द्रकुमार । वर्तमान पाकिस्तानको सियालकोटमा जन्मेका राजेन्द्रकुमार तुली पञ्जाबी हिन्दू थिए । भारत विभाजनपश्चात् उनको परिवार सबै व्यापार–व्यवसाय उतै छाडेर मुम्बै पुगेको थियो । अभिनयतिर मन थिएन, चलचित्रको निर्देशक बन्न चाहन्थे । त्यसैले शुरुमा सन् १९७६ मा ‘लैलामजनु’ जस्ता लोकप्रिय फिल्म बनाएका निर्देशक एचएस रावेलको सहायक बने । उनै रावेलले सन् १९४९ मा ‘पतंगा’मा मौका दिए । अभिनय गरेको यो नै उनको पहिलो चलचित्र थियो । अर्को वर्ष ‘जोगन’ मा देखापरे । यो फिल्ममा उनको भूमिका नायक दिलिपकुमारका साथीको थियो । तर, सानो भूमिकामै भए पनि उनको अभिनयलाई निर्माता देवेन्द्र गोयलले मन पराए र ‘बचन’ मा मौका दिए । सन् १९५५ मा रिलिज भएको यो चलचित्रमा खेलेबापत १ हजार ५ सय रूपैयाँ पारिश्रमिक पाएका थिए । तर, नायक भएर खेलेको पहिलो फिल्म नै सफल भयो मात्र होइन फिल्मले सिल्भर जुब्ली नै मनायो । यसपछि उनी अभिनित प्रायः सबै चलचित्रले सिल्भर जुब्ली मनाउन सफल भए । ६० को दशकमा रोमान्टिक हिरोको रूपमा ठूलै नाउँ कमाए । एउटा वर्ष त यस्तो पनि आयो, उनैको ७ वटा चलचित्र हलमा चलिरहेको थियो र सबैले सिल्भर जुब्ली मनाए । यसपछि नाउँ जुब्लीकुमार रहन गयो । 

‘आइ मिलनकी बेला’ उनको ३६ औं चलचित्र थियो । धर्मेन्द्र नकारात्मक भूमिकामा थिए । यो फिल्ममा अभिनय गर्दागर्दै सायरा बानु र राजेन्द्रकुमार नजिक पुगे । एकार्कालाई प्रेम गर्न थाले । दर्शकले पनि जोडीलाई मन पराए । शुरुका दिनमा राजेन्द्रकुमार सायरालाई एउटी अभिनेत्रीको रूपमा मात्र हेर्थे तर सायरा उनीप्रति मरिमेट्न तयार थिइन् । यसपछि पनि ‘अमन’ र ‘झुक गया आसमान’ मा सँगै काम गरे । त्यतिञ्जेलसम्म राजेन्द्रकुमार पनि सायरालाई प्रेम गर्न थालिसकेका थिए । सायराले त जसरी पनि उनैको धर्मपत्नी बन्ने सोच बनाइसकेकी थिइन् । जबकि राजेन्द्रकुमार र उनको उमेरमा १७ वर्षको फरक थियो भने राजेन्द्रकुमार विवाहित र ३ सन्तानका पिता थिए । उनी पनि सायराको मन दुखाउन चाहँदैनथे । एकपटक बिहे गर्न सक्दिन मात्र के भनेका थिए, सायराको नर्भस ब्रेकडाउन नै भयो । यसपछि फेरि उनले त्यसो भन्ने आँट गरेनन् । उता, सायराकी आमा नसिम आफ्नी छोरीलाई हिन्दू धर्मावलम्बी र विवाहित राजेन्द्रकुमारकी पत्नीको रूपमा स्वीकार्न तयार भइनन् । उनले धेरै सम्झाइन् तर प्रेममा पागल बनिसकेकी सायरा आमाको कुरो सुन्न तयार भइनन् । उता, राजेन्द्रकुमार पनि प्रेममा यति धेरै पागल बनिसकेका थिए कि पत्नी शुक्ला बहल, एक छोरा (बहुचर्चित चलचित्र ‘लभ स्टोरी’का नायक कुमार गौरव) र दुई छोरीलाई छाडेर भए पनि सायरासित बिहे गर्न चाहन्थे । छोरीको जिद्दीपना देखेर नसिम दुःखी बनिन् । उनी जसरी पनि राजेन्द्रकुमारसँग सम्बन्धको अन्त्य चाहन्थिन् । यो अवस्थामा उनले आफ्नै समकालीन नायक दिलिपकुमारको सहयोग खोजिन् । किनभने उनलाई थाहा थियो, सायरा सानोमा दिलिपको पत्नी बन्ने सपना देख्थिन् । 

सन् १९६६ को २३ अगस्त । सायराको २२ औं जन्म दिन । उनले समारोहमा विशेष पाहुनाको रूपमा राजेन्द्रकुमारलाई निम्त्याइन् भने नसिमले दिलिपलाई जसरी पनि आउन आग्रह गरिन् । सायरा र राजेन्द्रकुमारको सम्बन्धको अन्त्य गराइदिन नसिमले गरेको आग्रहबमोजिम दिलिपले अघिल्लो दिन राजेन्द्रकुमारलाई फोनमा पत्नीसहित कार्यक्रममा आउन आग्रह गरे । सायरा त्यो दिन निकै खुशी थिइन् र उत्सुक पनि । कार्यक्रममा पाहुना आउन शुरु भयो । सायराले ढोकैमा उभिएर सबैको स्वागत गरिरहिन् । तर, भित्री मनले राजेन्द्रकुमारको प्रतीक्षामा थिइन् । उनले टाढैबाट राजेन्द्रकुमार आइरहेको देखिन् । निकै खुशी भइन् तर नजिक पुगेसँगै उनकी पत्नी शुक्लालाई पनि देखिन् । प्रेमी पत्नीसहित आएको देखेर मुड एकैछिनमा अफ भयो । राजेन्द्रकुमारलाई स्वागत नै नगरी भित्र दगुरिन् । कार्यक्रम अवधिभर  राजेन्द्रकुमारसित बोल्नु त के, नजिक पनि गइनन् । दिलिपकुमार र नसिम यही चाहन्थे । उत्सवमा सायरा मुड अफ गरी बसेको देखेपछि दिलिपले मौकाको फाइदा उठाउँदै सायरालाई सम्झाए– तिमी सुन्दर छौ, समझदार छौ, उमेर छ, तिमीसँग जो पनि बिहे गर्न तयार हुन्छन् । विवाहित पुरुषको पछि किन लाग्छौ ? भोलि सबैले तिमीलाई नै धिक्कार्नेछन् ।’सुनिन्छ, रिसाएर मुड अफ गरी बसेकी सायराले अनायास दिलिपलाई भनिन् ‘ल ठीक छ, तपाईंले मसित बिहे गर्ने भए म उनलाई छोड्छु ।’

सायराको यो कुरो सुनेर दिलिप एकछिन बोल्नै सकेनन् । उमेरमा आफूभन्दा निकै सानी सायरालाई उनले त्यो नजरबाट कहिल्यै हेरेका थिएनन् । सायरालाई चुप लगाउने मनशायले उनले त्यो दिन ‘विचार गरौँला नि’ भन्ने जवाफ फर्काए । सायराले त्यसदिनपछि राजेन्द्रकुमारलाई मनबाट चटक्कै निकालिदिइन् । किनभने उनी दिलिपलाई नै चाहन्थिन् र दिलिपले उनीप्रति कुनै उत्सुकता नदेखाएकैले राजेन्द्रकुमारको नजिक पुगेकी थिइन् । फेरि त्यो बेला राजेन्द्रकुमार रोमान्टिक हिरोको रूपमा शीर्षस्थानमा थिए । महिला दर्शक उनीप्रति मरिमेट्थे । राजेन्द्रकुमार राम्रो कलाकार मात्र थिएनन्, एक असल व्यक्ति पनि थिए । उनले पनि आफ्नो परिवारलाई बिगार्न चाहेनन् र मौकाको सदुपयोग गर्दै सायराको मार्गबाट हटे । त्यसदिनको घटनापछि सायरा दिलिपकुमारको पछि लागिन् । नसिम यो पनि चाहँदैनथिन् किनभने दिलिपको उमेर सायराको भन्दा दोब्बर थियो । दिलिप पनि सायराबाट बचेर हिँड्थे तर दुई महिनामै स्थितिमा यति धेरै परिवर्तन आयो कि सन् १९६६ को अक्टोबर ११ मा दुवै जना विवाह बन्धनमा बाँधिए । त्यसबेला सायराको उमेर २२ र दिलिपको ४४ थियो । दिलिपकुमार र सायरा बानुको प्रेम र दाम्पत्य जीवनबारे जनआस्थामा ‘यी अभिनेता–अभिनेत्रीको अमर प्रेम’ शीर्षकमा लेख प्रकाशित भइसकेको छ । राजेन्द्रकुमारको ७१ वर्षको उमेरमा सन् १९९९ मा र दिलिपकुमारको ९८ वर्षको उमेरमा सन् २०२१ मा निधन भइसकेको छ । ७९ वर्षकी सायरा बान्द्रास्थित दिलिपकुमारकै निवासमा बस्छिन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू