काठमाडौं महानगरको अलपत्र अर्को योजना

काठमाडौं महानगरको अलपत्र अर्को योजना

राजधानीका आकाशे पुललाई अपांगमैत्री बनाउने काठमाडौं महानगरपालिकाको योजना अलपत्र बनेको छ । आकाशे पुलमा लिफ्ट जडान गर्ने भनिएको झण्डै एक वर्ष बितिसक्न लाग्दा समेत महानगरको योजना अझै अघि बढ्न सकेको छैन । 

महानगरले चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत काठमाडौंका तीन ठाउँ (नयाँ बानेश्वर, चाबहिल र पुरानो बसपार्क) मा रहेका आकाशे पुलमा लिफ्ट जडान गर्ने घोषणा गरेको थियो । त्यसका लागि पाँच करोड रुपैयाँ बजेट पनि विनियोजना गरियो । पहिलो चरणमा नयाँ बानेश्वर त्यसपछि चाबहिल र पुरानो बसपार्कका आकाशे पुलमा लिफ्ट हाल्ने योजना थियो । 

सोहीअनुरुप नयाँ बानेश्वरमा रहेको पुलमा लिफ्ट जडान गर्न विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) सम्पन्न गरेको जनाउँदै महानगरले सडक विभागसँग अनुमति समेत माग्यो । तर, आकाशे पुलमा लिफ्ट जडानका लागि विभागले स्वीकृति नदिँदा काम अघि बढ्न नसकेको महानगरको आरोप छ ।  

पटक–पटक अनुरोध गर्दा पनि स्वीकृति पाइएन : महानगर

महानगरपालिकाका सहायक प्रवक्ता दीपक अधिकारी सडक विभागले स्वीकृति नदिँदा काम अघि बढ्न नसकेको बताउँछन् । उनले भने, ‘(डीपीआर) सम्पन्न भएपछि हामीले विभागसँग स्वीकृति मागेका थियौं तर दिइएन ।’

उनका अनुसार नयाँ बानेश्वरको आकाशे पुलमा लिफ्ट जडान कार्य गत भदौदेखि नै सुरु गर्ने महानगरको योजना थियो । तर, स्वीकृति नदिएपछि काममा अवरोध पुगेको उनको ठहर छ । ‘विभागसँग हामीले पटक–पटक लिफ्ट जडान गर्न स्वीकृति माग्यौं । तर, विभाग आफ्नो संरचना भत्काउन नदिने अडानमा रह्यो,’ सहायक प्रवक्ता अधिकारीले भने । 

विशेष गरी ज्येष्ठ नागरिक, ह्विलचियर प्रयोगकर्ता, वृद्धवृद्धा, बालबालिकाको सहजताका लागि आकाशे पुलमा लिफ्ट जडान गर्ने योजना बनाएपनि कामको सुरुवातमै अवरोध झेल्नुपरेको सहायक प्रवक्ता अधिकारी बताउँछन् । 

‘हालकै अवस्थामा वृद्धवृद्धा, अपांगहरुलाई आकाशे पुल प्रयोग गर्न असहज हुन्छ । त्यसैले, यी सबै कुरालाई ध्यानमा राखेर महानगरले लिफ्ट जडान गर्ने योजना बनाएको हो । यसले स्वदेशीसँगै विदेशी नागरिकलाई समेत धेरै सहज र लाभ हुन्छ । तर, अहिलेसम्म हामीले विभागबाट स्वीकृति पाएका छैनौं ,’ उनले भने ।

उनका अनुसार वृद्धवृद्धा, अपांग, गर्भवती, भरियालगायतलाई लक्षित गरी दैनिक पाँच सयभन्दा बढीले प्रयोग गर्न सक्ने गरी आकाशे पुलको दुबैतर्फ लिफ्ट हाल्ने महानगरको योजना छ । नयाँ बानेश्वरको पुलमा लिफ्ट हालेपछि मात्रै अन्य ठाउँमा जडान गर्ने वा नगर्नेभन्नेबारे निर्णय गरिने बताइएको छ । यद्यपि, लिफ्ट जडान गर्न स्वीकृति नपाएकाले अहिले योजना नै अन्योलमा परेको उनी सुनाउँछन् । 
‘बानेश्वरको पुलमा लिफ्ट जडान गरेपश्चात् त्यसबाट आउने प्रतिक्रियापछि अन्य आकाशे पुलमा पनि लिफ्ट जडान गर्ने कि नगर्ने ? भन्ने हाम्रो सोच हो,’ प्रवक्ता अधिकारीले भने, ‘तर, विभागले स्वीकृति नै दिएको छैन । अहिले हामी के गर्ने ? भन्नेमा अन्योलमा छौं ।’

भर्याङ भत्काउनुपर्ने भएपछि स्वीकृति नदिइएको होः  सडक विभाग 

यता, सडक विभागले भने महानगरको प्रस्तावमा आफु सकारात्मक रहेको बताएको छ । विभागका सूचना अधिकारी अमितकुमार शर्माले आकाशे पुलमा लिफ्ट जडान गर्दा भर्याङ (सिँढी) भत्काउनुपर्ने अवस्था आएपछि विभागले स्वीकृति नदिएको जानकारी दिए ।

उनले भने, ‘सहरमा नयाँ नयाँ भौतिक पूर्वाधार बनोस् भन्ने हाम्रो पनि चाहना हो । नयाँ बानेश्वरको आकाशे पुलमा लिफ्ट हाल्दा हामीलाई कुनै आपत्ति छैन । तर, त्यहाँ लिफ्ट जडान गर्न पुलको भर्याङ भत्काउनुपर्ने भयो । अनि मात्र महानगरले भनेजसो फिट हुने भो । भर्याङ भत्काउनुपर्ने भएपछि हामीले  हामीले स्वीकृति नदिएका हौं ।’

‘किन भर्याङ भत्काउनु र दोहोरो खर्च गर्नु भन्ने हाम्रो भनाइ हो । हामीले महानगरलाई त्यहाँ लिफ्ट नहालौं, बरु नयाँ बन्ने पुलमा लिफ्ट जडान गरौं पनि भनेका छौं,’ सूचना अधिकारी शर्माले भने । 

पहिलाको घोषणा पनि अलपत्र 

महानगरले आकाशे पुलमा लिफ्ट जडानको तयारी गरिरहँदा राजधानीका विभिन्न स्थानमा पुल निर्माण गर्ने योजना अलपत्र भएको हो । ट्राफिक व्यवस्थापन र यात्रुको सहजताका लागि यसअघि पनि महानगरले आफ्नै लगानीमा काठमाडौंका विभिन्न स्थानमा आकाशे पुल बनाउने तयारी गरेको थियो । 

त्यसका लागि आर्थिक वर्ष २०७५/०७६ को बजेटमा १२ करोड रुपैयाँ छुट्याइइएको थियो । टेकू, त्रिपुरेश्वर, पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर, गौशाला चोक, बबरमहल, चावहिललगायत विभिन्न आठ ठाउँमा तीन वर्षभित्र आकाशे पुल निर्माण गरिने भनिएको थियो । 

तर, हालसम्म पनि ती ठाउँमा पुल बनिसकेको छैन । महानगरले आकाशे पुल बनाउन छुट्याएको बजेट खर्च हुन नसकेको हो । राजधानीमा सञ्चालनमा रहेका अधिंकाश आकाशे पुल जीर्ण अवस्थामा छन् । 

आकाशे पुलका संरचना भत्किएका छन् । हिँड्दा पैदल यात्रु अल्झिएर लड्ने अवस्था छ । यता, निर्माण सुरु गरिएका कतिपय पुल पनि अलपत्र अवस्थामा छन् ।

सडक विभाग र महानगरबीचको टकराव 

पछिल्लो समय काठमाडौं महानगर र सडक विभागबीच टकराव देखिएको छ । दुई साताअघि महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले विभागलाई एक ट्रक धुलो उपहार पठाएका थिए । उनले चक्रपथको कलंकी–बालाजु–महाराजगञ्ज सडक खण्ड विस्तारमा ढिलाई भएको भन्दै विभागको कार्यालयअगाडि धुलो खसालिदिए । 

महानगरको उक्त हर्कतपछि लगत्तै विज्ञप्ति निकालेर प्रतिकार गर्ने बताएको विभागले गत सोमबार न्यूरोडस्थित फुटपाथ बनाउन महानगरले ठिक्क पारेको सडक कालोपत्रे गरेरै छाड्यो । सडक पिच रोक्न त्यहाँ महानगर प्रहरीको टोली पुग्दा तनाव सिर्जना भएको थियो । महानगरसँगको आमनेसामनेमा  विभाग पछि हटेन । महानगरले भत्काएको भाग पिच गरेपछि उसको विभागसँगको विवाद स्पष्टरुपमा सतहमा आएको हो ।

टिप्पणीहरू